• ७ पुस २०८१, आइतबार

राष्ट्र बनाउन यथार्थ तथ्याङ्कको महत्त्व छ : मन्त्री यादव

blog

कार्यक्रममा सहभागी अतिथिहरु । तस्बिर : धर्वेन्द्र झा

धर्बेन्द्र झा

धनुषा, जेठ १० गते । मधेश प्रदेशका अर्थमन्त्री सञ्जय यादवले राष्ट्रको भविष्य निर्माण गर्नमा यथार्थ तथ्याङ्कको विशेष महत्त्व रहेको बताउनुभएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली काठमाडौं र तथ्याङ्क कार्यालय धनुषाको संयुक्त आयोजनामा बुधबार जनकपुरधाममा भएको राष्ट्रिय जनगणना २०७८ प्रदेशस्तरीय नतिजा सार्वजनिक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । 

मधेश प्रदेशको सार्वजनिक गरिएको तथ्याङ्कले अगामी दिनमा प्रदेश सरकारलाई नीति कार्यक्रम र बजेट तयार गर्न मद्दत पुग्ने बताउनुभयो । उहाँले सार्वजनिक गरिएको तथ्याङ्कमा देखिएका विभिन्न त्रुटिलाई जनगुनासोको आधारमा अगामी दिनमा सुधार गरी कार्यालयले अघि बढ्नु पर्ने धारणा सुझाव दिनुभयो । 

उहाँले २०७८ मा लिएको डाटा दुई वर्षपछि २०८० मा सार्वजनिक गरिएको भन्दै तथ्याङ्क कार्यालयले आफ्नो कार्यशैलीमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले अबको जनगणना हुँदा एक सय दिन भित्रमा तथ्याङ्क सार्वजनिक गर्न कार्यालयलाई सुझाव दिनुभयो । 

धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अगामी दिनमा तथ्याङ्कलाई त्रुटिरहित बनाउनु पर्ने धारणा राख्नुभयो । उहाँले जाती, भाषा र धर्मसहित बाँकी रहेका विषयको तथ्याङ्क पनि छिट्टै सार्वजनिक गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा सहभागीहरूले धेरैजसो ठाउँमा गणक नपुगेको, जाती, भाषा र धर्मको विषयलाई तथ्याङ्कमा समावेश नगरिएको, खुल्ला दिसामुक्त प्रदेश घोषणा भए पनि मधेश प्रदेशमा ८८ प्रतिशत मान्छेको मात्रै शौचालय प्रयोगमा पहुँच भएको जानकारी गराइएको थियो ।

सार्वजनिक गरिएको तथ्याङ्कअनुसार मधेश प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार छ सय रहेको छ । जसमध्ये पुरुषको सङ्ख्या ३० लाख ६५ हजार ७५१ छ भने महिलाको सङ्ख्या ३० लाख ४८ हजार ८४९ रहेको छ । कुल जनसङ्ख्यामध्ये अन्य लिङ्गीको जनसङ्ख्या दुई हजार ९२९ रहेको छ । 

मधेश प्रदेशको जनगणना अवधिको वार्षिक औसत जनसङ्ख्या वृद्धिदर १.१९ प्रतिशत रहेको छ । मधेश प्रदेशको कुल जनसङ्ख्याको ५७.७ प्रतिशत १५ देखि ५९ वर्ष उमेरका रहेका छन् । 

हाल १४ वर्ष वा सोभन्दा कम उमेरका र ६० वर्ष वा सोभन्दा माथिल्लो उमेरका जनसङ्ख्या क्रमशः ३३.२ प्रतिशत र ९.१ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ । मधेश प्रदेशका पाँच वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसङ्ख्यामा साक्षरता दर ६३.५ प्रतिशत रहेको छ । मातृ मृत्युदर अरू प्रदेशको तुलनामा कम रहेको राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथलीका निर्देशक मनोहर घिमिरेले जानकारी दिनुभयो ।