गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ११ गते । सरकारले होटेल तथा रिसोर्टको स्तर वर्गीकरणसम्बन्धी नयाँ मापदण्ड ल्याउने भएको छ । हाल जारी रहेको होटेल, रिसोर्ट, पर्यटक लज, मोटेल तथा बेड एन्ड ब्रेकफास्ट (बिएन्डबी) को वर्गीकरण र स्वीकृतिसम्बन्धी मापदण्डलाई २०७६ लाई परिमार्जन र संशोधन गर्दै आतिथ्य उद्योगमा छ वर्षपछि नयाँ व्यवस्था लागु गर्ने प्रक्रिया अघि बढेको छ ।
पर्यटन विभागले नयाँ मापदण्ड तर्जुमाका लागि राय, सुझाव सङ्कलन गरिरहेको जानकारी दिँदै अन्तर्राष्ट्रिय क्षेत्रमा आतिथ्य उद्योगमा प्रयोग भइरहेको नयाँ प्रविधि, सेवा सुविधा र विश्व पर्यटन उद्योगले अपनाइरहेका कार्बन उत्सर्जन घटाउने उपायलाई मापदण्डमै व्यवस्थामै गरेर स्तर वर्गीकरणको मापदण्ड परिमार्जन गर्न लागिएको जनाएको छ ।
विभागका निर्देशक हिमाल गौतमले भन्नुभयो, “विश्व पर्यटन बजारमा बढ्दो वातावरणीय सचेतना र पर्यटन क्षेत्रको दिगो विकासको अवधारणा अनुरूप आतिथ्य उद्योगमा ‘इको हस्पिटालिटी’ सम्बन्धी मापदण्ड तोकेर समयसापेक्ष रूपमा मौजुदा मापदण्डमा सुधार ल्याउन लागिएको हो ।”
विभागले हाल जारी रहेको मापदण्डमा होटेलले दिने सेवासुविधा, सेवाको गुणस्तर, वातावरण, मूल्यलगायतबारे १६३ वटा सूचक रहेका छन् । भौतिक सेवा सुविधातर्फ १९, रिसेप्सनतर्फ १८, अग्नि नियन्त्रणका उपायतर्फ सात, हाउस किपिङतर्फ ४९, खाना र पेर्य पदार्थ सर्भिसतर्फ २५, भान्सातर्फ २०, खाद्य भण्डारणतर्फ छ र मानव संसाधनतर्फ १९ वटा मापदण्ड रहेको विभागले जनाएको छ ।
हाल देशभर एकतारेस्तरका ४४, दुईतारे ४९, तीनतारे ३७, चारतारे ४० र पाँचतारेस्तरका २८ वटा होटेल सञ्चालनमा छन् । त्यस्तै पाँचतारे डिलक्सस्तरका तीन, पाँचतारेस्तरका लक्जरी बुटिक–हेरिटेज होटेल तीन, चारतारेस्तरका डिलक्स–हेरिटेज पाँच, तीनतारेस्तरका हेरिटेज एक, साधारण रिसोर्ट १२७, डिलक्स रिसोर्ट नौ र तीन वटा लक्जरी रिसोर्ट विभागबाट स्वीकृति लिएर सञ्चालनमा रहेका छन् ।