• २० वैशाख २०८१, बिहिबार

सिथि नखः पानीको स्रोत सरसफाइमा जुटे नेवार समुदाय

blog

काठमाडौँ, जेठ १२ गते । नेवार समुदायले पानीका परम्परागत स्रोतको सरसफाइ गरी बिहीबार सिथि नखः पर्व मनाएका छन् । गर्मी मौसम सकेर वर्षायाम सुरु भएका बेला ज्येष्ठ शुक्ल पक्ष षष्ठी तिथिका दिन यो पर्व मनाइँदै आएको छ । संस्कृतविद् डा चुन्डा वज्राचार्यका अनुसार यस दिन नेवार समुदायले आफ्नो टोल वरपर रहेका पानीको परम्परागत स्रोत इनार, कुवा, पोखरी र ढुङ्गेधाराको  सरसफाइ गर्छन् ।  वर्षात्को भेल र फोहोर पानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी सरसफाइ गरी निकास खोल्ने काम यस दिन गरिन्छ । यो दिन सरफाइ गरिएका इनार, कुवा, ढुङ्गेधाराको पानी चार दिनपछि पूजा गरेर मात्र प्रयोग गर्ने परम्परा छ । 

उहाँका अनुसार यस दिन सबेरै नुहाइधुवाइ गरी विभिन्न परिकार पकाएर कार्तिके देवतालाई चढाएर खानु पर्छ । घरको मूलढोका बाहिरको (पिखालखु) अर्थात् क्षत्रपाल कुमारलाई सिथि द्योः अर्थात् सिथि देवताका रूपमा पूजा गर्नुपर्छ । यस दिन भगवान् कुमारको जन्मसमेत भएकाले उहाँको पूजा गरी मास, मुगी, केराउलगायतबाट बनेका बारा र नयाँ गहुँको म्हुछ्यामढी (मुट्ठी पारी बनाइएको विशेष खालको रोटी) पनि खाने गरिन्छ । नेवार समुदायमा ऋतु अनुसारको पकवान खाने गरिन्छ । त्यसैले नेवार समुदायका चाडपर्व खानेकुराको नामले समेत प्रसिद्ध भएको डा वज्राचार्यको भनाइ छ । भाषा तथा संस्कृतविद् गणेशराम लाछीले सिथि नखः पर्वले नेवार समुदायमा विशेष महìव राख्ने जानकारी दिँदै भन्नुभयो, “यस चाडसँगै वर्षा सुरु हुने र किसानको वर्षको महìवपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) सुरु हुने भएकाले यस चाडलाई वर्षाअघिको अन्तिम चाडका रूपमा लिने गर्छन् ।”

नेवार समुदायमा सिथि नखःको दुई कारणले विशेष महत्व राख्ने गरेको लाछी बताउनुहुन्छ । पहिलो सिथि नखः महादेव पार्वतीका ज्येष्ठ सुपुत्र कुमारको जन्म दिन भएकाले पनि धार्मिक महìव छ । गणेश देवताका गणनायक हुन् भने कुमार देवगणका सेनापति हुन् । देवी देवतामध्ये सबैभन्दा पहिला कुमारको पूजा आराधना गर्नाले वर्षात्का बेला धान रोपाइँजस्तो कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने विश्वास रहेको लाछी बताउनुहुन्छ ।  

वर्षात्को झरीमा रुझेर, हिलो माटोसँग पौँठेजोरी खेल्दै गरिने धान रोपाइँलाई अन्य खेतीपातीमा भन्दा बढी नै शक्ति र तागत आवश्यक पर्छ । यही तथ्य बुझेर नेवार समुदायले सिथि नखःको दिन शरीरमा तागत दिने मास र मुगीका बारा, चामलको चटामरी, पापड, गहुँको मालपुवालगायतका पकवान खाने चलन रहेको लाछीले बताउनुभयो । यो पर्व लिच्छविकालदेखि सुरु भएको जनविश्वास रहेको छ । यस दिन काठमाडौँको जैसीदेवलमा सिथिद्यः (कुमार देवता) प्रदर्शन गर्ने तथा भक्तजनले समेत चिउरा चढाएर पूजा गर्ने चलन रहेको छ । त्यसको भोलिपल्ट सिथिद्यः लाई रथमा राखेर काठमाडौँ सहर परिव्रmमा गरी जात्रा मनाइन्छ । बौद्धमार्गीले यस दिनलाई बुद्धले निर्वाण प्राप्त गरेको दिनका रूपमा पनि लिन्छन् । 

धिमे बाजा थन्क्याइँदै

सिथि नखःको दिनदेखि ज्यापू समुदायले धिमे बाजा थन्क्याउने गर्छन् र रोपाइँतिर लाग्छन् जसलाई सिनाज्या भनिन्छ । यसको भोलिदेखि गथेमङ्गल घण्टाकर्ण नआएसम्म एक महिनाभर धिमे बाजा र भुस्या बजाउन नहुने मान्यता छ ।  यसै गरी काठमाडौँको क्वनेस्थित न्हूघः टोलमा रहेको काठको कुमार मूर्तिलाई सप्तमीका दिन खटजात्रा गर्ने चलन छ । यो जात्रा स्थानीय कर्माचार्य र ज्यापूहरू मिलेर मनाउँछन्  ।