• ५ वैशाख २०८३, शनिबार

सूर्यनगर गोल्डकपको उपाधि अभिषेक चर्च नवलपुरलाई

blog

प्रतियोगितामा विजेता टोली। तस्बिरः पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, वैशाख ५ गते ।
पश्चिम नवलपरासी जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘१०औँ सूर्यनगर गोल्डकप’ को उपाधि अभिषेक चर्च रजहर, नवलपुरले जितेको छ। बर्दघाट नगरपालिका–१६ स्थित सूर्यनगर रंगशालामा शुक्रबार भएको रोमाञ्चक फाइनल खेलमा वीरगञ्ज युनाइटेड पर्सालाई १–० को गोल अन्तरले पराजित गर्दै रजहरले उपाधि जितेको हो।

नवयुवा क्लबको आयोजना र बर्दघाट नगरपालिकाको संरक्षकत्वमा सञ्चालित प्रतियोगितामा विजेता बनेको अभिषेक चर्चले नगद रु. ६ लाख ६६ हजार ६ सय ६६ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता वीरगञ्ज युनाइटेडले रु. ३ लाख ३३ हजार ३ सय ३३ मा चित्त बुझाएको छ।

अत्यन्त प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको १८औँ मिनेटमा अभिषेक चर्चका जर्सी नम्बर १७ का खेलाडी विश्वास श्रेष्ठले गरेको गोल नै निर्णायक बनेको थियो। उहाँले फाइनल खेलको ‘म्यान अफ द म्याच’ उपाधि समेत प्राप्त गर्नुभयो। प्रतियोगितामा जम्मा ८ टोलीको सहभागिता रहेको थियो।

समापन समारोहलाई सम्बोधन गर्दै बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले सूर्यनगर गोल्डकपको गरिमालाई जोगाउन नगरपालिकाले संरक्षकको भूमिका निर्वाह गरिरहने बताउनुभयो। उहाँले भन्नुभयो, “खेलकुदको विकासमार्फत युवाहरूलाई सकारात्मक दिशातर्फ अग्रसर गराउने हाम्रो लक्ष्य हो। आगामी दिनमा यस प्रतियोगितालाई अझ व्यवस्थित र भव्य बनाइनेछ।”

वडाध्यक्ष भीमकाजी गुरुङका अनुसार वि.सं. २०७२ सालदेखि सूर्यनगर गोल्डकपको सुरुवात भएको हो। इन्द्र गुरुङ संस्थापक अध्यक्ष रहेको क्लबको नेतृत्व हाल धनसिंह चितौरेले गरिरहनुभएको छ। स्थानीय स्तरमै राष्ट्रियस्तरको खेल रौनक प्रदान गर्दै आएको यस प्रतियोगिताले यस क्षेत्रको खेलकुद प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास छ।