अमरराज नहर्की
तनहुँ, जेठ १० गते । तनहुँ, लमजुङ र गोरखाका कृषकले यस पटक पनि रासायनिक मलको चरम अभाव झेल्नु पर्ने भएको छ । तीन जिल्लाका लागि मल आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड दमौलीले पर्याप्त मल आपूर्ति गर्न नसक्दा अभाव हुने भएको हो ।
कृषि सामग्री कम्पनी लिमिटेड दमौलीका शाखा प्रबन्धक दिनेश शर्माले मलको समस्या र अभाव चुलिएपछि कृषक समस्यामा परेका छन् । माग अनुसारको मल आपूर्ति नभएकाले मलको अभाव भएको बताउनुभयो ।
शाखा प्रबन्धक शर्माले भन्नुभयो, ‘‘एक जिल्लाका लागि चाहिने जति मल तीन जिल्लामा बाँड्नु परेकोले मलको अभाव भएको छ ।’’
आवश्यक रासायनिक मल व्यवस्थापनमा काम गर्दै आएका सरकारी निकायले नै माग अनुसार मल उपलब्ध गराउन सक्ने अवस्थामा नभएपछि यस पटक सुरुदेखि नै मल अभाव हुन थालेको छ । सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनी र साल्ट टेडिङले कर्पोरेसनले बजार मागअनुसार रासायनिक मल ल्याउन नसक्दा किसानले मलको अभाव जेल्नुपर्ने देखिएको छ ।
तनहुँ, लमजुङ र गोरखाका लागि माग अनुसारको एक तिहाइ मात्रै मल भित्रिएको लिमिटेडले जनाएको छ । ८३६ मेट्रिक टन युरिया, ४८३ मेट्रिक टन डिपिए, पोटास ६८ मेट्रिक टन मल आएको र यो मागको एक तिहाइ मात्रै भएको शर्माले जानकारी दिनुभयो ।
पर्याप्त मात्रामा मल वितरण गर्ने हो भने तीन जिल्लाको लागि तीन हजार मेट्रिक टन युरिया, डिपिए एक हजार मेट्रिक टन र पोटास १५० टन आवश्यक पर्ने शर्मा बताउनुहुन्छ । तनहुँमा ९०, लमजुङमा ४४, गोरखामा ६३ गरी १९७ वटा बिक्रेतामार्फत समान रूपमा रासायनिक मल वितरण गरिएको उहाँले जानकारी दिनुभयो । दमौलीमा बिक्रेतामार्फत युरिया १७ रुपियाँ दशमलव ४४ पैसा, डिपिए ४६ रुपियाँ दशमलव ४४ पैसा र पोटास ३४ रुपियाँ दशमलव ४४ पैसा रुपियाँमा विक्री भइरहेको प्रबन्धक शर्माले जानकारी दिनुभयो ।
सम्बन्धित निकायबाट अनुगमन नभएकाले बिक्रेताले आफूखुसी मूल्य निर्धारण गर्ने गरेको पाइएकाले पालिकाले अनुगमन गर्नुपर्ने सुझाव शर्मा दिनुहुन्छ । व्यास नगरपालिका–११ पोल्याङकी उषा पन्थले रासायनिक मल अभावले गर्दा कृषक यतिबेला छटपटाइरहेको बताउनुभयो । पन्थले भन्नुभयो, ‘‘तीस किलो रासायनिक मल किन्न गएको घण्टौँ लाइनमा बसेर १० किलो मात्रै पाइयो जाहे जति मल नपाउँदा उत्पादन नै घट्ने अवस्था आएको छ ।’’
सरकारले परिमाणको आधारमा रकम विनियोजन गर्ने हो भने मलको अभाव नहुने शर्माले बताउनुभयो । शर्माले भन्नुभयो, ‘‘जति आवश्यक पर्छ परिमाणको आधारमा अनुदान दिइनुपर्छ, रकम विनियोजन गर्दा मूल्य वृद्धि भयो भने परिणाम घटेर मलको हाहाकार हुन्छ ।’’
खेतबारीमा पाङ्गरिक मलभन्दा पनि प्रायः सबैले रासायनिक मलको प्रयोगलाई बढाउँदै लगेकाले माग समेत बढ्दै लिमिटेडले जनाएको छ । धान बालीमा कम्पोस्ट मलको प्रयोग हुन छाडीसकेको र सबै तिर रासायनिक मलकै प्रयोग भइरहेकाले मलको अभावमा उत्पादनमा असर पर्ने देखिएको प्रबन्धक शर्माले बताउनुभयो ।