• ८ मंसिर २०८२, सोमबार

रेसुङ्गाको दिगो सौन्दर्यीकरण : ५० संस्थाले ३६ खण्डमा स्वतर्स्फुत काम गर्ने

blog

रेसुङ्गाको सरसफाइ र सौन्दर्यीकरणमा जोडिएका समुहहरु । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), मङ्सिर ८ गते ।
केहि समय अगाडिसम्म झाडी बढेर सडक छोपेपछि गर्जुरादेखि रेसुङ्गा महापोखरीसम्म सवारी दुर्घटनाको निकै जोखिम रहेको थियो । स्थानीयलाई खासै मतलब थिएन् । बरु यो विषयमा बाहिरबाट आउने पर्यटकहरुले दुःख व्यक्त गर्थे । अहिले रेसुङ्गा क्षेत्रमा दैनिक एक/डेढ सय जिल्ला तथा जिल्ला बाहिरबाट घुम्न आउनेहरु हुन्छन् । गर्जुरादेखि पोखरीसम्मको सरसफाइका विषयमा सामाजिक सञ्जालमा आलोचना समेत भएको थियो । पछि एकैसाथ दर्जनभन्दा बढी संघ/संस्थाहरुले रेसुङ्गा सरसफाइको सुरुवात गरे ।

सकरात्मक सामाजिक काममा विस्तारै सबैको सहयोग र हौसलासहितको ऐक्यबद्धता अभियान चल्यो । अहिले रेसुङ्गाको दिगो र नियमित सरसफाई तथा सौन्दर्यीकरणको लागि ५० वटा सामाजिक संघ÷संस्था अभियानमा जोडिएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो । अभियानलाई नियमित र प्रभावकारी बनाउन नगरभित्र विद्यालय, सुरक्षा निकायसहित क्रियाशिल करिव ५० संघ/संस्थासँग छलफल गरेर स्थान र जिम्मेवारी तोकिएको पन्थीले जानकारी दिनुभयो ।

उहाँका अनुसार खानीगाउँ चोकदेखि रेसुङ्गा पोखरीसम्म छ किलोमिटर सडकलाई ३६ खण्डमा विभाजन गरी स्थानको छनोट गरिएको छ । सवै संस्थाहरुले अलग–अलग स्थानमा काम प्रारम्भ गर्ने पन्थीले बताउनुभयो । यस अभियानले रेसुङ्गा क्षेत्रको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्त्व र महिमालाई थप उजागर गर्दै सडक सफा, सुन्दर र पर्यटक मैत्री बन्नेछ ।

प्रत्येक संस्थाको बोर्ड र ‘जाउँ हिड रेसुङ्गा’को लोगो राखिने छ । संस्थाहरु आफैले सरसफाइ गर्ने फलफूलका विरुवा रोप्ने, संरक्षण गर्नेछन् । यो अभियानको प्राविधिक काममा नगरपालिकाले सहजीकरण गर्ने योजना बनेको छ । सौन्दर्यीकरणका लागि गत वर्ष रोपिएका छ हजार फूलमध्ये ५५ प्रतिशत जोगिएकाले ती फूलको संरक्षणसहित आवश्यक परेमा पुनः रोप्ने काम पनि समुहहरु मार्फत गरिने नगरप्रमुख पन्थीले बताउनुभयो ।

अहिले गर्जुरादेखि रेसुङ्गासम्मको सडक चिटिक्क भएको छ । एक सातासम्म रेसुङ्गा नगरपालिका, सुरक्षा निकाय, क्लव, समुह, विद्यालय र संघ/संस्थाहरुले रेसुङ्गा क्षेत्रको सरसफाई गरेका थिए । अहिले तम्घासदेखि महापोखरीसम्म पक्की सडक छ । आर्कषक गर्जुरा पार्क, गौशाला, महापोखरी, सानो रेसुङ्गा, रामकुवा, यज्ञशाला, सिद्धबाबा, भ्यू टावर र साउने क्षेत्रमा धार्मिक तथा पर्यटकीय संरचनाहरुको कारण पर्यटकहरुले आगमनमा वृद्धि भइरहेको छ ।

अब सुन्दर नगरी तम्घासबाट उक्लेपछि जिल्लाकै प्रसिद्ध धार्मिक स्थल रेसुङ्गा पुग्दासम्मको सरसफाई र सौन्दर्यीकरणले पर्यटकलाई झन लोभ्याउने छ । रेसुङ्गा नगरपालिकाले दुई वर्षदेखि ‘जाउँ हिड रेसुङ्गा’ अभियान सञ्चालन गरेको छ । वार्षिक एक लाख पर्यटक रेसुङ्गामा भित्र्याउने लक्ष्य अभियानको रहेको छ ।

रेसुङ्गा क्षेत्रको सरसफाईसँगै पर्यटकीय क्षेत्र अर्जुनडाँडा र असपासका सडकहरुको सरसफाई गर्ने अभियान पनि जारी छ । रेसुङ्गा नगरपालिका–७ को वडा कार्यालयको नेतृत्वमा स्थानीयहरुले स्वतस्र्फूत रुपमा सरसफाई गरिरहेको रेसुङ्गा नगरपालिका–७ का वडाध्यक्ष रामप्रसाद पन्थीले बताउनुभयो ।

पछिल्लो समय रेसुङ्गा क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाई बन्न थालेको छ । साउनभर रेसुङ्गामा साउने मेला लाग्छ । नयाँ वर्ष, दसैं तिहार र विभिन्न समयमा हुने यज्ञ तथा एकादशी बाहेक पनि बिदामा धेरैले रेसुङ्गा घुम्ने योजना बनाउने गरेका छन् । तम्घासबाट गाडी चढेपछि १५ मिनेटमा रेसुङ्गा गर्जुरा पार्कमा पुगिन्छ । अहिले गर्जुरा पार्क मनोरञ्जनका लागि उपयुक्त स्थान बनेको छ । खेल्ने, फोटा खिच्ने र बस्ने आनन्दको ठाउँ भएकाले रेसुङ्गा गर्जुरा पार्कमा धेरैले समय बिताउँछन् । रेसुङ्गा गर्जुरा पार्क रेसुङ्गा नगरपालिकाले सञ्चालन गरिरहेको छ ।

पार्कको काउन्टरमा कार्यरत नविन कुँवरका अनुसार दसैँ सुरु भएदेखि दैनिक १५० बढी रेसुङ्गा गर्जुरा पार्क पुग्ने गरेका छन् । गत नयाँ वर्षको एकै दिन एक हजार ७०० बढीले टिकट काटेका थिए । रेसुङ्गा धार्मिक, ऐतिहासिक, प्राकृतिक एवम् पर्यटकीय दृष्टिकोणले आफैँमा महत्त्वपूर्ण छ । पछिल्ला वर्षमा बनेका आधुनिक संरचनाले रेसुङ्गाको सौन्दर्यतामा झनै आर्कषण थपेको छ । गर्जुरा पार्क र कालोपत्रे सडकले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ ।