सिराज खान
नेपालगन्ज, कात्तिक ५ गते । बाँके जिल्लामा करिब एक महिनाको अवधीमा एक हजार भन्दा बढी मतदाता थपिएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली अध्याबधिक गर्ने कार्य जिल्लामा शुरु गरिएपछि एक हजार ४७ जना नयाँ मतदाता थपिएको र यो क्रम जारी रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।
निर्वाचन कार्यालय बाँकेका निर्वाचन अधिकारी टेकबहादुर शाहीले जेनजी आन्दोलनपछि गत असोज ६ गतेबाट सुरु गरिएको मतदाता नामावली संकलन कार्यबाट बाँकेमा असोज मसान्तसम्म एक हजार ४७ जना नयाँ मतदाता थपिएको बताउनुभयो ।
यसरी थपिएका नयाँ मतदाताहरुमा अधिकांश युवाहरु नै रहेको पनि उहाँले जानकारी गराउनुभयो ।
मतदाता नामावली अद्यावधिका लागि अनलाइनमार्फत निवेदन आइरहेको उल्लेख गर्दै निर्वाचन अधिकारी शाहीले बाँकेमा तीन लाख ३३ हजार ९३४ मतदाता रहेको बताउनुभयो । तीे मतदातामध्ये एक लाख ६९ हजार ८७६ पुरुष, एक लाख ६४ हजार ४९ महिला तथा नौ जना अन्य मतदाता रहेका छन् ।
नयाँ नाम दर्तासँगै अद्यावधिक गर्ने, त्रुटि सच्चाउने, स्थान स्थानान्तरणलगायतका काम अनलाइनमार्फत पनि भइरहेको जानकारी दिँदै अधिकारी शाहीले असोज महिनाको मसान्तसम्मको अवधिमा ६१ जनाको अद्यावधिक गर्ने तथा त्रुटि सच्चाउने काम भएको र ५७ जनाको ठाउँ सारिएको बताउनुभयो ।
मतदाता नामावलीमा नाम दर्ता गराउनेमा नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका युवाहरु अधिकांश रहेका छन । मतदाता नामावलीको लागि फोटोखिच्न जिल्ला निर्वाचन कार्यालयमै जानुपर्ने प्रवाधान रहेको छ ।
जिल्ला निर्वाचन कार्यालय बाँकेले मतदाता नामावली दर्ताका लागि आवश्यक कागजात नेपाली नागरिकताको प्रमाणपत्र, विवाह भई आएमा विवाहको प्रमाणपत्र, बाहिरी जिल्लाकालाई समेत कागजातका आधारमा दर्ता गर्न सकिने भनेर शुरुमै स्थानीय तहहरुलाई आग्रह गरेको थियो ।