• २७ पुस २०८१, शनिबार

चालक अनुमतिपत्र नवीकरण पाल्पाबाटै

blog

रेखीराम राना

पाल्पा, जेठ ७ गते । चालक अनुमतिपत्र नवीकरणको काम पाल्पाबाट नै हुने भएको छ । बिहीबारदेखि पाल्पाको तानसेनबाटै चालक अनुमतिपत्रको नवीकरण गर्ने सेवा सुरु गरिएको यातायात व्यवस्था सेवा कार्यालय तानसेनले जनाएको हो । 

सक्कल नागरिकताको प्रमाणपत्र, सक्कल सवारी चालक अनुमति पत्र र निरोगिताको प्रमाणपत्र ल्याएको खण्डमा चालक अनुमति पत्रको नवीकरण गरिने कार्यालयका प्रमुख केशव सुनारले बताउनुभयो । यसअघि छिमेकी जिल्ला रुपन्देहीबाट सवारीचालक अनुमति पत्रको नवीकरण हुँदै आएको थियो । 

चालक अनुमतिपत्रको नवीकरण पाल्पाबाटै हुने भएपछि यस भेगका हजारौँ सेवाग्राहीले सेवा पाउन सहज भएको छ । पाल्पामा सवारी चालक अनुमतिपत्रको नवीकरण नहुँदा हैरानी खेप्दै बुटवललगायतका स्थानमा जानुपर्ने बाध्यता थियो । 

यस्तै, यातायात व्यवस्था सेवा कार्यालयले पाल्पाबाटै नयाँ सवारीचालक अनुमतिपत्र प्रदान गर्न ट्रायल सेन्टरसमेत तयार भएको जनाएको छ । तानसेन-७, बाँसटारीमा लुम्बिनी प्रदेश सरकारको लगानीमा ट्रायल सेन्टर निर्माणको काम सकिएको छ । अब तत्कालै लाइसेन्स समेत पाल्पाबाटै वितरणको काम गरिने कार्यालयले जनाएको छ।