• ८ वैशाख २०८१, शनिबार

कमजोर कथा, फिक्का प्रस्तुति

blog

काठमाडौँ, वैशाख १० गते  । बलिउडमा साउथ चलचित्रको रिमेक बनाउने चलन कुनै नौलो होइन । अहिले बलिउडका प्रायः चलचित्रहरू पनि रिमेक बनिरहेका छन् । एउटा समय यस्तो पनि थियो निकै कम दर्शकलाई मात्र थाहा हुन्थ्यो कि बलिउड चलचित्र साउथको रिमेक हो । त्यति बेला साउथ चलचित्रको हिन्दी संस्करण पनि खासै उपलब्ध हुँदैनथ्यो तर कोभिड–१९ को समयमा जब दर्शकले ओटीटी र युट्युबमा साउथ चलचित्रको हिन्दी रिमेकलाई मन पराएर हेर्न थाले त्यसपछि बलिउडमा साउथ चलचित्रको रिमेक बनाउनेहरूको लाइन लाग्न थाल्यो । त्यसैले पनि अहिले दर्शकलाई साउथ चलचित्रको हिन्दी रिमेक प्रदर्शन हुनुअघि नै त्यो कुन साउथ चलचित्रको रिमेक हो भन्ने थाहा भइहाल्छ ।

सलमान खान अभिनित ‘किसी का भाइ किसी की जान’ पनि तमिलका चर्चित कलाकार अजितकुमारको २०१४ मा प्रदर्शनमा आएको चलचित्र ‘वीरम’को रिमेक हो । चलचित्रको नाम  जस्तै यसको निर्माण पूर्वको कथा पनि निकै रोचक छ । चलचित्रका निर्देशक फरहाद सामजी अक्षयकुमारसँग ‘बच्चन पाण्डे’ बनाएर हिन्दीमा ‘वीरम’ बनाउन चाहन्थे तर पछि उनले अर्को तमिल चलचित्र ‘जिगरथण्डा’मा ‘बच्चन पाण्डे’ बनाएर चलचित्र खासै चलेन । त्यसपछि फरहाद सामजीले सलमानलाई ‘वीरम’ को कथा सुनाएर उनलाई कथा यति मन प-यो कि उनले यसलाई ‘कभी इद कभी दिवाली’ शीर्षकको चलचित्र बनाउने घोषणा गरे, जुन अन्ततः ‘किसी का भाइ किसी की जान’ चलचित्र बन्यो । 

सलमानको यस चलचित्रको कथा साउथको ‘वीरम’ को जस्तै छ । भाइजान (सलमान खान) आफ्ना तीन जना भाइको रेखदेख गर्नुपर्ने हुनाले विवाह नगरी बसेका हुन्छन् । वास्तवमा उनका यी तीन भाइ आफ्नै आमाको कोखबाट जन्मिएका पनि हुँदैनन् उनले तीन अनाथ बालबालिकालाई आफ्नै भाइको दर्जा दिएर  हुर्काएका हुन्छन् । भाइजान आफू पनि विवाह गर्दैनन् र आफ्ना भाइहरूको विवाहको पनि विरुद्धमा हुन्छन् । उनी चाहन्छन् कि उनको भाइहरूबीच अरू कोही नआओस् तर भाइजानका भाइहरू विवाह गर्न चाहन्छन् र यसका लागि उनीहरूले धेरै प्रयास गर्छन् । 

त्यस्तैमा चलचित्रमा हैदरावादकी भाग्यलक्ष्मी (पूजा हेगडे) भाइजानको जीवनमा प्रवेश गर्छिन् । भाग्यलक्ष्मी भाइजानलाई मन पराउँछिन् तर भाइजान उनीबाट टाढा भाग्छन् । अन्ततः विस्तारै विस्तारै भाइजानलाई पनि भाग्यलक्ष्मी मन पर्न थाल्छ । यता भाग्यलक्ष्मीको जेठो भाइ अन्नय (वेंकटेश दग्गुबाती) समस्यामा परेको भाइजानले थाहा पाउँछन् । त्यसपछि भाइजान र उनका भाइहरू भाग्यलक्ष्मीको परिवारलाई मद्दत गर्न पुग्छन् । यसपछि चलचित्रमा कथाले अनेकन मोड लिन्छ । भाइजान र भाग्लक्ष्मीको प्रेमको कथालाई मुख्य विषय बनाइएको चलचित्र भाइजानको भाइहरूको विवाहको विषय कथामा समाहित छ । 

चलचित्रको कथामा खासै तुक छैन । ‘पुरानो बोतलमा नयाँ रक्सी’ भनेझै चलचित्रको कथा पुरानै शैलीको छ । चलचित्रका निर्देशक फरहाद सामजीले १० वर्ष पुरानो कथामा निकै कमजोर चलचित्र बनाएका छन् । दर्शकलाई चलचित्रको साढे दुई घन्टा अवधि कटाउन निकै धौधौ हुन्छ । चलचित्रमा मसला धेरै कम छ । सलमानकै निर्माणमा बनेको यस चलचित्रमा उनले ठूलो कलाकारको अनुहार मात्र बिकाउन खोजेका छन् । सलमानको यस चलचित्रले धेरैको मन खिन्न बनाउने पक्का छ । नयाँ युगअनुसार चलचित्रको कथा बेकार मात्र नभई चलचित्रको गीतमा सलमानलाई खासै सुहाएको छैन । चलचित्रको ‘नियो लग्दा’ र ‘बिल्ली बिल्ली’ गीत हिट भए पनि बाँकी गीतले खासै दर्शकको मन छुँदैन । 

चलचित्रमा सलमानको अभिनयमा खासै नयाँपन छैन । उही पुरानो ढर्राको अभिनयमा सलमान प्रस्तुत भएका छन् । नायिका पूजा हेगडे फेरि बलिउडमा अर्को हिटका लागि सङ्घर्ष गरिरहेको देखिएकी छिन् । यद्यपि साउथ कलाकार वेंकटेश र जगपति बाबुको अभिनयले दर्शकको मन जित्न सक्छ । चलचित्रका अन्य कलाकारको अभिनयले पनि दर्शकलाई खासै खुसी बनाउन सकेका छैनन् ।