• ९ मंसिर २०८२, मङ्गलबार

सीताकुण्डमा विवाह उत्सव

blog

रामपुर समाचारदाता

रामपुर (पाल्पा), मङ्सिर ९ गते । पाल्पाको रामपुर नगरपालिका–३, स्थित पवित्र धार्मिक स्थल सीताकुण्डमा मङ्गलबार राम–सीता विवाह उत्सव हुँदै छ । नगरभित्र रहेका भगवान् राम र सीतासँग सम्बन्धित धार्मिक स्थलको महत्व उजार गर्न रामपुर नगरपालिकाले विवाह उत्सव मनाउन लागेको हो । 

त्रेतायुगमा भगवान् रामले वनवासका क्रममा रामपुर क्षेत्रमा विचरण गरेको भन्ने धार्मिक आस्थाका आधारमा रामपुर नगरपालिको नामकरण गरिएको हो । नगरप्रमुख रमणबहादुर थापाले धार्मिक तथा सांस्कृतिक महत्वका बारेमा जानकारी दिनुका साथै धार्मिक स्थलको उत्थानका लागि विवाह उत्सव मनाउने तयारी गरिएको बताउनुभयो । रामपुर–५, रामघाटबाट बरियात सीताकुण्ड जाने वडा नं. ३ तथा ४ का स्थानीय र सरोकारवालाले माइती पक्षका रूपमा स्वागत गर्ने कार्यक्रम छ । धार्मिक व्यक्तित्व सन्दीप रानाले स्कन्दपुराण, आनन्द रामायण र कालिदासको मेघदूतमा समेत सीताकुण्डका बारेमा उल्लेख भएको बताउनुभयो । 

रामपुर–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले पन्चैबाजासहित रामपुर नगरभित्रका १३ भन्दा बढी जातजातिको सांस्कृतिक झाँकी लिएर सीताकुण्ड जाने तयारी गरिएको बताउनुभयो । सीताकुण्ड मन्दिर व्यवस्थापन समितिका  अध्यक्ष तीर्थबहादुर थापाले मन्दिरमा आउनुहुने जन्तसहितका भक्तजनको स्वागतका लागि आवश्यक तयारी सम्पन्न भएको जानकारी दिनुभयो । पण्डित हरिप्रसाद खनालका अनुसार बिहान रामघाटमा यज्ञपश्चात् ९ बजे चौरासी पूजासहित प्रतीकात्मक कुसको बेहुला लिएर जन्त ज्येष्ठ नागरिकबाट आशीर्वाद लिई निस्किने, राममन्दिरबाट सगुन ग्रहण गरी महन्त, वटुक, पण्डितसहितको टोली पैदल हिँडेर सीताकुण्ड जाने कार्यक्रम छ । सीताकुण्डमा माइती पक्षको स्वागतपश्चात् कुण्डमा वैदिक विधिपूर्वक विवाह सम्पन्न हुने छ ।