• १२ वैशाख २०८१, बुधबार

महिला नभई चल्दैन रथ भोटो भने देखाउन नपाउने

blog

लछुना शर्मा काफ्ले

ललितपुर, जेठ १० गते । रातो मत्स्येन्द्रनाथको रथजात्रा सञ्चालनमा महिलाको प्रमुख भूमिका रहे पनि भोटोजात्राका दिन गुठी संस्थान शाखा कार्यालय ललितपुरका प्रमुख लछुना शर्मा काफ्लेले भोटो प्रदर्शन गर्न पाउनुहुने छैन। जाति, सम्प्रदाय वा वर्णका कारण भोटो प्रदर्शन गर्न उहाँ वञ्चित हुनुभएको होइन। महिला भएकै कारण उहाँले त्यो अवसर नपाउने हुनुभएको हो।

कर्कोटक  नागको बास रहने भएकाले रातो मत्स्येन्द्रनाथको रथमा महिला चढ्न नपाइने परम्परा छ। रातो मत्स्येन्द्रनाथको भोटो संस्थानको ललितपुर शाखा प्रमुखले प्रदर्शन गर्ने परम्परादेखिकै चलन हो।  शाखा प्रमुख भएर पनि रथमा चढ्न नपाउँदा उहाँले यो अवसर गुमाउनुपर्ने भएको छ। 

“सबैका सामु भोटो प्रदर्शन गर्न पाउने अवसर रहँदा रहँदै पनि महिला भएकै कारण त्यो अवसर गुमाउनुपर्ने अवस्था आएको छ,” उहाँले भन्नुभयो, “रथमा जबर्जस्ती चढ्न खोज्दा विवाद सिर्जना हुन्छ। विवाद खडा किन गर्नु भनेर इच्छा मार्नुपर्ने अवस्था आयो।” 

रथलाई जावलाखेल पु¥याइएको चौथो दिनमा भोटोजात्रा गर्ने चलन छ। जेठ ११ गते बिहीबार भोटोजात्रा गरिँदै छ। किसानको विवादित भोटोको प्रमाण लिएर आउनेलाई सो दिएर पठाउने मान्यता अनुरूप भोटो प्रदर्शन गर्ने चलन छ। त्यस दिन ललितपुरको बुङ्मतीमा सुरक्षा दिएर राखिएको रातो मत्स्येन्द्रनाथको भोटो कडा सुरक्षा व्यवस्थासाथ जावलाखेलमा ल्याइन्छ र भोटो प्रदर्शन गरी जात्रा सम्पन्न गरिन्छ। जात्रा सम्पन्न भइसकेपछि भोटोलाई पट्याएर पुनः बुङ्मती नै लगिन्छ।

सो शाखामा हालसम्म दुई जना महिला प्रमुख बनिसक्नुभएको छ। दुई वर्षअघि खिमा वली कार्यालय प्रमुख हुनुहुन्थ्यो। त्यसबेला पनि महिलाले भोटो प्रदर्शन गर्न पाउनुपर्छ भनेर कार्यालय प्रमुख वलीले शताब्दीपुरुष सत्यमोहन जोशी, ज्यापू समाजलगायत व्यक्तित्व तथा संस्थासँग पहल गर्नुभएको थियो। तर त्यो बेला कोभिड–१९ का कारण पुल्चोकमा निर्माण गरिएको रातो मत्स्येन्द्रनाथको रथ केही परसम्म तानेर जात्रा सम्पन्न गर्नुपरेको थियो। त्यसैले त्यो वर्ष भोटो जात्रा नै आयोजना गरिएन। महिलाले भोटो देखाउन नपाउने भएपछि कार्यालय प्रमुख काफ्लेको सट्टामा सोही कार्यालयका लेखापाल पवन आचार्यलाई सो जिम्मेवारी प्रदान गरिने भएको छ।

यस्तो हुन्छ महिला सहभागिता

रातो मच्छिन्द्रनाथको रथजात्रामा मुख्य गरी तीन पटक महिलाको भूमिका महत्वपूर्ण हुने गरेको छ। रातो मच्छिन्द्रनाथको मूर्तिलाई रथारोहण गर्नु छ महिनाअघि नै रथमा बाधा विघ्न नआओस् भन्नका लागि कुमारीको पूजा गर्नुपर्ने चलन छ।

मातातीर्थ औँसीका दिन पाटनबाट दक्षिण ललितपुरको कटुवालदहमा गर्भवती महिलाका रूपमा मलिनी नाङ्गो खुट्टाका भरमा पुग्नुपर्ने हुन्छ। त्यहाँ साथमा रहेका जलपानेजुको सहयोगमा तन्त्रविद्या गरी रातो मत्स्येन्द्रनाथको आत्मालाई कलशमा बोकेर मलिनीले ल्याउने चलन छ। सुन्धारामा मलिनीबाट अभिषेक गरिन्छ। 

नरिवलजात्रा सम्पन्न भइसकेपछि याकमिस (एक्ली महिला) लाई रथ तान्न दिने परम्परा छ। त्यस दिन अविवाहित र एकल महिलाले रथलाई केही दूरीसम्म तानेर ल्याउने चलन छ। यसैगरी रथलाई जावलाखेलतर्फ तान्नु चार दिनअघि कीर्तिपुरमा रहेकी याकमिसलाई जलपानेजुले फूलप्रसाद चढाउनु पर्छ। ती महिलाको अनुमतिपछि मात्र रथ जावलाखेलतर्फ तान्न पाइन्छ।

रातो मत्स्येन्द्रनाथका पुजारीको संस्था ह्यागृव भैरवनाथ तथा ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञ शाक्यले महिनावारी बार्नुपर्ने परम्परागत मान्यता रहेकाले पनि रथमा महिलालाई चढ्न नदिइएको बताउँदै भन्नुभयो, “रथको धमा (अगाडिदेखि पछाडिसम्म रहेको ठुलो काठ) कर्कोटक  नाग हुन्। रथमा प्रयोग गरिने डोरी र बेत सबै नाग हुन्। नागलाई महिलाले टेक्न नहुने परम्परा छ। मर्यादा राखिएकाले महिला रथमा उक्लिएर भोटो देखाउन नपाइने परम्परा हो।”