ऊ कताबाट आइपुग्यो कुन्नि ! चुनावमा उठेको छ रे, हाम्र्रै निर्वाचन क्षेत्रबाट । ऊ हाम्रो नेता हो रे ।
परिवर्तन ल्याउन अरुले नसक्ने, उसले मात्र सक्ने दाबीका साथ कुर्लंदै थियो – ‘गरिब, निमुखालाई उँभो लगाउने तत्व, मन्त्र र संयन्त्र मसँग छ ।’ उबले रुद्रघण्टी उचाल्दै फलाक्यो – ‘म ढिँडो खानेलाई खिरखाने र खिरखानेलाई ढिँडो खाने बनाइ दिन सक्छु ।’
बस्, अरु के चाहियो ? तालीले चउर र वरिपरिका पाखा–पखेरा पाँच मिनेटसम्म घन्किए । तब न नेता ! धनी भनाउँदाहरू खिस्रिक्क परे, निन्याउरो मुख लगाए ।
ढिँडो खाँदाखाँदा वाक्क भएका गुमाने काका हातले नाक उचाल्दै भने – ‘अब हाम्रा पथ्य्रान बारीमा कोदो होइन, धान फल्ने भो ।’ माने दाइले अझै निश्चिन्तता जाहेर गरे – ‘हाम्रा लुते, खिरिला गाई जर्सीगाई हुने भए, दुधको खोलो लाग्ने भयो ।’ मनसरा आँबैले तीनतिर हड्डी उठेका भैँसीलाई देखाएर थपिन् – ‘खालि हुसेर्न मात्रै जानेका, कल्चौँडो भर्न नजानेका यी डाम्नाहरू गुज्राते हुने भए ।’ हा हा हा – खुसीको हाँसो गुन्जियो ।
यस्तो भगवानतुल्य नेता कहाँबाट आइपुग्यो, आश्चर्य !!! सबै दङ्दास ।
नेता बिबिचमा भन्दै थियो – ‘मलाई जिताउनोस्, खिर खानोस् ।’
लौ अब दुःखका दिन सकिए – सत्तरी वरपनका बाजे कस्सिए ।
गाउँमा मिटिङ् बस्यो । तीस पैंतीसको उमेरदेखि नै झुर्री अनुहार बोकेका दाइभाउजू, काकाकाकी, बाजेबज्यै सबैले उत्साह भर्दै निर्णय गरे – भोट अब अरु कसैलाई जान्दैन ।
चुनाव भयो । अरु कसले जित्नु ? उसैले खनमन–ख्वात्तै भोट कुम्ल्यायो । आफ्ना गाउँकालाई भोट नदिएर परचक्रीलाई दिने भनेर त्यहाँका ठालुले गाउँलेलाई हदैसम्म थुरे । तर खिरका अगाडि ढिँडोेको के लाग्थ्यो र?
चुनाव जितेको वर्ष दिन भइसक्यो, नेताको पत्तो छैन । वर्षदिनको खिर खेर गइसक्यो । साह्रै कर गरेर नेतालाई गाउँमा ल्याइयो । भव्य स्वागत भयो । मालाले अनुहार पुरियो । मान्छे हो कि फुलको थुप्रो छुट्याउन गाह्रो भो । सबैले मुख मिठ्याएर सोधे – ‘ल नेताज्यू ! हामीलाई खिरखाने कहिले बनाउने? तपाईको तत्व, मन्त्र र संयन्त्र के हो ?’
नेता सबैलाई धन्यवाद दिँंदै बडोे संयमतापूर्बक बोल्न लाग्यो । गाउँलेका अनुहारमा खुसीका तरङ्गहरू देखिन थाले ।
अन्त्यमा नेताले रहस्य खोल्यो – ‘अब आजैदेखि ढिँडोेको नाम बदलेर खिर राखौँ र खिरको नाम ढिँडोे । अब भन्नोस्, ढिँडो खानेले खिर खाने भएन त ?’
गाउँलेहरू यसपटक पनि फेरि अर्को नेताको तुकबन्दी–जालमा परे ।