• १४ वैशाख २०८१, शुक्रबार

नीति तथा कार्यक्रममा क्रिकेटलाई प्राथमिकता

blog

कीर्तिपुर क्रिकेट मैदान । फाइनल तस्बिर

काठमाडौं, जेठ ५ गते । सरकारले नीति तथा कार्यक्रममा क्रिकेट खेलको पूर्वाधार निर्माण र विकासलाई प्राथमिकतामा राखेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा खेलकुदको विकासका लागि क्रिकेट खेललाई मुख्य प्राथमिकतामा राखिएको हो ।

कार्यक्रममा काठमाडौंको कीर्तिपुर र मूलपानी रङ्गशालाको स्तरोन्नति गरी दुई वर्षभित्र अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन हुने व्यवस्था गर्ने उल्लेख छ । यस्तै चितवनको भरतपुर, कैलालीको फाप्ला, बैतडीको दशरथचन्द र मोरङको विराटनगर क्रिकेट रङ्गशालाको पूर्वाधार निर्माण कार्य अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रममा खेलकुद पूर्वाधारको दिगो व्यवस्थापनका लागि स्थानीय तथा प्रदेश सरकारको सहभागिता बढाउँदै लैजाने, खेलकुद पर्यटनको विकास र विस्तार हुने किसिमका खेलकुद पूर्वाधारहरू सार्वजनिक-निजी साझेदारीमा निर्माण गर्न प्रोत्साहन गरिने, खेलकुदलाई राष्ट्रको पहिचान, गौरव र प्रतिष्ठा बढाउने माध्यमको रूपमा विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता आयोजना गर्न जोड दिइने र अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामा पदक हासिल गर्ने खेलाडीलाई प्रोत्साहन एवम् पुरस्कृत गरिने उल्लेख छ । 

यस्तै कार्यक्रममा हरेक विद्यालयमा खेल शिक्षकको व्यवस्था, खेलकुदको वार्षिक क्यालेन्डर तयार गरी अन्तरपालिका तथा प्रदेशस्तरीय प्रतियोगिताहरूको आयोजना गरिने, ‘एक वडा एक खेल मैदान’ र ‘एक पालिका एक कभर्ड हल’ निर्माण गरिने योजना पनि समावेश छ ।