जानु पाण्डे
कपिलवस्तु, जेठ १३ गते । कपिलवस्तुको विजयनगर गाउँपालिका –५ देवीपुर सडकको पीसीसी भासिएको छ । प्रदेश समानीकरण अनुदानमार्फत निर्माण भएको कृषि सडकको पुल नजिकको भाग भासिएको हो ।
सडक निर्माण भएको एक महिना नहुँदै ढलान भत्किएपछि स्थानीयले कमसल निर्माण भएको आरोप लगाएका छन् । करिब २ मिटरमा क्षति पुगेको छ । वर्षा समयमा माटो बगायो भने अझ धेरै क्षति हुन सक्ने स्थानीय कृष्ण पौडेलले बताउनुभयो । गाउँपालिकाका इन्जिनियर नवीन डुम्रेले नयाँ माटो पटान भएकाले सडक भासिएको बताउनुभयो ।
कल्भर्ट पीसीसीलगायत निर्माणको भुक्तानी नभएको र पुनः निर्माण भएपछि मात्र रकम भुक्तानी हुने बताइएको छ । देवीपुर कृषि बाटोमा कल्भर्ट उपभोक्ता निर्माण समितिका अध्यक्ष चित्रबहादुर बलालले भत्किएको ढलानको काम सुरु गरिएको बताउनुभयो । सडक ढलान गरिएको एक साताभित्र ट्याक्टर चलाउँदा ढलान भत्किएको बलालले दाबी गर्नुभयो ।