• ११ मंसिर २०८१, मङ्गलबार

चलचित्र समीक्षा

औसत कथा ‘नाइ नभन्नु ल ६’

blog

काठमाडौँ, वैशाख १७ गते । एमेनेसिया (भुल्ने रोग) एउटा यस्तो रोग हो, जुन रोग लागेपछि मानिस आफ्नो वर्तमान भुल्दै विगतमा फर्कन्छ । चलचित्र ‘नाइ नभन्नु ल ६’ ले पनि यही रोगलाई आधार बनाएर चलचित्रको कथालाई उल्ट्याएको छ । बालमनोविज्ञानमा शृङ्खलाबद्ध चलचित्र बनाउन खप्पिस निर्देशक विकासराज आचार्यले छैटौँ शृङ्खलामा आइपुग्दा साधारण कथालाई उल्ट्याइ पल्ट्याइ गरी दर्शकलाई भ्रमित पारेर साढे दुई घण्टाभन्दा बढी रोकिने बनाउनुभएको छ । चलचित्रले दर्शकलाई यति लामो विगततिर लैजान्छ कि चलचित्रको कथा कता मोडिएको हो त्यो दर्शकलाई नै थाहा हुँदैन । 

विगतझैँ यस पटक पनि निर्देशक आचार्यले चलचित्रको कथा पत्रकार सामीप्यराज तिमल्सेना र अरुणदेव जोशीसँगको सहकार्यमा तयार पार्नुभएको हो तर चलचित्रको कथामा खासै नयाँपन भने छैन । उही पुरानै शैलीको कथालाई निर्देशकले चलचित्रमा अनेकन तरिकाले देखाउन खोज्नुभएको छ । 

चलचित्रको कथा नायिका ऋतु (आँचल शर्मा)को वरपर घुमेको छ । ऋतुसँगको प्रेम सम्बन्धका लागि नायक शिशिर (आशीर्वाद क्षेत्री)ले गर्नुभएको त्याग, तपस्या र द्वन्द्व नै चलचित्रको मुख्य कथा हो । ऋतुसँग शिशिरको भेट हुनु दुईबीच मायाप्रेम गाँसिनु र एउटा सानो दुर्घटनाका कारण ऋतुले आफ्नो सबै वर्तमान भुलेर विगतमा फर्कंदै जानुको सम्मिश्रण नै चलचित्रको मुख्य कथावस्तु हो । के ऋतुले शिशिरलाई वर्तमानकै अवस्थामा सम्झन सक्नुहुन्छ अथवा उहाँ आफ्नो विगतमा नै फर्केर जानुहुन्छ । चलचित्रमा यीनै कुराको जवाफ कथामार्फत दिन खोजेको छ । 

चलचित्रमा चाहिने सम्पूर्ण पक्षलाई समेटिए पनि अर्थहीन प्रेमकथाले गर्दा चलचित्र धेरै ठाउँमा खस्किएको छ । चलचित्र प्रदर्शनअघि प्रचार गरेअनुरूप पाइँदैन । उही घिसिपिटी पुरानै खालको प्रेमकथा र द्वन्द्वले दर्शकलाई मूर्ख बनाउन खोजिएको छ । 

चलचित्रको राम्रो पक्ष भनेको यसको गीतसङ्गीत र बालबालिकाको अभिनय हो । भुपेन्द्र रायमाझी र वसन्त सापकोटाको गीतसङ्गीतले अवश्य नै दर्शकको मन छुन्छ । चलचित्र यस पटक बालकलाकारको ‘डफ्फा’ले भरिए पनि उहाँहरूको अभिनयबाट भने दर्शक अवश्य नै प्रभावित हुनुहुनेछ । एविलिना खड्का, अथर्व लुइँटेल उप्रेती, आयुष गुरागाईं, योगिशा खत्री, एन्जेल राई र अनुभव रेग्मीको अभिनय प्रशंसायोग्य छ । 

चलचित्रमा नायक आशीर्वादको लुक्स र उनको नृत्य बलिउड कलाकार ऋतिक रोशनसँग मिल्दोजुल्दो देखिन्छ । अभिनयमा खासै जम्न नसके पनि अशिर्वादको नृत्य र शारीरिक सुगठनबाट भने अवश्य नै दर्शकलाई लोभ्याउँछ । 

त्यस्तै नायिका आँचलको अभिनयमा खासै नयाँ कुरा छैन । एक त उहाँको अनुहारबाट नै धेरै दर्शक झुक्किन्छन् । उहाँले आफ्नो कपाल, पोसाकमा जति मेहनत गर्नुभएको छ त्यसको थोरै हिस्सा मात्र अभिनय राम्रो बनाउन लागि पर्नुभएको भए उत्तम हुने थियो । उहाँलाई ऋतुको भूमिका खासै सुहाएको छैन । अन्य कलाकार केकी अधिकारी, प्रियङ्का कार्की, सरोज खनाललाई केवल पारिवारिक चरित्रको रूपमा मात्र चित्रण गरिएको छ । चलचित्रभित्र हास्य कलाकार खड्गबहादुर पुन (खबपु)को अभिनयलाई पनि दर्शकले अवश्य नै रुचाउनुहुन्छ । 

चलचित्रको कथा उलटपुलट भए पनि ‘बालबालिकालाई झगडा होइन, शान्ति सिकाउ, हिंसा होइन प्रेम सिकाउ भन्ने सन्देश चलचित्रले दिन खोजेको छ । बालबालिकाको मनोविज्ञानलाई परिपक्व मान्छेले पनि बुझ्नु जरुरी छ भन्ने कुरा चलचित्र हेरिसकेपछि दर्शकको मनमा अवश्य पर्छ । यसको कथा र यसभित्र देखिएका कलाकारको अभिनयलाई नियाल्दा चलचित्र औसत श्रेणीको कथामा पर्छ । 

चलचित्रको अन्त्यमा निर्देशकले दर्शकलाई दुई कुराले आश्चर्य बनाउन खोज्नुभएको छ । चलचित्रमा उहाँले सातौँ शृङ्खलाको घोषणा गर्दै मुख्य अभिनेतृबारे सङ्केत गर्नुभएको छ । चलचित्रको अन्त्यमा ‘जीवनले निरन्तरता पाउनेछ’ लेख्दै साताैँ शृङ्खला नायिका स्वस्तिमा खड्कालाई शीर्ष भूमिकामा देखिने सङ्केत गरेको छ । स्वस्तिमा प्रेमीलाई भेट्न कुनै गन्तव्यतिर हिँडेपछि चलचित्र टुङ्गिन्छ । त्यसपछि पर्दामा ‘लाइफ टु बी कन्टिन्युड’ लेखिन्छ । यसले नायिका खड्का सातौँ शृङ्खलामा अभिनेतृको रूपमा देखिने सम्भावना रहेको छ ।