• १२ साउन २०८१, शनिबार

दर्शकको रोजाइमा मौलिक चलचित्र

blog

काठमाडौँ, वैशाख ६ गते । केही समयअघिसम्म नेपाली चलचित्र भनेपछि दर्शक नाक खुम्च्याउँथे तर आज त्यो अवस्थामा निकै सुधार भएको छ । पछिल्लो समय नेपाली चलचित्रहरूले आफ्नै कथावस्तु पस्कन थालेपछि चलचित्र हलहरूमा दर्शकको उपस्थितिमा निकै बढ्न थालेको देखिन्छ । मौलिक नेपाली कथावस्तुको गहिराइमा कलाकारहरूको उत्कृष्ट अभिनय हुन थालेपछि  नेपाली दर्शकको रोजाइ पनि हिन्दी चलचित्रबाट नेपालीतर्फ बढ्न थालेको हो । 

पछिल्लो समय नेपाली चलचित्र हेर्न जाँदा टिकट नपाएर फर्कनुपर्ने अवस्था आउन थालेको छ । यसको उदाहरण पछिल्लो वर्ष प्रदर्शनमा आएको चलचित्र छक्का पञ्जा–४ लाई लिन सकिन्छ । राजनीतिक कथावस्तु समेटिएको चलचित्रले राम्रो व्यापार मात्र गरेन चलचित्रले छिटै ५१ दिन मनाउने तरखरमा छ । चलचित्र छक्का पञ्जा ४ मात्र होइन, कुनै समय ‘लुट’ पनि निक्कै लोकप्रिय हुनपुगेको थियो । अहिले चलचित्र ‘जारी’ले दर्शकको निकै राम्रो साथ पाइरहेको छ । यस्ता चलचित्रको आम्दानी पनि नेपाली परिवेशमा राम्रो साबित हुनपुग्यो । चलचित्रको कथावस्तु र कलाकार छनोटका कारण ‘जारी’ उत्कृष्टको दर्जामा पुग्न सफल भएको विश्लेषण भइरहेको छ ।  

त्यस्तै अहिले मौलिक परिवेशलाई नै समातेर बनाइएको चलचित्र महापुरुष र झिँगेदाउ हेर्न पनि दर्शक उत्तिकै मात्रमा हलमा पुगे । नेपाली चलचित्रहरूको कथावस्तु, छायाङ्कन, गीत सङ्गीत र अभिनयलगायत अन्य प्राविधिक दृष्टिकोणले पनि स्तरीय हुँदै गएको दर्शकहरूको प्रतिक्रिया आउन थालेको छ ।  ती सबै पक्षलाई उत्कृष्ट बनाउन निर्देशकहरूले पनि राम्रै मेहनत गरेको देखिन्छ । 

निर्देशक दीपेन्द्र लामा भन्नुहुन्छ “कुनै समय निर्माताको चाहनामा सबै काम गर्नुपथ्र्यो । जसका कारण धेरै पक्षमा सम्झौता गरेर अगाडि बढ्नु पथ्र्यो तर अहिले निर्देशकहरूकै तजबिजमा चलचित्र बन्ने गर्छन् । कथाले मागेअनुसारको पात्र छनोट गर्न थालिएको छ । यसले नयाँ नयाँ कलाकार प्रोत्साहन दिएको छ । कलाकारको छनोटदेखि, छायाङ्कन स्थल, गीत सङ्गीतको छनोट, भेषभूषा र सम्पादनसम्मको काममा निर्देशकहरू व्यावसायिक ढङ्गबाट अगाडि बढ्न थालेका छन् ।” अर्का निर्देशक दीपेन्द्र के खनाल कलात्मक र व्यावसायिक हिसाबले अहिले नेपाली चलचित्रहरूले राम्रो बाटो समातेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “अहिले निर्देशक/निर्माताहरूले दर्शकको स्वाद बुझ्न थाल्नुभएको छ । कस्तो कथावस्तुभएको चलचित्र पस्कँदा दर्शक तान्न सकिन्छ भन्ने कुरालाई उहाँहरूले ध्यानमा राख्न थाल्नुभएको छ ।”

नेपाली चलचित्रहरूमा पछिल्लो समय नाट्य क्षेत्रमा काम गरेका कालाकारहरूको वर्चस्व पनि बढ्दै गएको छ । कलाकार दयाहाङ राईदेखि विपिन कार्कीसम्म यसका जीवन्त उदाहरण हुन् । नाट्य क्षेत्रका कलाकारहरूले नै नेपाली चलचित्र क्षेत्रलाई बचाउने काम गरेको भन्ने धेरैको बुझाइ छ । नेपाली चलचित्रको धार विस्तारै परिवर्तन हुँदै गइरहेको  र यसलाई अझ परिस्कृत गर्दै लैजानुपर्ने सुझाव दर्शकहरूको रहने गरेको छ ।