• १६ चैत २०८०, शुक्रबार

लोकप्रियतासँगै ‘ब्रान्ड एम्बेसडर’

blog

काठमाडौँ, वैशाख १४ गते । आफ्नो उत्पादनको प्रवद्र्धनका लागि व्यावसायिक कम्पनीले ख्यातिप्राप्त कलाकारलाई सद्भाव दूत राख्नु अहिले सामान्य बनेको छ । दर्शकमाझ चर्चित अनुहारलाई अनुबन्ध गरेर कम्पनीले आफ्नो उत्पादनको बिक्री वितरण बढाउँछन् नै कलाकारले पनि आर्थिक रूपमा सबल हुने अवसर पाउँछन् । भारतीय चलचित्र उद्योगमा नाम चलेका कलाकार विभिन्न ब्रान्डका ‘एम्बेसडर बनेका हामीले देख्दै आएका छौँ । अमिताभ बच्चन, शाहरुख खान, अक्षय कुमार मात्र होइन कैट्रिना कैफ र कृति सेननजस्ता कलाकार अभिनयसँगै ब्रान्ड एम्बेसडरका रूपमा पनि देखा पर्नुभएको छ । 

रजतपटको परिचय खुम्चिन थालेपछि धेरै कलाकार सद्भावना दूतका रूपमा स्थापित हुँदै छन् । ल्यापटप, टीभी, मोबाइल, कपडा र पेयजस्ता उत्पादनको बजार प्रवद्र्धनका लागि कम्पनीबीच हुने प्रतिस्पर्धामा चलचित्र कलाकारलाई ‘ब्रान्ड एम्बेसडर’ बनाउने होड चलेको छ । भारतको सिको गर्दै नेपालमा पनि चलचित्रमा नाम चलेका र अनुहार बिक्ने कलाकार व्यावसायिक उत्पादनको एम्बेसडरका रूपमा देखा परेका छन् । तीमध्ये अधिकांश स्वदेशी तथा बहुराष्ट्रिय कम्पनीको उत्पादनको प्रचारप्रसारमा लागिसकेका छन् । एप्पी फिजका लागि अभिनेत्री प्रियङ्का कार्की ब्रान्ड एम्बेसडर हुनुहुन्छ भने अभिनेत्री उपासना सिंह ठकुरी फ्रुटीको ब्रान्ड एम्बेसडरका रूपमा अनुबन्धित हुनुभएको छ ।

अभिनेत्री ऋचा शर्मा अहिले ब्रान्ड एम्बेसडर बनाउने लर्को खासै नरहेको बताउनुहुन्छ । कुनै समयमा च्याउ उम्रेझैँ लर्को लागेको ब्रान्ड एम्बेसडर बनाउने चलनमा अहिले कमी आएको उहाँको भनाइ छ । “कुनै पनि ब्रान्ड बिकाउनु भनेको हामी कलाकारको अनुहार बिकाउनु नै त हो,” उहाँको भनाइ छ । अहिले सामाजिक सञ्जालबाट ब्रान्डको प्रमोसन हुने गरेको उहाँ बताउनुहुन्छ । सामाजिक सञ्जालमा व्यावसायिक उत्पादनको प्रचारमा देखिएबापत कलाकारले पाउने रकम निश्चित हुँदैन, उहाँ भन्नुहुन्छ, “राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादनको एम्बेसडरका लागि भने रकम निश्चित हुन्छ ।”

कुनै बेला म्याक्स मिडियाले बनाएको टुपीएम चाउचाउको विज्ञापनमा नायक राजेश हमाल भएकाले चाउचाउले राम्रो बजार पाएको थियो । त्यस्तै हमाल नै एम्बेसडर बनी अभिनय गरेको कस्मिक थिङयाङ मोटरसाइकलको विज्ञापन पनि कुनै बेला चर्चित थियो । यद्यपि हाल सो कम्पनी बन्द भइसकेको छ । त्यस्तै कुनै समय अभिनेत्री निरुता सिंहले मुना चियाको विज्ञापनमा आफ्नो जादु चलाउनु भएको थियो । तीनपाते चियामा भुवन केसी दम्पती र मेघा उलमा मनीषा कोइरालाले एम्बेसडर बनेर उत्पादनको प्रवद्र्धन गर्नुभएको थियो । अभिनेता निखिल उप्रेती एसियन थाई फुड्सको उत्पादन फटाफट चाउचाउका ब्रान्ड एम्बेसडरका रूपमा देखिनु भएको थियो ।  

कलाकारको ‘क्रेज’ बढ्नु र स्टाइल फलो गर्ने प्रवृत्ति उपभोक्तामा भएकाले कलाकारलाई नै ब्रान्ड एम्बेसडर बनाउने बताउँछन् विज्ञापन एजेन्सी तथा कम्पनीहरू । एजेन्सीका अनुसार ब्रान्ड एम्बेसडर भएबापत कलाकारले वार्षिक पाँचदेखि ५० लाख रुपियाँसम्म पाउँछन् । लोकप्रियता, विज्ञापन लागत र उत्पादक कम्पनी हेरेर कलाकारको पारिश्रमिक निर्धारण गरिन्छ । नेपाली चलचित्र क्षेत्र स्थापित हुँदै जानु तथा उपभोक्तामा ब्रान्डप्रति चेतना बढेकाले कलाकारको ब्रान्ड मूल्य बढेको हो । कलाकारले नै गर्दा उत्पादनले बढी ग्राहक पाउँछ । अहिले एम्बेसडर बनाउन रकम नै छुट्याउनुपर्ने अवस्था आउन थालेको एजेन्सीको भनाइ छ ।