लक्ष्मी चौधरी
जनकपुरधाम, कात्तिक २२ गते । भारतको बिहार राज्यमा हुन लागेको विधानसभा निर्वाचनका लागि धनुषा जिल्लाको सीमावर्ती नाकाहरू चार दिनका लागि बन्द हुने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको सूचनाअनुसार बिहारमा दोस्रो चरणको विधान सभा निर्वाचन यहि कात्तिक २५ गते (मङ्गलबार) हुने भएकाले शान्ति सुरक्षा व्यवस्थापनका लागि सीमा बन्द गर्ने निर्णय गरिएको हो ।
कात्तिक २२ गते (शनिबार) साँझ ६ बजेदेखि २५ गते साँझ ६ बजेसम्म नेपाल–भारत सीमा नाकामा मानवीय तथा आकस्मिक सेवाबाहेक अन्य सबै किसिमको आवागमन पूर्ण रूपमा रोक लगाइने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सो अवधिमा आवश्यक तयारी गर्न तथा प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरिएको छ ।