• ११ चैत २०८२, बुधबार

लिफ्टिङ खानेपानी आयोजनाको तार चोरी हुँदा १६० घरधुरीमा पानी सङ्कट

blog

तामाको तार निकालिएको स्थान । तस्बिरः अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, चैत ११ गते ।
तनहुँको म्याग्दे गाउँपालिका–७ मा लिफ्टिङ खानेपानी आयोजनाको तामाको तार बारम्बार चोरी हुन थालेपछि स्थानीयवासी कुवाको पानी र टाढाका मुहानमा निर्भर हुन बाध्य भएका छन् ।

सात महिनाको अवधिमा चौथो पटक तार चोरी भएपछि अर्चले–माझिलाङ भावर लिफ्टिङ खानेपानी आयोजनाबाट पानी उपभोग गर्दै आएका १६० घरधुरीमा पानी आपूर्ति पूर्ण रूपमा ठप्प भएको छ ।

नयाँ विरौटास्थित मिलीजुली सामुदायिक वनभित्र रहेको लिफ्टिङ प्रणालीका लागि जडान गरिएको तामाको तार सोमबार राति पुनः चोरी भएपछि समस्या झन् गम्भीर बनेको हो ।

घटनाप्रति आक्रोश व्यक्त गर्दै म्याग्दे गाउँपालिका–७ का वडाध्यक्ष वसन्तकुमार श्रेष्ठले यसलाई अमानवीय कार्यको पराकाष्ठा भएको बताउनुभएको छ । उहाँका अनुसार बारम्बारको चोरीले आयोजना सञ्चालनमै ठुलो चुनौती थपिएको छ ।

उहाँले भन्नुभयो, “चोरीको जोखिम घटाउन लामो दूरीको तार छोट्याएर करिब १०–१० मिटरमा झारेका थियौँ, तर पनि चोरी रोक्न सकिएन, यो निकै दुःखद कुरा हो ।”

जंगलको बीचमा आयोजना रहेको र मोबाइल नेटवर्कसमेत सहज नभएकाले सुरक्षाका लागि सिसी क्यामेरा जडान गर्न नसकिएको उनहाँले जानकारी दिनुभयो । चोरी भएको तार पुनः जडान गर्न कम्तीमा एक साता लाग्ने उहाँको भनाइ छ ।

करिब तीन करोड ५० लाख रुपियाँको लागतमा निर्माण गरिएको यस आयोजनामा यसअघि भएका चोरीका घटनापछि मर्मतसम्भारमै करिब दुई लाख रुपियाँ खर्च भइसकेको छ ।

वडाध्यक्ष श्रेष्ठका अनुसार चोरीमा संलग्नको पहिचान गरी कारबाहीका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको छ । धारामा पानी नआएपछि स्थानीयवासी बिहानै उठेर कुवामा पानी लिन जान बाध्य भएका छन् । यसले विशेष गरी वृद्धवृद्धा र बालबालिकालाई बढी समस्या परेको स्थानीय ममता थापाले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “विकासका पूर्वाधारको महत्त्व नबुझ्ने व्यक्तिहरूका कारण यस्तो समस्या भोग्नुपरेको छ ।”