• ११ मंसिर २०८१, मङ्गलबार

चलचित्र समिक्षा

पालम नाचेपछि...!

blog

काठमाडौँ, वैशाख ५ गते । नेपाली समाजमा ‘जार’ शब्दले आफ्नी श्रीमती भगाउने व्यक्तिलाई बुझाउँछ । अर्काकी श्रीमती भगाउनेले जसको श्रीमती भगाएको हो, उसलाई तिर्नुपर्ने रकमलाई जारी भनिन्छ । यही विषयवस्तुमा आधारित भएर चलचित्र ‘जारी’ बनेको छ ।

यस चलचित्रको मुख्य पात्रहरू नामसाङ (दयाहाङ राई), हाङमा (मिरुना मगर) विवाहित जोडी हुन् । दुवै लिम्बू समुदायका हुन् । नामसाङ सधैँ श्रीमतीसँग झगडा मात्र गरिरहन्छन् । त्यसमाथि बिहे गरेको पाँच वर्षसम्म सन्तान नभएकोमा उनी श्रीमतीसँग रुष्ट पनि छन् । यही निहुँमा बारम्बार उनीहरूबीच झगडा भइरहन्छ । एक दिन श्रीमान्को झगडालु व्यवहार सहन नसकेर हङमा घर छोडेर माइत जान्छिन् । यता नामसाङ पनि उनलाई लिन जाँदैनन् ।

माइत बस्ने क्रमम गाउँमा लागेको मेलामा हङमाको भेट सेराङ (रोय)सँग हुन्छ र सेराङले मेलामा गाइएको ‘पालम’ मा जितेर हाङमालाई आफ्नो बनाउँछन् । बिहे गर्छन् । यता नामसाङको परिवारले यो सबै कुरा थाहा पाएपछि जारी उठाउन हाङमाको माइती पुग्छन् । नामसाङले मागेको रकम हाङमाको माइती पक्षले तिर्न सक्दैन । अन्त्यमा हाङमा स्वयं नामसाङको घरमा ‘नोकर’ बस्न तयार हुन्छिन् । यही हो चलचित्रको सुरुवाती कथा, जुन मध्यान्तरअघिको यो कथालाई हामीले ट्रेलरमा हेरिसकेका थियौँ । 

यसपछि चलचित्रको कथाले नयाँ मोड लिन्छ । चलचित्र रोचक बन्दै जान्छ । के हाङमाले नामसाङलाई जारी तिर्न सक्छिन् ? यो नै चलचित्रभित्र उठाइएको मुख्य विषय बनेको छ । चलचित्र मध्यान्तरपछि पनि धेरै रमाइलो बनेको छ । नामसाङ र हाङमाबीचको झगडा उत्कर्षमा पुग्छ । चलचित्रमा मनोरञ्जनका खुराक धेरै छन् । कलाकारको मन छुने खालका संवाद र लवज तथा रोचक घटनाले दर्शकलाई सिनेमाघरभित्र दुई घण्टा सजिलै रोकेर राख्न सक्छ । 

चलचित्रको मुख्य पाटो भनेको ‘पालम’ हो । लिम्बू समुदायको ‘पालम’ गीतले चलचित्रको कथाभित्र ठूलो भूमिका खेलेको छ । जति सुन्दा पनि सुनिरहौँ लाग्ने पालमले लिम्बू समुदायमा कति महत्व राख्छ छ भन्ने विषय चलचित्रले प्रस्ट्याएको छ । निर्देशक उपेन्द्र सुब्बाको निर्देशकीय पक्षको जति तारिफ गरे पनि कम हुन्छ । उहाँले नै यस चलचित्रको कथा–पटकथा लेख्नु भएको हो । गाउँमा बसोबास गर्नेको वेशभूषादेखि लिएर उनीहरूले बोल्ने संवाद चलचित्रमा जस्ताको तस्तै छ । चलचित्रको सङ्गीतले पनि अवश्य नै दर्शकको मन छुन्छ । 

अभिनयको हिसाबले यो चलचित्रबाट दयाहाङले ठूलै फड्को मार्नु भएको छ । अन्य चलचित्रभन्दा यसमा उहाँको अभिनय धेरै माथि छ । चलचित्रभित्र उहाँको मेहनत झल्किएको छ । रिसाहा र कारुणिक दुवै खालका भूमिकामा उहाँ अब्बल ठहरिनुभएको छ । अभिनेत्री मिरुना मगरले निकै सशक्त भूमिकामा प्रस्तुत गर्नुभएको छ । चलचित्रमा उहाँको अभिनय हेर्दा केही समयका लागि भए पनि दर्शकको आँखा रसाउँछ । चलचित्रका अर्का सम्झिनै पर्ने पात्र हुनुहुन्छ– विजय बराल ।  उहाँले दयाहाङको साथीका रूपमा अभिनय गर्नुभएको छ । चलचित्रमा बरालको गेटअप अन्य चलचित्रमा भन्दा बिल्कुलै फरक छ । उहाँ लामो भूमिकामा भने देखिनु भएको छैन तर उहाँले गर्नुभएको अभिनय यादगार छ । अन्य कलाकारको अभिनय पनि बिर्सिनसक्नु नै छ । 

चलचित्रको कमजोर पक्ष भनेको लिम्बू भाषामा संवाद छ, तर भाषा नबुझ्नेका लागि सबटाइटल दिइएको छैन । यस्तै कथाअनुसार गाउँ त देखाइएको छ तर त्यसको नामकरण गरिएको छैन । छायाङ्कन पनि त्यति राम्रो छैन ।