• ९ पुस २०८१, मङ्गलबार

अलपत्र पर्दै रामायण भवन

blog

भानु जन्मस्थल चुँदी रम्घामा निर्माण गरिएको रामायण भवन । तस्बीर : अमरराज नहर्की

तनहुँ समाचारदाता

तनहुँ, पुस ४ गते । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका–४, चुँदीरम्घामा निर्माण गरिएको रामायण भवन प्रयोगमा नआउँदै अस्तित्व गुमाउने अवस्थामा पुगेको छ । यो भवन चार वर्षदेखि अलपत्र परेको छ ।  

दुई करोड ५० लाख रुपियाँमा निर्माण गरिएको भवन प्रयोगमा नआउँदा ताला लगाइएको छ । भानुभक्त सम्बद्ध स्थल, खोज, अनुसन्धान, संरक्षण, प्रवर्धन र प्रचारप्रसार गर्नेलगायतका उद्देश्यका साथ भवन निर्माण गरे पनि प्रयोगमा भने आउन सकेको छैन ।  नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थानलाई भाषिक तथा साहित्यिक केन्द्र बनाउने उद्देश्यले रामायण भवन निर्माण गरे पनि यसको संरक्षण र प्रयोगमा अझै  ध्यान पुगेको छैन । 

संरक्षण नहुँदा पछिल्ला समयमा काठलाई धमिराले खाने, भवनका सामान चोरी हुने, तोडफोड हुने, युवकयुवती बस्ने र स्थानीय बासिन्दाले गफ गर्ने स्थलका रूपमा प्रयोग भएकोमा दुःख लागेको भानु नगरपालिका–५, पुरनडिही निवासी भरत पोख्रेलले जानकारी दिनुभयो  । 

सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभाग मातहतमा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले रामायण भवन निर्माण गरेको हो । करिब १० रोपनी क्षेत्रफलभित्र भानुगृह, आवासगृह, चमेनागृह, पुस्तकालय, शौचालय, पोखरीलगायत संरचना निर्माण गर्ने गुरुयोजना भए पनि हाल अलपत्र अवस्थामा छ ।