• २२ कात्तिक २०८२, शनिबार

एक बोतल मानसरोवर

blog

मानिसको यात्रा न कहिल्यै टुङ्गिन्छ, न त गन्तव्यमै पुगिन्छ । आजको यात्रा सकिएको भोलिपल्टै फेरि सुरु भइहाल्छ अर्को दिनको अर्कै यात्रा । अनि त्यो यात्राले ताक्छ फेरि नयाँ गन्तव्य । यस्तै अनन्त भएरै होला जीवनलाई यात्रा भनिएको । कहिल्यै सकिँदैन यात्रा र कहिल्यै पुगिँदैन गन्तव्य तर पनि कुनै न कुनै गन्तव्यमा भने पुगिएकै छ तर यी हर दिन या हर क्षण पुगिएको भनिएका गन्तव्य छोटा हुन्, जो अस्थायी छन् । स्थायी र अजेय होइनन्, छैनन् यी गन्तव्य । जीवन यस्तै छोटा र अस्थायी यात्रा अनि गन्तव्यमै अलमलिइरहेको छ, अन्तिम तथा स्थायी गन्तव्य पर्र्खिएर । 

यो त भौतिक यात्रा अथवा गन्तव्यको कुरा हो । मनले तय गर्ने यात्रा त झन् कति कति । भौतिक यात्रा दिनदिनै तय हुन्छ र मनले तय गर्ने हरेक यात्रा अपरिमेय छ । दिनमै सयकडौँ यात्रा तय गर्छ मनले । अनि त्यति नै गन्तव्य पनि । कसले छेक्न सक्छ र मनको वेगलाई ? अनि मनको यात्राले तय गर्ने गन्तव्य केले भेटाउनु ? मनको गति नाप्ने यन्त्र नभए जस्तै हो यसले तय गरेको गन्तव्य भेट्नु पनि । कहिलेकाहीँ त लाग्छ मानिससँग एक थान मन नभइदिएको भए यी असङ्ख्य कल्पनाका पहाड केले तुल्याउँथ्यो होला ? त्यही मन नभइदिएको भए मानिसले काल्पनिक संसारको सयर कसरी गथ्र्याे होला ? मन छ र त मानिस निस्फिक्री, स्वतन्त्र रूपमा कैँयन् अकल्पनीय कल्पना गर्न पाइरहेको छ । 

मानिसले हरेक दिनको यात्राको गन्तव्यमा आफूलाई हिँडाइरहेको हुन्छ । साना गन्तव्यहरू मानिस दिनदिनै पुगिरहेकै होला । त्यसपछिको रात मन मनमनै डुल्छ र अर्को यात्रा तयारीको डायरी मनैले लेख्छ । भोलिपल्टको यात्राका काल्पनिक दृश्यलाई मनैले हृदयको क्यानभासमा सजाउँछ र त्यहीँ गन्तव्यको टुङ्गो पनि लगाउँछ । मानिसले नियात्रा पहिले त मनमनै आफ्नो कल्पनाको चौघेराभित्र टिपोट गर्छ । पछि त्यसलाई सघाउन भावनाको फूलका गुच्छा बटुल्छ र यात्रा संस्मरणको माला बनाउँछ । लाग्छ, मन परेको यात्रामा हिँड्दा या पुग्दा भावनाको वेग थेग्न गाह्रो पर्छ । मनले तय गर्ने अकल्पनीय कल्पनालाई शब्दको चौघेराभित्र सीमित पार्नु भनेको बडो कठिन काम हो । ह्वारह्वार्ती शब्द आइदिएपछि भाषामा शब्द बुन्ने तानले तिनलाई बुन्नै भ्याउँदैन तर मनले थाम्नु पर्छ र ती भावनाका थुङ्गालाई मनको ‘हार्डडिस्क’ मा भण्डारण गर्नु पर्छ । पछि यात्रा संस्मरण भनौँ या नियात्राको माला तिनै शब्दका सुन्दर गुच्छा उनेर तयार हुन्छ ।

चीनको छिङछङ सहरमा बास बसेको राति मनमा उम्रिएका भावनाका टुसाहरू हुन् यी । त्यही दिन अर्थात् विसं २०८० असोज १० गते बेइजिङबाट त्यहाँ पुगेका थियौँ । सुप्रसिद्ध धार्मिक पर्यटकीय स्थल कैलाश मानसरोवरको यात्रा बेइजिङबाटै सुरु भइसकेको थियो । भोलिपल्ट चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा उड्नु थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 

‘प्रचण्ड’ को चीन भ्रमण दलका सदस्यका रूपमा सहभागी थियौँ हामी त्यस्तै ४० जना जति । भ्रमण दलमा कोही पाका उमेरका नेता, सांसद पनि भएकाले स्वास्थ्य अवस्था जाँच गरेर मात्र त्यहाँबाट ल्हासा लैजाने कुरा भयो । यो छँटनीको मापदण्ड भ्रमण दलमा रहेका डा. युवराज शर्माले अक्सिजन लेबल कम्तीमा ९० हुनुपर्ने बताउनुभयो । भाग्यवश अक्सिजनले रोकिनु परेन । अब ल्हासाको ल्हासा गङ्गार विमानस्थलबाट मानसरोवरनजिक रहेको एनगारी गुन्सा विमानस्थलका लागि प्रस्थान ग¥यौँ ।  

बिहान सबेरै विमानस्थलसम्म पुग्दा र त्यस वरपर देखिएको दृश्यले मनलाई कम रोमाञ्चित बनाएन । सफा मौसम । आकाश सफा । ल्हासा सहर उचाइमा भएर होला फुत्त उफ्रिएर आकाशै छुन सकिएला जस्तो । नदीसँगै हिँडेको नागबेली बाटो । डाँडामा उषाले लाली छर्दै जाँदा टाढाका पहाड र पठार खुल्न थाले । भर्खरै उदाएको घामले हिमालको चुचुरोलाई चुम्न सुरु गर्दै थियो । हामी जति जति माथि चढ्दै थियौँ त्यति रातो घाम हिमाल चुचुरोबाट विस्तारै तल ओर्लंदै थियो । बडो शिल्पी कालिगडले जस्तै हिमालका चुचुरा, डाँडापाखामा अबिर पोत्दै थियो । आहा तिब्बतका हिमाल, हाम्रै जस्ता राम्रा । 

घामका राता किरण हिमालबाट सडकमा ओर्लियो । कल्पनामा छ मानसरोवर । लाग्थ्यो, हामी कतै धर्तीकै स्वर्गमा छौँ । हुन त मलाई स्वर्ग कस्तो हुन्छ थाहा छैन किनभने म अहिलेसम्म स्वर्ग गएको छैन । न त स्वर्ग देख्ने कसैले यहाँ आएर बयान नै गरेको छ । 

हिमालले मलाई मेरो बाल्यकाल सम्झाउँछ । बागलुङ घरमा म सुत्ने बार्दलीतिरै फर्किएर सधैँ हाँस्थ्यो माछापुच्छे« र धवलागिरि । झुल्के घामसँगै उठाउँथ्यो मलाई सुनको हिमालले । रातो घामले सबैभन्दा पहिला माछापुच्छे«को पुच्छरलाई चुम्थ्यो र विस्तारै धवलागिरि हुँदै अरू हिमशृङ्खलातर्फ सर्दै जान्थ्यो । घाम र हिमालको लुकामारी सिरकबाट मुन्टो झिकेर चियाउँथेँ मैले । नौला नौला हिमाल जति देख्थेँ, तिनीसँग मेरो बाल्यकालको साइनो गाँस्दै जान्थेँ । ती दिन जस्तै आज पनि हिमालले हाँसेरै बोलाउँदै छ मलाई तर दिमागमा छ अझै ठुलो माउन्ट कैलाश । 

गुन्सा विमानस्थल ओर्लियौँ । त्यस्तै २५० किलोमिटर टाढा रहेछ कैलाश मानसरोवर । गाडीमा त्यस्तै साढे तीन घन्टा जति लाग्यो । हामी मिडियाका साथीसँगै थियो उद्योगी व्यवसायीको कार पनि । व्यवसायी चन्द्रप्रसाद ढकाल तथा सिएनआईका अध्यक्ष राजेश अग्रवालसँग म, दी राइजिङ नेपालका नन्दलाल तिवारी र नेपाल टेलिभिजनका चुडामणि नेपालले नेपालको पर्यटन सम्भावनाबारे धेरै कुरा ग¥यौँ । 

कैलाश मानसरोवर पुग्दा मनभरि पोखियो भावनाको भेल । के भनौँ ? के बोलौँ ? किनभने त्यो दृश्य र क्षण व्यक्त गर्ने शब्द पाएको छैन । असङ्ख्य शब्द तँछाडमछाड गर्दै मनभित्र छिर्दै त थिए तर कुन शब्द छानौँ, के वाक्य बनाऊँ ? मन मस्तिष्क शून्यतामा पुग्यो । राष्ट्रिय समाचार समितिकी पत्रकार सगरमाथा आरोही रोशा बस्नेतलाई “चुचुरोमा पुगेपछि के कस्तो महसुस भयो ?” भनी मैले सोध्दा उहाँले भन्नुभएको थियो, “मेरो दिमाग त पूरै खाली थियो । म शून्यतामा पुगेकी थिएँ । केही बोल्न या भावना पोख्नै सकेकी थिइनँ ।”  त्यही सम्झिएँ । आँखैअगाडिको लमतन्न निलो कैलाश मानसरोवरलाई पूरै चियाएँ, क्षितिज भ्याइनँ । बेला बेलामा हर्षले  रसाउँथे आँखा ।   

कैलाशको टुप्पोबाट झर्ने शीतल हिमप्रभासहितको शान्त तालले मलाई काखमा राखेर स्वागत गरिरहेको छ । छालहरूले किनारमै आई मलाई स्पर्श गर्दा आशीर्वाद पाएको महसुस गरेँ । मनमनै लाग्यो यो पवित्र स्पर्श जीवनकै वरदान हो । भूमिमा टेक्नासाथ मन श्रद्धाले भरियो । भौतिक यात्राले थकान बिसाउँदै गर्दा मुटुले मानसरोवर डुल्दै छ । लेक करिब ४,६०० मिटर र त्यसैको आडबाट उठेको माउन्ट कैलाश ६,६०० मिटर उचाइमा छन् । 

सबैका मोबाइल तस्बिर कैद गर्ने तँछाडमछाडमा लागे तर फोटो पत्रकार प्रदीपराज वन्तको बजार भाउ बढी नै छ । सबैले उहाँलाई खोज्दै थिए, उहाँको क्यामरामा कैद हुन । फोटो पत्रकारका दुःख पनि कति कति । अरूका लागि क्यामराको ‘एङ्गल’ मिलाउँदामिलाउँदै आफ्नै फोटो लिन नपाउने ।  

खुबै खिच्यौँ तस्बिर । चन्द्र ढकाल दाइ भन्दै हुनुहुन्थ्यो, “यहाँको तस्बिर त कार्कीनेटाको पानी जस्तै रहेछ जति लिए पनि धितै नमर्ने ।” धेरै पहिले हामी बागलुङ, पर्वतेहरू पोखरा आउँदा खुब लोकप्रिय र चिरपरिचित थियो कार्कीनेटाको पानी । घन्टौँ उकालो हिँडेपछि पर्वतको कार्कीनेटामा रहेको धारामा पुगिन्थ्यो र खुबै पिइन्थ्यो । मूल मिठो हो या लामो उकालो हिँडाइको थकानपछि मिठो भएको हो, पानी बडो स्वादिलो थियो, जति खाए पनि धित नमर्ने । अहिले पनि हाम्रो जिब्रोमा त्यो पानी झुन्डिएकै छ ।         

आध्यात्मिकता र श्रद्धा भन्ने कस्तो हुँदो रहेछ भने त्यस्तो हिमतालमा पनि डुबुल्की मार्न सक्यौँ । अहोभाग्य ठानेँ आफूलाई । तालको तीरैतीर आँखाले भ्याउनेसम्म नै देखिन्थे मानिसहरू नुहाउँदै आफ्ना नित्य अनुष्ठान गरिरहेका । कतिले बडो चर्को स्वरमा चिच्याउँदै मनका भाव पोखिरहेका थिए त कोही परिवारलाई ताल लाइभ देखाइरहेका थिए । 

केही क्षणको दर्शनपछि अब हाम्रो टोलीका धेरैको तरखर  मानसरोवरको एक बोतल पानीमा । मलाई बुवाले भने जस्तै धेरैलाई परिवारबाट अर्डर आएर होला, पानी लैजाने बोतल लगभग सबैसँग थियो तर जब पानी भर्न थाल्यौँ, त्यहाँबाट पानी लैजान नपाउने नियम सुनाइयो । एक त तीर्थस्थलको नियम मान्नु नै पर्छ भने अर्कातर्फ हामी सरकारी पाहुना भएकाले झन् नियम पालना गर्नै प¥यो ।  सो पवित्र तीर्थस्थलको जल आफैँले उभाएर घर लैजाने चाहना थियो तर पूरा भएन । त्यत्रो सरोवरबाट पानी उभाउँदा सकिन्छ भनेर त पक्कै होइन होला । अर्को कुरा बर्सेनि करोडौँ तीर्थयात्री पुग्ने त्यो ठाउँबाट पानी उभाएरै लैजाँदा सम्पदामा कुनै असर पर्ने हो कि ? अथवा हामी जहाजमा फर्कनुपर्ने भएकाले सुरक्षा मापदण्डका लागि पो हो कि ? मनमा यस्तै यस्तै कुरा खेले । उनीहरूले नेपालसम्मै जल पु¥याइदिने बताए । पछि नेपालको परराष्ट्र मन्त्रालमार्फत बोतलमा उपलब्ध गराइयो पनि । खुसी लाग्यो । हाम्रो देशमा पनि मुक्तिनाथ पुग्नेले कालीगण्डकीको किनारैकिनार हिँड्दै गर्दा कति शालग्राम लिएर जाने गरेका छन्, हिसाब छैन होला । हामी पनि सिक्न सक्छौँ ।  

यो ताल नेपाल, चीन र भारतबिचको पश्चिमी भूक्षेत्रको एउटा त्रिसंयोग होभन्दा हुन्छ । खासमा हिन्दु धर्ममा पवित्र मानिने ब्रह्मपुत्रसहित सिन्धु, सतलज र कर्णाली नदीको स्रोत यसै मानसरोवर क्षेत्रको वरपर छ । मानसरोवर दुई संस्कृत शब्दको संयोजन मानिन्छ–मानस् अर्थात् मन र सरोवर अर्थात् ताल । हिन्दु, बौद्ध, जैन र बोन धर्मावलम्बीले पवित्रताको प्रतीकका रूपमा यो तालमा स्नान गरेर माउन्ट कैलाश परिक्रमा गर्छन् । कैलाश पर्वतमा भगवान् शिव रहेको विश्वास गरिन्छ ।