• १२ वैशाख २०८१, बुधबार

नेवार समुदायमा सिथि नख : को महत्त्व

blog

सिथि नख : काे अवसरमा ढुङ्गेधारा सफा गरिंदै । तस्विर : केशब गुरुङ ।

काठमाडौं, जेठ ११ गते । नेवार समुदायमा ज्येष्ठ शुक्ल पक्ष षष्ठीका दिन मनाइने ठुलो चाड हो सिथि नख : । नेवार समुदायमा आजको दिन विशेष रूपमा ढुङ्गेधारा, इनार, कुवा, पोखरी सफा गर्ने गर्छन् । 

आफ्ना टोलका मानिसहरू मिलेर नजिकै रहेका इनार, ढुङ्गेधारा, कुवा, पोखरीमा सरसफाइ गरेर आआफ्नो घरमा मिष्टान्न परिकार पकाएर खाने परम्परा पनि रहिआएको छ।

नेवार समुदायले मनाउने हरेक जात्रा र पर्वको आफ्नै किंवदन्ती र धार्मिक महत्त्व रहेको पाइन्छ । वर्षायाम अर्थात् धान रोप्ने काम सुरु हुनुपूर्व मनाइने सिथि नख: को पनि धार्मिक महत्त्व र जनविश्वास छ । बर्खाको भेलले पानीको मुहान नथुनियोस् भनेर वर्खाअघि नै इनार, पोखरी, ढुङ्गेधारा लगायतका पानीको स्रोत सफा गर्ने चलन छ । तर पछिल्लो समय उपत्यकाका अधिकांश इनार, ढुङ्गेधारा तथा कुवाहरू कतिपय सुकेका छन् भने कतिपय मासिएका छन् । तर पनि आजको दिन विशेषगरि आफ्ना घरवरपर तथा ठुला इनार लगायत पानीका स्रोतहरू सरसफाइ गर्ने परम्परा धेरै पुरानो हो । 


नेवार समुदायले आजको दिन मनाउने सिथि नख:को विशेषता नै पानीका मुहान र स्रोत सरसफाइ गर्नु रहेको संस्कृतिविद्हरू बताउनुहुन्छ । संस्कृतिविद् हरिराम जोशीका अनुसार यसबेला पानीको सतह पुरै घट्ने भएकाले इनार, पोखरी र ढुङ्गेधारा सफा गर्न सजिलो हुन्छ । सिथि नखःका दिन मुहान सफा गर्नाले वर्षैभरि पानीको अभाव नहुने धार्मिक आस्था र मान्यता रहेको छ । 


यसरी आजको दिन सफा गरिएको पानीको मुहान अर्थात् इनार, कुवा, पोखरी लगायत ढुङ्गेधाराको पानी चार दिन नभएसम्म प्रयोग गर्न नहुने चलन छ । सफा गरिएका पानीको मुहानमा सफा पानी निस्किन कम्तीमा चार दिन लाग्ने र पानीको सतह बढ्नका लागि पनि समय दिनुपर्ने हुँदा चार दिनसम्म पानीको प्रयोग गर्दैनन् । 

यसबाहेक आजकै दिन भगवान् कुमारको जन्मदिन भएकाले नेवार समुदायले कुमारको पूजा गरी चटामरी, पापड, मालपुवा, मास, मुगी, केराउ लगायतको दालको बारा बनाएर मन्दिरमा चढाएर भोज खाने प्रचलन छ । आजको दिन भगवान् कुमारको पूजा गरेमा खेतीकार्य गर्ने समयमा शरीरमा शक्ति र स्फूर्ति मिल्ने विश्वाससमेत रहेको छ । 

जोशीका अनुसार नेवार समुदायमा मौसम अनुसार भोज र पर्व मनाउने परम्परा छ । उहाँ भन्नुहुन्छ, सिथि नखःमा खाने बारा, चटामरीलगायतका परिकारले शरीरलाई बलियो र शक्ति दिने गर्दछ । 


परापूर्वकालदेखि चली आएको नेवार समुदायको परम्परा खाजपनि हर्षोउल्लासकासाथ मनाउने गरेकोमा संस्कृतिविद् जोशी खुसी व्यक्ति गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, "आजको युगसम्म आउँदा संस्कृति, पर्व तथा परम्परामा केही हदसम्म परिवर्तन आएका छन् तर परम्परा अर्थात् जात्रापर्व मनाउने शैली भने पुस्ता हस्तान्तरण हुँदै गएको छ ।" 

यसरी नेवार समुदायले मनाउने साउने सङ्क्रान्तिका दिनमा क्वाँटी खानु, माघे सङ्क्रान्तिमा घिउ चाकु खाने चलनले शरीरमा शक्ति बढाउनुका साथै रागेव्याधीसँग लड्ने क्षमतावृद्धिकै लागि रहेको जोशीको भनाइ छ ।