• १४ फागुन २०८०, सोमबार

विदेशमा मृत्युको कारण व्यवसायजन्य असुरक्षा

blog

काठमाडौ, वैशाख २० गते । वैदेशिक रोजगारीका लागि विदेश गएर मृत्यु हुनुको कारण विदेशमा कार्यवातावरण र व्यवसायजन्य सुरक्षा कमजोर भएर मुख्य कारण भएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘नेपाली श्रमिकको मानव अधिकार अवस्था प्रतिवेदन २०७९’ मा वैदेशिक रोजगारीमा गएका नेपालीको ज्यान जानुमा घातक रोगका कारणभन्दा पनि काम गर्ने वातावरण र व्यवसायजन्य सुरक्षा कमजोर भएकाले बढी हुने गरेको देखिएको हो ।

आयोगको प्रतिवेदनअनुसार स्वास्थ्य परीक्षण गरेर पनि ठगिएका नेपालीको गन्तव्य देशमा मृत्यु हुने क्रम बढ्नुमा विदेशमा बस्ने बासस्थान, खानपान, व्यवसायजन्य सुरक्षा र काम गर्ने क्रममा अपनाइने सुरक्षाका उपाय कमजोर भएको ठहर गरेको छ । 

नेपालबाट वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकले अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्छ । स्वास्थ्य परीक्षणमा पास भएका स्वस्थ व्यक्तिले मात्र वैदेशिक रोजगारीको यात्रा गर्न पाउँछन् तर पछिल्लो समय रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीको सङ्ख्या बढ्दो छ । वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०६५/६६ देखि २०७८/७९ सम्म १० हजार ९३२ जनाले ज्यान गुमाएका छन । यो सङ्ख्या बोर्डको सचिवालयबाट आर्थिक सहायता रकम लिनेको मात्रै हो । यस अवधिमा मलेसियामा सबैभन्दा बढी नेपालीको ज्यान गुमाएका छन् । 

बोर्डले श्रम स्वीकृति वा करार अवधि सकिएकालाई आर्थिक सहायता प्रदान गर्दैन र करार अवधि सकिएपछि विदेशमा ज्यान गुमाएका श्रमिकको तथ्याङ्कसमेत बोर्डसँग हुँदैन । बोर्डका अनुसार वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएर आर्थिक सहायता लिनेको सङ्ख्या पछिल्लो पटक बढ्दै गएको छ । आर्थिक वर्ष २०६५/६६ मा जम्मा ९० जनाको ज्यान गएकामा त्यसको पाँच वर्षपछि आर्थिक वर्ष २०६५/६६ मा यो सङ्ख्या बढेर एक हजार नाघेको बोर्डको तथ्याङ्ले देखाउँछ । आर्थिक वर्ष २०७७/७८ मा एक हजार २४२ जनाले ज्यान गुुमाए भने आर्थिक वर्ष २०७८÷७९ मा एक हजार ४८९ युवाले ज्यान गुमाए । वैदेशिक रोजगारीमा गएका तीन जनाले प्रत्येक दिन ज्यान गुमाउने गरेको प्रतिवेदनले देखाएको छ भने यसरी ज्यान गुमाउनेमा ९३ प्रतिशत मलेसिया र खाडीका देशमा गएका रहेका छन् । बाँकी ७ प्रतिशतले अन्य देशमा श्रमिकको ज्यान गएको छ । 

रोजगारदाताबाट राहत नगण्य

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएर रोजगारदाता कम्पनीबाट आर्थिक राहत पाउनेको सङ्ख्या असाध्यै कम भएको पाइएको छ । प्रवासी नेपाली समन्वय समिति पीएनसीसीले गरेको एक अध्ययनअनुसार विदेशमा मृत्यु भएकामध्ये २९ श्रमिकका आफन्त वा परिवारले आर्थिक सहायताका लागि प्रक्रिया गर्ने गरेकामा १ प्रतिशतले मात्रै प्राप्त गरेको देखिएको छ । विदेशमा ज्यान गुमाएका ३०५ जना श्रमिकको घटनामा केन्द्रित भएर गरिएको अध्ययनमा यस्तो पाइएको हो । नेपाली श्रमिकको ज्यान जानुको मुख्य कारण धेरैजसोको प्राकृतिक कारण भनिएको छ भने बाँकी हृदयाघात र कतिपयको भने मृत्युको कारण नखुलेको उल्लेख गरिएको छ  । श्रमिकको शव नेपालसम्म ल्याउनसमेत महिनौँसम्म लाग्ने गरेको पाइएको छ । कानुन झन्झटिलो भएका कारण श्रमिकको शव कतिपय अवस्थामा दुईदेखि तीन सातासम्म नेपाल आइपुग्ने गरेको छ भने कतिपय त महिना दिनदेखि छ महिनासम्म लाग्ने गरेको छ ।