• २७ फागुन २०८१, मङ्गलबार

मुस्ताङमा कोभिड संक्रमण बढ्यो, १३ सक्रिय संक्रमित

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, बैशाख २ गते । हिमालपारिको जिल्ला मुस्ताङमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । पछिल्लो तथ्याङ्कअनुसार जिल्लाभित्र १३ जना सक्रिय सङ्क्रमित देखिएका छन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी एवम् कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका संयोजक अनुप केसीले जिल्लाको घरपझोङ गाउँपालिका, थासाङ गाउँपालिका र बाह्रगुङ मुक्तीक्षेत्र गाउँपालिका एवम् जिल्ला अस्पतालमा कोभिड–१९ का बिरामीहरू रहेको बताउनुभयो । 

जोखिमलाई मध्यनजर गर्दै अहिले उच्च सतर्कता अपनाइएको उहाँको भनाइ छ । स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्ने र अन्य उपायहरू पनि अवलम्बन गर्नेतर्फ ध्यान केन्द्रित गरिएको उहाँले बताउनुभयो । मुस्ताङमा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

जोमसोम बजारकी एक जना महिलामा चैत १२ गते पहिलो पटक कोभिड पुष्टि भएको मुस्ताङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट विशाल तिवारीले बताउनुभयो । घरमा बालबालिका समेत बिरामी भएपछि परीक्षणका लागि जोमसोम अस्पताल आउनुभएकी महिलाको परीक्षण गर्दा कोभिड पुष्टि भएको तिवारीले जानकारी दिनुभयो । 

मुस्ताङ जिल्ला अस्पताल जोमसोममा अहिलेसम्म नयाँ वेबमा दुई जनामा कोभिड पुष्टि भएको र अन्य स्थानीय तहमा भएको परीक्षणमा पहिचान भएको तिवारीको भनाइ छ । स्वास्थ्य कार्यालय मुस्ताङका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामबहादुर नेपालीका अनुसार थासाङ गाउँपालिकामा ६ जना, घरपझोङ गाउँपालिकामा चार जना, बाह्रगुङ मुक्तीक्षेत्र गाउँपालिकामा दुई जना र एक जना जिल्ला अस्पतालमा गरी १३ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो समय १५ जनामा सङ्क्रमण पुष्टि भएको तर सङ्क्रमित भएकामध्ये दुई जना सङ्क्रमणमुक्त भएका छन् ।