• ५ वैशाख २०८१, बुधबार

मनाइयो मातातीर्थ औँसी

blog

काठमाडौँ, वैशाख ८ गते । आमालाई साक्षात् भगवान्कै रूपमा वर्णन गरिँदै ‘मातृ देवो भव’ भनिएको छ । आमा त्यो हो, जसले शिशुलाई गर्भधारण मात्र गर्दिनन् उसको लालनपालनदेखि जीवनका हरेक उतारचढावमा निःस्वार्थ रूपमा सहभागी हुन्छिन् । तिनै आमालाई सम्झिने पर्वका रूपमा देशभरि बिहीबार मातातीर्थ औँसी मनाइएको छ । 

आमा हुने छोराछोरीले भेटेरै मिठो खानेकुरा, उपहार प्रदान गरेर माया साटासाट गरी यो पर्व मनाउँछन । टाढा भएका सन्तानहरूले फोन तथा सामाजिक सञ्जालमार्फत आमालाई सम्झँदै आएका छन्, जुन यस पटक पनि विभिन्न सामाजिक सञ्जालमा आमाप्रति राखिएको भक्तिभावले झल्काउँछ । आमा नहुनेहरूले काठमाडौँको मातातीर्थमा विशेष रूपमा पितृमाताको सम्झना गर्छन् । यस्तै पवित्र तीर्थस्थलहरूमा गएर आमालाई सम्झन्छन् । आमा नभएकाहरूले औँसीको अघिल्लो दिन काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा बिहानै स्नान गरी तर्पण दिएका छन् । सो दिन आमाको श्राद्ध गर्ने तथा दान दक्षिणा गर्ने पनि चलन छ । 

यस वर्ष पनि मातातीर्थमा उल्लेख्य मात्रामा श्रद्धालुहरूको घुइँचो लाग्यो । मातातीर्थ संरक्षण तथा विकास संस्थाका अनुसार करिब पाँच लाख श्रद्धालुले यस पटक यहाँ मेला भरेको अनुमान छ । श्रद्धालुलाई व्यवस्थित रूपमा कुण्डमा स्नान गर्ने व्यवस्था पनि संस्थाले मिलाइएको थियो । काठमाडौँबाट करिब १२ किलोमिटर दक्षिणतर्फको दूरीमा पर्ने उक्त स्थानमा काठमाडौँ तथा त्यस वरपर क्षेत्रबाट समेत मेला भर्न भक्तजन आएका थिए । प्राचीन समयमा स्थानीय एक ग्वालाले गाई चराइरहेका बेला प्यास लागेर पानी पिउन जाने क्रममा कुण्डमा आजको दिन आफ्नो दिवङ्गत आमाको मुख देखेपछि त्यहाँ दर्शन गर्ने परम्परा सुरु भएको जनविश्वास छ । 

प्राचीन महत्वको इतिहास रहेको त्यस क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्नुपर्ने बताउँदै स्थानीय प्रकाश दानीले दर्शनका लागि हजारौँको सङ्ख्यामा भक्तजन आएको जानकारी दिनुभयो । आमाको स्नेह र प्रेमले नै सन्तानको उन्नति हुनाले मातृशक्तिको विशेषता झल्काउन यो पर्व मनाउन थालिएको संस्कृतिविद् गोविन्द टन्डन बताउनुहुन्छ । । आमाले आफ्नो शरीरको अंशबाट छुट्याएर सन्तानलाई जन्म दिनुभएको हुन्छ, उहाँले भन्नुहुन्छ, “नौ महिना आफ्नो कोखमा पालेर प्रसव पीडा भोगेर सन्तानलाई संसार देखाउनुहुन्छ । आमाको दूधको भारा कहिल्यै उठाउन सकिन्न त्यसले यो दिन सबैको लागि विशेष हुन्छ ।”

‘आमा भएर बोकी हेर सन्तानका खुसीहरू...’ भन्ने तारादेवीको गीतले पनि आमाको महìव झल्काउँछ । मातृप्रेमको ऋण तिर्न नसकिए पनि आमाले गरेको मायाको स्मरणका लागि यो पर्व मनाइने गरेको संस्कृतिविद्हरूको भनाइ छ । अहिलेको आधुनिक र व्यस्त समाजमा यसको महìव अझै बढेको छ । पढाइ, जागिरको सिलसिलामा सन्तानहरू घरबाहिर बस्ने गर्दछन् । त्यस्तै आधुनिक समाजको एकल परिवार ढाँचाले वृद्ध बाबुआमालाई छोराछोरीसँग राखेको हुँदैन । कतिपयले वृद्ध भएको आमाबाबुलाई आश्रममा लगेर राख्ने गरेका छन् । औँसी मनाउने चलनले टाढा भएका सन्तानलाई एक दिन भए पनि आफ्ना आमालाई स्मरण गराउने भेट्ने बाटो खुलाएको छ । आमालाई पनि सन्तानको मुख हेर्ने अवसर मिल्ने भएकाले अहिले आधुनिक समयमा यस पर्वको अझै महत्व बढेको छ, समाजसेवी ममता अधिकारीको भनाइ छ । यद्यपि मातातीर्थ औँसी हिजोआज भड्किलो हुँदै गएको पाइन्छ । आमाप्रति गरिने सद्भाव र सम्मानभन्दा पनि देखावटी र सामानका पोका घरमा लैजाने प्रवृत्ति भने बढेको देख्न सकिन्छ ।