• ७ असोज २०८०, आइतबार

जीवन सहज बनाउन कलाको उत्पत्ति भएको हो : मन्त्री किराती

blog

काठमाडौं, वैशाख १० गते । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो १३औँ वार्षिकोत्सव मनाएको छ । आइतबार प्रतिस्थानले आफ्नो प्राङ्गणमा एक कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो । 

कार्यक्रममा सांस्कृतिक कार्यक्रमस्वरुप उदिराम खड्काले मयुर नृत्य,  प्राज्ञ शान्ति कठायत तथा समूलले देशभक्ति गीतमा नृत्य, वरिष्ठ लोक गायक राजु परियारले लोक गीत, प्राज्ञ परिषद सदस्य टिका पुनले लोक गीत तथा डक्टर किरात राई को संयोजनमा कलाकारहरुले शास्त्रीय यमन राग प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाली साङ्गीतिक क्षेत्रका चुनौतीहरू औँल्याउनुहुँदै आफूमाथि थप जिम्मेवारी आएको र यसरी अप्ठ्यारो परिस्थितिमा गरेका काम अमर रहने बताउनुभयो । उहाँले कला, साहित्य तथा गीत सङ्गीतलाई सचेत अगुवाहरूको समूहको संज्ञा दिँदै नेपाली समाज रूपान्तरणमा कलाको महत्त्वपूर्ण भूमिका रहेकोमा खुसी व्यक्त गर्नुभयो । 

नेपाली समाजको यर्थाथ झल्काउने, विसङ्गति विरुद्ध लड्ने र २१औँ शताब्दीमा पनि कला सङ्गीतले समाजमा ल्याउने परिवर्तनबाट प्रष्ट पार्नुभयो । "कला के का लागि भन्ने विषय हाम्रो धेरै पुरानो बहस हो, कला मनोरञ्जन र जीवनका लागि भन्छन् तर मेरा लागि कला जीवन हो, हजारौँ वर्षअघि जीवन सहज बनाउन कलाको उत्पत्ति भएको हो", संस्कृति तथा पर्यटनमन्त्री किरातीले भन्नुभयो । 

यस्तै, उहाँले सङ्गीतमार्फत जनतालाई जगाउने अभियानले गणतन्त्र स्थापना गर्न महत्वपूर्ण योगदान पुर्याएको बताउनुहुँदै संस्कृतिको क्षेत्रमा ठूलो अभियान चलाउन नीति तथा कार्यक्रममा नयाँ विषयमा जोड दिनसमेत प्रतिबद्धता जनाउनुभयो । उहाँले नेपाली पर्यटन नेपालीपन कै हुनुपर्ने र हामीले यसमा सिर्जनात्मक ढङ्गले नयाँ नयाँ आयामहरु थप्दै जान आजको दिनलाई ध्यान दिन जरुरी रहेको बताउनुभयो । 

यस्तै, कार्यक्रममा गायक तथा सङ्गीतकार सुरेश अधिकारीले साङ्गीतिक क्षेत्र उठ्न नसकेका राज्य समृद्ध हुननसक्नेमा जोड दिनुभयो । "नेपाली सङ्गीत र साहित्य अन्तर्राष्ट्रिय स्तरमा पुग्न सकेको छैन, भौतिक संरचनामा धेरै खर्च गदैगर्दा रैथाने संस्कृतिप्रति राज्यको लगानी धेरै कम छ", उहाँले भन्नुभयो । 

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छाली, भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर, म्यूजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्मा, वरिष्ठ नृत्यकार भैरवबहादुर थापा, तथा वरिष्ठ सङ्गीतकारले संस्कृति मन्त्रालयलाई छुट्टै मन्त्रालयका रुपमा स्थापति गर्नुपर्नेमा जोड दिनुभयो ।  

कार्यक्रममा कुलपति निशा शर्माले आगामी कार्यक्रम तथा योजनाहरूका बारेमा बताउनुहुँदै आफूहरूसँग सङ्गीत तथा नाटकलाई गतिशील बनाउने बजेटको अभाव रहेको बताउनुभयो । यसबाहेक प्रतिष्ठानको आफ्नो छुट्टै हल निर्माण गर्न सकिएमा कलाका विभिन्न माध्यम लगायत परम्परागत गीत सङ्गीतका विभिन्न आयामहरू प्रस्तुत गर्न सकिनेमा जोड दिनुभयो । 

कार्यक्रममा गीत, सङ्गीत प्रस्तुतिका साथै नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार पाउने व्यक्तिहरूको नाम सार्वजनिक गरिएको थियो । जसअनुसार रङ्गमञ्च निर्देशक भैरव क्षेत्री, लोक नृत्य विधामा कुलमान नेपाली, शास्त्रीय तथा परम्परागत सङ्गीतबाट विजयकुमार श्रेष्ठ, लोक सङ्गीत गायनबाट नवीन किशोर राई, नाट्य विधामा प्राध्यापक डा. रामचन्द्र पोखरेल, सङ्गीत विधामा गणेश रसिकलाई पुरस्कृत गरिने भएको छ ।

यस्तै, कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा आजीवन योगदान सम्मान पुरस्कारसमेत दिने घोषणा गरिएको हो । 

Author
सनम महर्जन

उहाँ कला, संस्कृति र मनोरञ्जन विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।