• ३ पुस २०८१, बुधबार

प्रधानमन्त्रीका विरुद्ध भ्रामक प्रचार गर्नेलाई कारबाही गर्न प्रेस चौतारीका महासचिवको माग

blog

काठमाडौँ, पुस ३ गते । नेकपा एमाले तथा त्यसको नेतृत्वका विरुद्ध लगातार भ्रम फिँजाउने तत्त्व नियोजित रूपमा लागेको भन्दै प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले उनीहरू माथि कारबाहीको माग गर्नुभएको छ । 

नेकपा एमाले र सो पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी ओलीविरुद्ध सामाजिक सञ्जालमार्फत अनेक खालका भ्रम फैलाउने कार्य निरन्तर भइरहेका छन् । सोही क्रममा विभिन्न ठाउँका भिडियोहरू जोडेर मङ्गलवार एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीमाथि काभ्रेमा दुर्व्यवहार प्रयास भन्दै सामाजिक सञ्जालमा केहीले भ्रम फिँजाउने प्रयास गरेपछि महासचिव लामाले कारबाहीको माग गर्नुभएको हो । 

मङ्गलवार दिनभरि ललितपुर महानगरपालिकाको कार्यक्रममा रहनुभएका प्रधानमन्त्री ओली काभ्रे जानुभएको र उहाँ माथि दुर्व्यवहार प्रयास भएको भन्दै सामाजिक सञ्जालमार्फत भ्रम फिँजाउने कोसिस भएको छ । प्रधानमन्त्री ओली मङ्गलवार ललितपुर महानगरपालिकाको १ सय ६ औँ स्थापना दिवसको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो । 

प्रधानमन्त्री ओलीको आज काभ्रेमा कुनै कार्यक्रम नरहेको र उहाँ त्यहाँ नजानु भएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ । यसले यो कार्य उहाँ र एमालेविरुद्ध फैलाइएकाे भ्रम हो भन्न पुष्टि भएको छ । 

प्रेस चौतारी नेपालका महासचिव  काभ्रेका पत्रकार लामाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको आज काभ्रेपलान्चोक जिल्लामा कुनै कार्यक्रम नभएको बताउनुभयो । ‘सामाजिक सञ्जालमा फैलाइएका तथ्यहीन र भ्रमपूर्ण समाचारप्रति खेद व्यक्त गर्दछु, षडयन्त्रपूर्ण ढङ्गले गलत सूचना प्रवाह गर्नेहरूउपर हदैसम्मको कानुनी कारबाहीको माग गर्दछु’, लामाले भन्नुभयो ।