• ९ कात्तिक २०८२, आइतबार

मल अभावले मर्कामा किसान

blog

बबई समाचारदाता

बबई (बर्दिया), कात्तिक ९ गते । यस वर्ष तिहार चाँडै परेपछि बर्दियाका कृषकका लागि चाडपर्वभन्दा खेतबारीको काम प्राथमिक बन्यो । दसैँ सकिएलगत्तै धान काट्न व्यस्त रहेका किसान तोरी र गहुँ छर्ने तयारीमै लागे तर रासायनिक मलको अभावले उनीहरूको तिहार खेतमै बित्यो ।

गुलरिया नगरपालिका–७, चौगुर्जीका कृषक प्रवेश यादव भन्नुहुन्छ, “तिहारको रमाइलो गर्ने समय पनि भएन । समय मल खोज्नमै गयो ।” जिल्लाका आठ वटै स्थानीय तहमा कृषकहरू सहकारीबाट मलको प्रतीक्षामा छन् । गेरुवा गाउँपालिकास्थित शान्ति बजारको शिशिर सानाकिसान सहकारी संस्थाले तिहारको पूर्वसन्ध्यामा डिएपी मल वितरण गर्ने सूचना जारी गरेपछि किसान रातभर लाइनमा उभिएका थिए ।

गेरुवा गाउँपालिका–३ का सालिकराम चौधरी भन्नुहुन्छ, “तिहारको समयमा पनि मलका लागि लाइनमा बस्नु प¥यो ।” वडा नं. २ का शमशेर चौधरीले पनि धान काटेपछि गहुँ र तोरी छर्ने समय भए पनि मलको अभावमा खेती हुन नसकेको गुनासो गर्नुभयो । शिशिर साना किसान सहकारीका कार्यालय सहायक नरेश चौधरीका अनुसार सहकारीलाई वार्षिक ४२ सय बोरा युरिया र त्यति नै डिएपी आवश्यक पर्छ । कृषि सामग्री संस्थानले मागको ४० प्रतिशत मात्र उपलब्ध गराउने उहाँले बताउनुभयो । 

यस पटक दसैँमा परेको अविरल वर्षाका कारण पहिले नै चिन्तित किसान मल अभावले झन् समस्यामा परेका छन् ।