• २८ पुस २०८१, आइतबार

मर्स्याङ्दीको जलविद्युत केन्द्रको उत्पादन बढ्न थाल्यो

blog

मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाधार क्षेत्र । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, जेठ ८ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका –४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन बढ्न थालेको छ । हाल वर्षा हुन थालेपछि उत्पादन बढेको तर पूर्ण क्षमतामा भने उत्पादन हुन नसकेको केन्द्रले जनाएको छ ।

६९ मेगावाट क्षमताको केन्द्र हिउँदमा ४० मेगावाट उत्पादन भएकोमा हाल ५५ मेगावाट पुगेको केन्द्रका प्रमुख बद्री फुयाँलले बताउनुभयो । वर्षा थोरै भएको र जलवायु परिवर्तनले हिमाल हिउँ कम परेको पूर्ण क्षमतामा उत्पादन हुन नसकेको हो । 

केन्द्रका प्रमुखले भन्नुभयो ‘‘यतिबेला प्रशस्त पानी पर्ने समय हो तर खडेरी लामो समय सम्म भएकाले नदीमा पानीको बहाव कम भएकाले पूर्ण क्षमतामा उत्पादन हुन सकेको छैन ।’’

धेरै समय खडेरी परेकाले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घटेकाले तथा कतिपय सुकेकाले पूर्ण क्षमतामा उत्पादन हुन नसकेको केन्द्रले जानकारी दिनुभयो । यो समय वर्षा मौसमको भए पनि वर्षा थोरै मर्स्याङ्दीमा मिसिने स्रोतमा पानीको बहाव कम भएकाले ६९ मेगावाट उत्पादन हुनु पर्नेमा ५५ मेगावाट मात्रै भएको उहाँ बताउनुहुन्छ । 

साँझ र बिहान बिजुलीको माग धेरै हुने भएकाले नदीको पानी दिउँसो रिजर्भ ट्याङ्मा जम्मा गरेर लैजाने साँझ बिहान भने पूर्ण उत्पादन बढाउने गरिएको छ । 

केन्द्रका अनुसार विद्युतको माग साँझ ५ बजे देखि १० बजे सम्म र बिहान ५ बजेदेखि १० बजे बढी हुने भएकाले थुनेर राखेको पानीलाई छाडेर करिब पूर्ण क्षमतामै उत्पादन गरिएको छ । विद्युतको माग धेरै भएको समयमा तीनवटा युनिटबाट २३/२३ मेगावाटका दरले पूर्ण क्षमताअनुरूपको ६९ मेगावाट विद्युत उत्पादन भइरहेको छ । 

मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो । चिसो मौसममा तापक्रम घट्दै जाँदा हिउँ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाव घढेसँगै विद्युत उत्पादन पनि घट्ने गर्दछ ।

यसैगरी गर्मी मौसम पानी धेरै पर्ने हिमाल पनि धेरै पग्लने भएकोले उत्पादन वृद्धि हुने गर्दछ । यस केन्द्रबाट उत्पादित विद्युत चितवनको भरतपुरबाट काठमाडौँको स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।