काठमाडौँ, वैशाख १३ गते । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा ‘सांसद विकास कोष’मार्फत सांसदहरूले पाउने बजेट पुनः कायम गर्नुपर्ने माग उठेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मङ्गलबार र बुधबार बसेको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमा ‘सांसद विकास कोष’मार्फत बजेट व्यवस्था हुनुपर्ने माग गर्नुभएको हो।
बैठकपछि कांग्रेस केन्द्रीय सदस्य एवं सांसद रामहरि खतिवडाले सांसद विकास कोषमार्फत वितरण हुने बजेट फेरि पाउनुपर्ने माग केही सांसदले उठाउएको बताउनुभयो। तर यस विषयमा कुनै निर्णय नभएको उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो, “प्रदेश सभा सदस्यलाई बजेट दिइन्छ, पालिका प्रमुख र अध्यक्षलाई पनि दिइन्छ तर सङ्घीय सांसदलाई बजेट नदिनुपर्ने कारण छैन। त्यसैले आगामी आर्थिक वर्षको बजेटमा सांसदलाई बजेट दिनुपर्छ भन्ने कुरा केही सांसदले राख्नुभयो।”
आर्थिक वर्ष २०७६/७७ को बजेटमा सांसद विकास कोषको रकम वृद्धि गरी छ करोड रुपियाँ बनाइएको थियो। तर कोभिड–१९ को वैश्विक महामारीपछि सांसद विकास कोषमार्फत रकम बाँड्ने कार्यक्रम खारेज गरिएको थियो।
बजेटबारे छलफल
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग सांसदहरूले बजेटका सन्दर्भमा छलफल गरेको बताउनुभयो। उहाँका अनुसार अर्थमन्त्री महतले बजेटको विषयमा बैठकमा जानकारी गराउनुभयो।
साथै सभापति शेरबहादुर देउवाले पनि बजेट निर्माणका सन्दर्भमा सुझाव दिनुभयो। नेता लेखकले भन्नुभयो, “पछाडि परेका वर्ग समुदायलाई लक्षित गरेर बजेटमा विशेष व्यवस्था गर्नुपर्ने विषय छलफलमा उठेको छ। महिला, आदिवासी, जनजाति, युवालाई लक्षित गरी शिक्षा, स्वास्थ्यसहित आधारभूत कुरामा बजेट तर्जुमा गर्नुपर्ने सुझाव आएको छ।”
उहाँले बजेटको लाभ जनतामा पुगोस् भन्ने विषयमा केन्द्रित रहेर छलफल भएको बताउनुभयो। उहाँले भन्नुभयो, “बजेटको सीमाभित्र पनि जनतालाई राहत दिने गरी आधारभूत कुरा बजेट तर्जुमा गर्ने र सामाजिक सुरक्षाको विषयलाई प्राथमिकता दिनुपर्ने सुझाव आएका छन्।”