• १५ वैशाख २०८१, शनिबार

हरिनासमा ४७६ पशुको उपचार

blog

फाइल तस्बिर

अर्जुन काफ्ले 

स्याङ्जा, वैशाख २५ गते । हरिनास गाउँपालिका वडा नं. ६ दग्दीमा एक दिने पशु स्वास्थ्य शिविर गरिएको छ । 

नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्ट्क एसोसिएसन (नेभ्ला) जिल्ला कार्य समितिले पालिकाको सहकार्य गर्दै शिविर सञ्चालन गरेको हो । 

१५ जना प्राविधिकले गरेको निःशुल्क पशु स्वास्थ्य शिविरमा २३२ जना किसानका ४७६ पशुको उपचार गरिएको थियो । 

गाई, भैँसी, बाख्रा, कुकुर, बिरालो तथा कुखुरालगायत पशुपक्षीको गोबर एवं स्वास्थ्य परीक्षण गरिएको थियो । 

शिविरमा गोबर जाँच, दूध परीक्षण, पशु उपचार सेवा, बन्ध्याकरण, रेबिज खोप तथा पशुपालनसम्बन्धी आवश्यक परामर्श समेत दिइएको थियो । 

प्राविधिकहरूका अनुसार गोबर परीक्षण गर्दा अधिकांशमा नाम्ले तथा गहते कीराको प्रकोप देखिएको पालिका उपाध्यक्ष इन्द्राकुमारी थापा रानाले बताउनुभयो । 

मानिसको जस्तै पशुको पनि बेला बेलामा स्वास्थ्य परीक्षण गर्न आवश्यक देखिएकाले शिविर गरिएको बताउनुभयो । 

दूध तथा मासुका लागि पालिँदै आएको पशुहरू स्वस्थ भए हाम्रो स्वास्थ्यमा पनि लाभ हुने बताउँदै उपाध्यक्ष रानाले पशुहरूले खान खाए नखाएको, चालचलन र दैनिकीका बारेमा ध्यान दिनुपर्ने बताउनुभयो ।