• १६ चैत २०८०, शुक्रबार

चलचित्रमा आइटम गीत

blog

काठमाडौँ, वैशाख २० गते । पछिल्लो दशक नेपाली चलचित्रहरूमा आइटम गीतलाई विशेष महत्व दिने गरिएको छ । आइटम गीतले बजार तताउने भएपछि गीत लेखन, सङ्गीत संयोजनदेखि छायाङ्कनका लागि चलचित्र निर्माण टोलीको ठूलै मेहनत पर्न थालेको छ । साथै त्यसका लागि ठूलै धनराशि खर्च गर्न निमार्ताहरू तयार हुने गरेका छन् ।  

बलिउडका चलचित्रको कथा र कथा भन्ने शैलीले प्रभाव जसरी परेको छ त्यस्तै आइटम गीतको प्रभाव पर्न थालेको नेपाली चलचित्रकर्मीहरू स्वीकार्छन् । 

नेपाली चलचित्र क्षेत्रले पनि बलिउडकै देखासिकी गरी बजारको आयतन बढाउन आइटम गीतको सहारा लिन थालेको बताउँछन् । आइटम गीतलाई  चलचित्र बिकाउ ‘हतियार’ बनाइन थालिएको छ । सिधा अर्थमा गीतमा कलात्मकता देखाउन खोजिए पनि घुमाउरो अर्थमा यसलाई फरक ढङ्गको बनाउन खोजिएको धेरैको बुझाइ छ, पूरै चलचित्रको लागत एउटै गीतले उठाइदिने भएकाले पनि निर्माण टोली आइटम गीत बनाउनलाई निकै मेहनत र समय खर्चिन्छन् । 

लुट २ को ‘ठमेल बजार...’ ले मोडल एलिसा राईलाई रातारात ‘हटकेक’ बनायो । उनले छोटा पहिरनमा कामुक नृत्य गरेको यो गीतले युट्युबमा एक करोडभन्दा बढी ‘भ्युज’ बटुलेको थियो ।  त्यस्तै ‘वान वे’ चलचित्रमार्फत पर्दापण गर्नुभएकी माला लिम्बूलाई एउटै गीत ‘काले दाइ...’ले चर्चामा ल्यायो । चलचित्र प्रचारका लागि ट्रेलरभन्दा आइटम गीत धेरै फलदायी भयो । यसको ज्वलन्त उदाहरण हो माथिका यी दुई गीत । दर्जनौँ चलेका आइटम गीतमा अभिनय तथा नृत्य प्रस्तुत गर्नुभएका निर्देशक तथा कलाकार निश्चल बस्नेतले चलचित्रको प्रचारप्रसारका लागि महìवपूर्ण अस्त्रका रूपमा आइटम गीतलाई बुझ्नुभएको छ । गीतहरूमा पारिश्रमिक यतिउतिभन्दा पनि आपसी समझदारीमा तय हुने उहाँले अनुभव छ ।   

एउटा आइटम नम्बरका लागि अभिनेतृहरू लाखौँ रुपियाँ पारिश्रमिक लिन्छन् । बलिउडकी आइटम गर्ल नोरा फतेहीदेखि कलिउडकी सुष्मा कार्कीसम्मले आइटम गीत गरेबापत लाखदेखि  करोड रुपियाँसम्म पारिश्रमिक लिने गरेका छन् । वास्तवमा स्थापित नायिकाको क्रेजलाई बिकाउन पनि उनीहरूलाई मोटो रकम दिएर आइटम गीतमा नाच्न प्रस्ताव गरिन्छ ।  कतिपयले यस्ता गीतहरूलाई नकारात्मक रूपमा लिने गरे पनि म्युजिक भिडियो निर्देशक सान थापाले यस्ता गीतहरूलाई मनोरञ्जनको माध्यमका रूपमा मात्र लिनुपर्ने बताउनुहुन्छ ।  उहाँ भन्नुहुन्छ, “आइटम गीत भनेको भल्गर, टपलेस हुन्छ भन्ने हुँदैन । यस्ता कुरालाई नेपाली समाजले पचाउन थालिसकेका छन् ।” चलचित्रमा अभिनय गरेरभन्दा आइटम गीतबाट नै  राम्रो कमाइ हुने हुनाले पनि यसको महत्व बढेको निर्देशक थापाको भनाइ छ ।  

‘उध्रेको चोली...’मा सुष्मा कार्की, जङ्गबहादुरको कोटको ‘आई निड योर लभ बेबी...मा नन्दिता केसी, गायिका इन्दिरा जोशी फन्कोको ‘लोकल ब्युटी...’मा आइटम गर्लका रूपमा रहनुभएको थियो । त्यस्तै पूर्वमिस नेपाल मलिना जोशीले नायिकाका रूपमा आफ्नो क्यायिर सुरु गरे पनि उहाँ पहिल्यै ‘नशा हो यो...’मा ग्ल्यामर्स नृत्यमा देखिनुभएको थियो । अभिनेतृ नम्रता श्रेष्ठले अर्धकट्टीको ‘हे नम्रता...’ गीतमा केटाहरूको माझ घेरिएर आइटम डान्स गर्नुभएको थियो भने कुनै समयकी चर्चित नायिका प्रियङ्का कार्की चलचित्र हँसियामा ‘आजको रातमा...’ र कलिउडको ‘म हुँ काली...’ नामक आइटम गीतमा देखिनुभएको थियो । 

नेपाली चलचित्रमा आइटम गीतको प्रयोग भने चलचित्र सगुनबाट भएको थियो । नारायण पुरी निर्देशित यस चलचित्रमा ‘आगो लाग्यो दिलैमा दमकल बोलाइदेउ’ गीतमा शिव श्रेष्ठ र विपना थापाको नृत्य देख्न सकिन्छ । नयाँ कलाकारलाई लिएर बनाइएको चलचित्रलाई चर्चामा ल्याउन स्थापित कलाकारलाई नचाइएको थियो । यसैगरी दीपक रायमाझी निर्देशित चलचित्र कसममा पनि ‘वनमा फूल्यो फूल जीवनमा नगर्नु है भूल’ बोलको गीत आइटम गीतका रूपमा आएको थियो । अहिले आइटम गीत प्रचारमा मात्र होइन, चलचित्रको सुरुवाती व्यापार उकास्नसमेत दरिलो हतियार बनेको छ ।