• ७ असोज २०८०, आइतबार

रातो मच्छिन्द्रनाथको रथ यात्रा रोकियो

blog

काठमाडौं, वैशाख १३ गते । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ यात्रा आजका लागि रोकिएको छ । गुठी संस्थान शाखा कार्यालय ललितपुरले मच्छिन्द्रनाथको रथमा प्राविधिक कार्य गर्नुपर्ने भएकाले रथ जात्रा नहुने जानकारी गराएको हो । 

३२ हात लामो रथ पुल्चोकबाट तानेर गाबहालमा पुर्‍याइएको भोलिपल्ट सामान्यतया: मंगलबजारसम्म पुर्‍याउने गरिन्छ तर रथ मंगलबार मात्रै गाबहाल पुर्‍याइएको थियो ।

“यसपालि रातो मच्छिन्द्रनाथको रथ हल्का ढल्किएर बाटो छेउछाउका घरलाई धक्का दिएको छ, हामी मानिसले हातैले तयार पार्ने सामानमा कहिलेकाहीँ समस्या त आउनसक्छ”, गुठी संस्थानका प्रमुख, लछुना शर्मा काफ्लेले भन्नुभयो, “पुनः रथ यात्रा गर्नेबेला कुनै समस्या व्यहोर्न नपरोस् भन्ने हिसाबले रथ यात्रा आजको लागि रोकिएको हो, रथ आज मर्मतपछि भोलि नै सुचारु हुन्छ ।" 

मच्छिन्द्रनाथको रथ यात्राको पहिलो दिन अर्थात् गत सोमबार पुल्चोकबाट तानेर ल्याउने क्रममा रथ पटक पटक देब्रेतिर ढल्किएको कारण बीच बाटो बहालमै रथयात्रा स्थगित गरिएको थियो । त्यसैले राति साँघुरो सडकमा रथ तान्ने क्रममा धनजनको क्षति नहोस् भनेर आजका लागि रथ यात्रा रोकिएको प्रमुख काफ्लेले जानकारी दिनुभयो ।

यसअघि भने रथ पुल्चोकबाट तानेर एक दिनमै गाबहाल पुर्‍याउँदै आएकोमा यसपटक रथ ल्याउन दुई दिन लागेको हो । 

प्रमुख काफ्लेका अनुसार रथ बनाउने यङ्वालहरुले रथलाई बेतबाँस र डोरीले सकेसम्म कसिलो बनाउने र रथमा काठको काम वाराहीहरूले गर्नुहुन्छ । एउटा किलासमेत नठोकीकन काठ, बेतबाँस र डोरीले बाँधेर रथ बनाउने परम्परा छ । 

यस्तै, रातो मच्छिन्द्रनाथको जात्रा विभिन्न किंवदन्तीमा आधारित छ । वैशाख शुक्ल प्रतिपदाको दिन रथ तानेर सुरु हुने जात्रा असार चौथीमा राष्ट्र प्रमुखबाट भोटो देखाएर विधिवत रूपमा समापन हुनेगर्छ । 

जात्रामा जात र सम्प्रदायको आधारमा कामको विभाजन गरिएको पाइन्छ । जात्रा सुरु हुनुअघि मच्छिन्द्रनाथको महास्नानपछि वाराही र वाःले रथ निर्माणको काम सुरु गर्ने गर्छन्। यसरी रथ जात्रा सञ्चालनका लागि धेरै समूह र गुठीहरू संलग्न भएपनि रथ निर्माणका लागि भने वाराहीले मात्र काम गर्ने परम्परा छ । यसरी वाराहीले काठ सम्बन्धी काम गर्ने, यङ्वालहरुले त्यसमा फेरि एक तल्ला थप्ने र बेत, डोरी, ‘लसी’ अर्थात् नेपाल भाषामा १६ वटा लामो काठ बनाउने कामलाई पूर्णता दिएका हुन्छन्। 

रथ गाबहालबाट सुन्धारा, सुन्धाराबाट लगनखेल र जाउलाखेल लगिन्छ । लगनखेलमा रथको माथिबाट नरिवल गुडाउने चलन रहेको छ। त्यो नरिवल जसले समात्न सक्छ, उसले छोरो पाउँछ भन्ने जनविश्वाससमेत रहेको संस्कृतविद् हरिराम जोशी बताउनुहुन्छ । 

Author
सनम महर्जन

उहाँ कला, संस्कृति र मनोरञ्जन विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।