जनार्जन खत्री
सर्लाही, मङ्सिर ८ गते । आर्थिक वर्ष २०८१/८२ मा सम्पादित स्वास्थ्य सेवा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरी निर्धारित सूचकको आधारमा सर्लाहीको लालबन्दी नगरपालिका मधेश प्रदेशमै पहिलो भएको छ ।
मधेश प्रदेशका १३६ वटा स्थानीय तहमध्ये उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गरेको भन्दै प्रदेश सरकारले लालबन्दी नगरपालिकालाई सम्मान गरेको हो । प्रदेशका १३६ पालिकामध्ये ९९.०३ अङ्क प्राप्त गरी लालबन्दी प्रदेशमै पहिलो बन्न सफल भएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक मुमताज मिकरानीले जानकारी दिनुभयो ।
स्वास्थ्य सेवा प्रवाहमा प्रदेशमै उत्कृष्ट भई प्रथम स्थान हाँसिल गरेको लालबन्दी नगरपालिकालाई आइतबार मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मधेश प्रदेशका सचिव डा. ओमप्रसाद अर्याल र स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक सरोजचन्द्र न्यौपानेले लालबन्दी नगरपालिकालाई प्रशंसा–पत्र र जानकी मन्दिर अङ्कित मायाको चिनो प्रदान गर्दै सम्मान गर्नुभएको छ । लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने र स्वास्थ्य शाखा प्रमुख मिकरानीले सम्मान ग्रहण गर्नुभएको छ ।
यस्तै मधेश प्रदेशमा उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गर्ने पालिकामध्ये ९५.८७ अङ्क प्राप्त गरी सर्लाहीको हरिपुर नगरपालिका दोस्रो र ९५.६९ अङ्क प्राप्त गरी सर्लाहीकै विष्णु गाउँपालिका तेस्रो भएका छन् । यसअघि लगातार दुई वर्ष मधेश प्रदेशमा पहिलो बनेको हरिवन नगरपालिका भने यो वर्ष चौंथो भएको छ ।
मधेशका १३६ पालिकामध्ये उत्कृष्ट १० मा पर्ने पालिकामध्ये सर्लाहीकै बसबरिया गाउँपालिका पाँचौं र धनकौल गाउँपालिका दशौँ बनेको छ । पालिकाले सञ्चालन गरेको खोप कार्यक्रम, मातहतका स्वास्थ्य संस्थाबाट प्रदान गरिएको स्वास्थ्य सेवा, स्वास्थ्य संस्थामा भएको सुत्केरीको दर, कुपोषित बालबालिका, क्षयरोग तथा एचआइभी सङ्क्रमित बिरामीको अवस्था र उपचारको स्थिति, सम्बन्धित निकायमा समयमै विवरण पठाएको लगायतलाई आधार मानेर पालिकाहरुको स्वास्थ्य कार्यक्रमको अवस्था मूल्याङ्कन हुने गरेको छ ।
त्यस्तै जिल्लास्तरको मूल्याङ्कनमा भने जिल्ला स्वास्थ्य कार्यालय पर्सा पहिलो हुँदा जिल्ला स्वास्थ्य कार्यालय सर्लाही दोस्रो बन्न सफल भएको छ ।