- शिक्षा ज्ञान सिर्जना, नवप्रवर्तन, समस्या समाधान, जीवनोपयोगी सिप, मूल्य र चरित्र विकाससँग जोडिनु पर्छ, नत्र बेरोजगारी र प्रतिभा पलायनको दुष्चक्र निरन्तर दोहोरिरहने छ ।
- शिक्षा परिवर्तनका साहसिक कदम अब चालिएनन् भने अर्को पुस्ता ‘डिग्रीधारी बेरोजगार’ को पीडादायी पहिचानबाट मुक्त हुन सक्दैन ।
- शिक्षालाई प्रमाणपत्रभन्दा क्षमता, डिग्रीभन्दा योगदान, घोकाइभन्दा अनुसन्धान, र नक्कलभन्दा नवप्रवर्तनतर्फ अभिमुख गराउनुपर्ने समय आएको छ । हामीले स्वतन्त्र सोच, सिर्जना र समाधानमुखी मानसिकता विकसित गर्न सक्यौँ भने नेपाल उपभोक्ता होइन–ज्ञान र नवप्रवर्तन निर्यात गर्ने राष्ट्रका रूपमा अघि बढ्न सक्छ ।
नेपालको शिक्षा प्रणाली लामो समयदेखि प्रमाणपत्र–केन्द्रित मानसिकतामा जकडिँदै आएको छ । शैक्षिक उपलब्धिको मापन सिप, दक्षता र व्यावहारिक ज्ञान कति हासिल भयो भन्ने आधारमा हुनुपर्नेमा, कति प्रमाणपत्र थपियो भन्ने मापदण्डमा सीमित हुँदै गएको छ । परिणामस्वरूप विद्यार्थीमा मौलिक सोच, अनुसन्धानको भावना, नवप्रवर्तन क्षमता र समस्या समाधान गर्ने योग्यता कमजोर हुँदै जाने जोखिम बढ्दो छ ।
आज विश्व ज्ञान, प्रविधि, अनुसन्धान र सिर्जनशील नवप्रवर्तनमा आधारित समाज निर्माणतर्फ अघि बढिरहेको छ । यस्तो परिवेशमा डिग्रीलाई अन्तिम लक्ष्य ठान्ने सोचले नेपाललाई विश्व प्रतिस्पर्धाको दौडबाट पछि पार्ने खतरा गहिरिँदो छ । प्रसिद्ध दार्शनिक जोन डेवीले भनेका छन्, शिक्षा जीवनको तयारी मात्र होइन, जीवन स्वयम् हो । अबको पुस्तालाई कागजी प्रमाणपत्रभन्दा बढी स्वरोजगार सिर्जना गर्ने शक्ति, व्यावहारिक सिप, सिर्जनशील सोच र उद्यमशील दृष्टिकोण आवश्यक छ । शिक्षा प्रणाली अब डिग्री वितरण गर्ने माध्यमभन्दा ज्ञान सिर्जना, नवप्रवर्तन र जीवनोपयोगी दक्षता विकास गर्ने प्रक्रिया बन्नु पर्छ । नेपालको शिक्षा जीवनसँग जोडिने, सिर्जनशीलता र नवप्रवर्तनको बाटो समाउने र युवालाई आफ्नै भविष्यको निर्माणकर्ता बनाउने दिशामा रूपान्तरण हुनु अत्यावश्यक छ ।
प्रमाणपत्र–केन्द्रित सोच
हाम्रो शिक्षा प्रणाली अझै पनि डिग्री मुखी मानसिकतामा बाँधिएको छ । धेरैजसोले शिक्षालाई जीवनपयोगी सिकाइ र क्षमता विकासको माध्यमभन्दा पनि रोजगारका लागि प्रमाणपत्र प्राप्त गर्ने साधनका रूपमा बुझ्ने प्रवृत्ति छ । मूल्याङ्कनको आधार पनि कति सिकियो ? भन्दा बढी, कति जिपिए आयो, कति कक्षा पास भयो, कति प्रमाणपत्र बटुलियो ? मा सीमित भएकाले हाम्रो शिक्षा जीवनपरक बन्न नसकेको हो । यस सोचले ‘परीक्षा–घोकाइ–डिग्री–सफलता’ भन्ने गलत धारणालाई जन्म दिएको देखिन्छ । सिकाइको उद्देश्य ज्ञान, सिप र व्यावहारिक दक्षता विकासभन्दा पनि अङ्क बटुल्ने लक्ष्यमा सीमित हुँदै गएको छ । विद्यार्थी प्रश्न गर्ने, सोच्ने, सिर्जना गर्ने र अनुसन्धान गर्नेभन्दा रटेर सिक्ने संस्कृतिमा बाँधिएका छन् । यस्तो सिकाइ दीर्घकालीन र जीवनमा प्रयोगयोग्य बन्न सक्दैन ।
हाम्रा विश्वविद्यालय अनुसन्धान, नवप्रवर्तन र ज्ञान सिर्जनाका केन्द्र हुनुपर्नेमा सिद्धान्तमा आधारित, पाठ्यपुस्तक केन्द्रित अध्यापनमै सीमित छन् । अनुसन्धान संस्कृतिको अभाव, बजेटको न्यूनता, पूर्वाधार र प्रोत्साहनको कमी तथा शोध आधारित कार्यलाई प्राथमिकता नदिँदा विश्वविद्यालयले समाजका समस्यामा अपेक्षित योगदान दिन सकेका छैनन् ।
विश्वविद्यालय–उद्योग–समुदाय सहकार्य कमजोर हुनु अर्को चुनौती हो । इन्टर्नसिप, फिल्ड–आधारित अध्ययन, परियोजना साझेदारी र प्रविधि स्थानान्तरण अभ्यास पर्याप्त नभएकाले उत्पादन हुने जनशक्ति बजार अनुकूल दक्ष बन्न सकेको छैन । उद्यमशीलता, नेतृत्व, नवप्रवर्तन र समस्या समाधान सिप कमजोर हुँदा डिग्रीधारी बेरोजगार बढ्दै गएका छन्, जसले वैदेशिक रोजगारी र ब्रेन ड्रेनलाई तीव्र बनाइरहेको छ ।
प्रमाणपत्र–केन्द्रित शिक्षाले कागजी योग्यता त उत्पादन गरिरहेको छ, तर देशलाई आवश्यक सिपयुक्त, नवप्रवर्तनशील, अनुसन्धानमुखी र समाधान उन्मुख जनशक्ति तयार गर्न नसक्दा शिक्षाको मूल उद्देश्य अधुरो छ । अब शिक्षा प्रणालीलाई ज्ञान, सिप, अनुसन्धान र नवप्रवर्तनमुखी संस्कृतिमा रूपान्तरण गर्ने समय आएको छ ।
ज्ञान, सिर्जना र नवप्रवर्तनमुखी शिक्षा
२१ औँ शताब्दीमा सफलता, केवल जानकारी बोकेर होइन, नयाँ ज्ञान सिर्जना गर्ने, नवप्रवर्तन गर्ने र समस्या समाधान गर्न सक्ने क्षमताबाट मापन हुन्छ । नेपालको शिक्षा प्रणालीलाई पुस्तिकामा आधारित र परीक्षामुखी मोडेलबाट सिप, सोच, अनुसन्धान र नवप्रवर्तन केन्द्रित बनाउन आवश्यक छ । विद्यार्थीलाई केवल तथ्य र सिद्धान्त सिकाएर भविष्यको प्रतिस्पर्धा जिताउन सकिँदैन । उनीहरूमा समालोचनात्मक सोच, सिर्जनशीलता, सञ्चार सिप, सहकार्य र चरित्र विकास गरिनु पर्छ । यी सिपले ज्ञानलाई व्यवहारमा लागु गर्न र जीवनमा प्रयोग गर्न सक्षम बनाउँछ ।
शिक्षाविद् अल्बर्ट आइन्स्टाइनले भने जस्तै शिक्षा तथ्य याद गर्ने कुरा होइन, सोच्ने क्षमताको प्रशिक्षण हो । हाम्रो शिक्षा प्रणाली अब परम्परागत ज्ञान हस्तान्तरणमा सीमित नरही ज्ञान सिर्जना गर्ने प्रक्रियामा रूपान्तरण हुनु पर्छ । शिक्षाको उद्देश्य विद्यार्थीलाई सोच्ने, अनुसन्धान गर्ने, सिर्जना गर्ने र समस्या समाधान गर्ने क्षमता जगाउने हुनु पर्छ ।
शिक्षा र उद्योगबिचको सहकार्य सुदृढ बनाएर सिकाइलाई व्यवहारसँग जोड्न आवश्यक छ । इनोभेसन ल्याब, इनक्युवेसन हब, स्टार्टअप संस्कृति र अनुसन्धान केन्द्र स्थापना गर्न सके विद्यार्थीले नयाँ विचारलाई उद्यम, प्रविधि वा सामाजिक समाधानमा रूपान्तरण गर्ने अवसर पाउँछन् । शिक्षक अब विद्यार्थीको क्षमता, जिज्ञासा र सिर्जनशीलतालाई उकास्ने सहजकर्ता तथा उत्प्रेरक बन्नु पर्छ । अबको शिक्षा प्रणालीले विद्यार्थीलाई रोजगारी खोज्ने होइन, अवसर सिर्जना गर्ने, समस्या समाधान र समाज रूपान्तरणमा सक्षम बनाउने दिशामा उन्मुख हुनु पर्छ । यही मार्गले नेपाल ज्ञान–अर्थतन्त्र र नवप्रवर्तनमा आधारित विकासतर्फ अघि बढ्न सक्छ ।
विश्वविद्यालयले गर्नुपर्ने रूपान्तरण
शिक्षालाई ज्ञान सिर्जना र नवप्रवर्तनमुखी बनाउने लक्ष्य प्राप्त गर्न शिक्षा प्रणालीका सबै तहमा संरचनात्मक, नीतिगत र व्यवहारगत रूपान्तरण आवश्यक छ । विद्यालयदेखि विश्वविद्यालयसम्म शिक्षण–सिकाइ, मूल्याङ्कन, पाठ्यक्रम र शैक्षिक वातावरणमा आमूल परिवर्तन बिना अपेक्षित सुधार सम्भव छैन । विद्यालय तहमा सिकाइ जिज्ञासा, सिर्जनशीलता र विश्लेषणात्मक क्षमता विकासतर्फ उन्मुख हुनु पर्छ । घोकाइ केन्द्रित पाठ्यक्रम, निश्चित उत्तरमा सीमित शिक्षाशैली र अङ्कमुखी मूल्याङ्कनले विद्यार्थीको सोच र क्षमतामा बाधा पु¥याउँछ । विद्यालयले अनुभव, प्रश्न, परियोजना र फिल्डमा आधारित शिक्षण विस्तार गर्नु पर्छ ।
आधुनिक शिक्षाको मेरुदण्ड मानिने विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित (एसटिइएएम) शिक्षा प्रभावकारी रूपमा लागु गर्न सके, विद्यार्थीमा समालोचनात्मक सोच, नवप्रवर्तनशीलता र समस्या–समाधान गर्ने क्षमता सुदृढ हुन्छ । शिक्षाले विद्यार्थीलाई चरित्रवान् र जीवन–सिपयुक्त नागरिक बनाउनका लागि मूल्यमा आधारित, नेतृत्व, अनुशासन, सहानुभूति, सञ्चार, आर्थिक साक्षरता, भावनात्मक बुद्धिमत्ता र सामाजिक जिम्मेवारीसम्बन्धी ‘जीवन सिप शिक्षा’ लाई पाठ्यक्रम तथा सह–पाठ्यक्रमसँग जोड्नु पर्छ ।
विश्वविद्यालय नयाँ ज्ञान सिर्जनाको केन्द्र बन्नु पर्छ । त्यसका लागि प्रत्येक तहमा अनुसन्धान, उद्योग–इन्टर्नसिप र परियोजनामा आधारित अभ्यास अनिवार्य छ । विद्यार्थीले उद्योग, बजार र समुदायसँगको संलग्नताबाट सिकेको ज्ञान व्यवहारमा प्रयोग गर्न सिक्छन् र रोजगारयोग्य तथा नवप्रवर्तनशील जनशक्ति बन्न सक्छ ।
विश्वविद्यालय उद्योग–समुदाय सहकार्य मोडेल अर्थात् ‘ट्रिपल हेलिक्स मोडेल’ अपनाएमा ज्ञान, उद्यम, उद्योग र समाजबिच संयुक्त नवप्रवर्तन सम्भव हुन्छ । विश्वविद्यालयमा नवप्रवर्तन केन्द्र, अनुसन्धान प्रयोगशाला, उद्यम विकास केन्द्र र स्टार्टअप सपोर्ट सिस्टम स्थापना गर्न आवश्यक छ । उच्च शिक्षामा ‘आउटकम आधारित शिक्षा’ लागु गर्नु सके यसले ‘के पढाइयो ? भन्दा विद्यार्थीले के गर्न सिक्यो ? लाई प्राथमिकता दिन्छ र उत्पादित जनशक्तिको गुणस्तरलाई कार्य–क्षमतासँग प्रत्यक्ष जोड्छ ।
सरकारले उच्च शिक्षामा कम्तीमा दुई प्रतिशत बजेट अनुसन्धानका लागि विनियोजन गर्नु पर्छ । वैदेशिक शिक्षा र अनुभवबाट प्राप्त ज्ञान, सिप र उद्यमशीलता देशमै प्रयोग गर्न सकिने ‘ब्रेन गेन’ नीति प्रभावकारी रूपमा लागु गर्न पर्छ । अनुसन्धान–अनुदान, नवप्रवर्तन परियोजनामा सहुलियत, शोधपत्र प्रकाशनमा प्रोत्साहन, प्रतिस्पर्धात्मक अनुसन्धान कार्यक्रम र नीतिगत समर्थन व्यवस्था आवश्यक छ । यस्ता कदमले नेपालमा अनुसन्धानमा आधारित, नवप्रवर्तनमुखी शिक्षा संस्कृति स्थापित गर्न मद्दत गर्ने छ ।
ज्ञान र सिप संस्कृतितर्फ
आजको शिक्षा प्रणाली रोजगारी पाउने प्रमाणपत्रमा सीमित हुँदै गएको छ । यस प्रवृत्तिले शिक्षाको वास्तविक उद्देश्यलाई सङ्कुचित बनाउँदै ज्ञान, सोच र सिर्जनात्मकताको सार गुमाइरहेको छ । शिक्षा केवल उपाधि पाउने माध्यम होइन; यो सोच्ने, बुझ्ने, प्रश्न गर्ने, सिर्जना गर्ने र समाजप्रति जिम्मेवारी महसुस गराउने रूपान्तरिक शक्ति हो ।
अब शिक्षालाई जीवनपरक परिवर्तन, सामाजिक रूपान्तरण र राष्ट्र विकासको आधार बनाउन आवश्यक छ । साँचो शिक्षा त्यो हो, जसले विद्यार्थीलाई जिज्ञासु बनाउँछ, अनुसन्धान र नवप्रवर्तनमा प्रेरित गर्छ, समस्या समाधान गर्न सक्षम बनाउँछ र मूल्य, चरित्र, नेतृत्व र मानवीय संवेदनाले सम्पन्न नागरिक तयार गर्छ ।
ज्ञान, सिप र नवप्रवर्तनमा आधारित शिक्षा नै २१ औँ शताब्दीको आवश्यकता हो, जहाँ विद्यार्थीहरू रोजगारी खोज्ने होइन, नयाँ अवसर सिर्जना गर्ने, उद्यमशीलता र सामाजिक रूपान्तरणका वाहक बन्न सक्छन् । डिग्री–केन्द्रित संस्कृतिबाट ज्ञान र सिप–केन्द्रित संस्कृतितर्फको यात्रा अबको राष्ट्रिय आवश्यकता हो ।
निष्कर्ष
नेपालको भविष्य त्यहीँ पुस्ताले निर्धारण गर्छ, जसले स्वतन्त्र रूपमा सोच्न, प्रश्न उठाउन, सिर्जना गर्न र अनुसन्धान गर्न सक्ने साहस राख्छ । युवालाई रटान, अङ्क र डिग्रीको सङ्कुचित दायरामा सीमित राखिँदासम्म उनीहरूमा अन्तरनिहित क्षमता खुम्चिन्छ र राष्ट्रको प्रगतिमा अवरोध सिर्जना हुन्छ । अब शिक्षा केवल कागजी प्रमाणपत्रमै सीमित रहने समय सकिएको छ । शिक्षा ज्ञान सिर्जना, नवप्रवर्तन, समस्या समाधान, जीवनोपयोगी सिप, मूल्य र चरित्र विकाससँग जोडिनु पर्छ, नत्र बेरोजगारी र प्रतिभा पलायनको दुष्चक्र निरन्तर दोहोरिरहने छ ।
शिक्षा परिवर्तनका साहसिक कदम अब चालिएनन् भने अर्को पुस्ता ‘डिग्रीधारी बेरोजगार’ को पीडादायी पहिचानबाट मुक्त हुन सक्दैन । शिक्षा क्षेत्रमा संरचनात्मक, नीतिगत र दृष्टिगत रूपान्तरण आजको अपरिहार्य राष्ट्रिय प्राथमिकता बनेको छ । शिक्षालाई प्रमाणपत्रभन्दा क्षमता, डिग्रीभन्दा योगदान, घोकाइभन्दा अनुसन्धान, र नक्कलभन्दा नवप्रवर्तनतर्फ अभिमुख गराउनुपर्ने समय आएको छ । हामीले स्वतन्त्र सोच, सिर्जना र समाधानमुखी मानसिकता विकसित गर्न सक्यौँ भने नेपाल उपभोक्ता होइन–ज्ञान र नवप्रवर्तन निर्यात गर्ने राष्ट्रका रूपमा अघि बढ्न सक्छ ।