• १६ चैत २०८०, शुक्रबार

लोपोन्मुख सुरेल समुदाय कृषि पेसामा आकर्षित

blog

गाैरीशंकर गाउँपालिका –५ सुरीमा रहेको सुरेल समुदाय । तस्बिरट : सुजन काफ्ले

सुजन काफ्ले

चरीकोट, वैशाख २१ गते । लोपोन्मुख सुरेल समुदाय कृषि पेसामा आकर्षित हुन थालेका छन् । बाँस तथा चोयाका विभिन्न सामग्री बुन्ने परम्परागत पेसा भएका उहाँहरूको घर आगनमै सडकको पहुँच विस्तार भएपछि कृषि पेसामा आकर्षित भएका हुन् ।

दोलखाको गौरीशङ्कर - ५ सुरी मुख्य थलो रहेको सुरेल समुदायका मानिसले साग, लसुन, बन्दा, प्याज, आलु, काउली, खुर्सानीलगायतका तरकारी खेती सुरु गरेको भूमेथान खाद्यान्न उत्पादन कृषि समूहका अध्यक्ष यमकुमारी सुरेलले बताउनुभयो । 

२४ घर परिवार अहिले भूमेथान खाद्यान्न उत्पादन कृषि समूहमा आबद्ध भएर तरकारी खेती गरिरहेको उहाँले बताउनुभयो ।

सुरेल समुदायले व्यावसायिक तरकारी खेतीसँगै गहुँ, मकै, कोदो, जौँ, फापरलगायतका रैथाने बाली समेत लगाइरहेको स्थानीय अगुवा तीर्थबहादुर सुरेलले बताउनुभयो । 

घर आँगनमै सडक पुगेपछि उत्पादित तरकारी बेच्नको लागि बजारसम्म पुर्‍याउन सहज भएको छ, अब यही पेसालाई थप विस्तार गर्ने सोचमा अधिकांश सुरेल समुदाय पुगेका स्थानीय अगुवा हर्कबहादुर सुरेलले भन्नुभयो । तर आफू लगायत केही ज्येष्ठ सुरेलले भने परम्परागत रूपमा गर्दै आएको बाँस तथा निगालोबाट बनाइने नाङ्लो, चाल्नो, डोको, फुङ्लो बुन्ने कामलाई समेत निरन्तरता दिइरहेको हर्कबहादुर सुरेलको भनाइ छ । 

गौरीशङ्कर गाउँपालिका वडा नम्बर ५ सुरीका वडा अध्यक्ष सुन्दर खड्काले वडाको गौरवको रूपमा रहेका लोपोन्मुख सुरेल समुदायको संरक्षणको लागि वडाले कृषि, शिक्षा, स्वास्थ्यलगायतमा आवश्यकताअनुसार सहयोग गर्दै आएको बताउनुभयो  । 

सो वडाका झण्डै ६० घरधुरीमा जम्मा २३० जनसङ्ख्या रहेको सुरेल समुदायको अधिकांश परिवार कृषि पेसामा लागेका छन् ।