शेरबहादुर सार्की
बाजुरा, असार ८ गते । बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका अति दुर्गम गाउँ पाडी पछिल्लो समय सडक सञ्जालसँग जोडिँदै गएको छ।
पाडी गाउँ हिमाली गाउँपालिकाको अति दुर्गम ठाउँमा पर्छ । यो गाउँ लामो समयदेखि सडक सञ्जालको पहुँचमा हुन सकेको थिएन । यहाँका स्थानीयलाई पालिका आउजाउ गर्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज हुनेगरी पालिकाले गत वर्ष सडक निर्माण कार्यलाई पहिलो प्राथमिकता दिएसँगै अहिले यो पाडी गाउँ सडक सञ्जालसँग जोडिएको हो ।
यहाँका स्थानीयलाई पालिका आउन समेत दुई तीन दिन लाग्थ्यो । अहिले पाडी गाउँ सडक सञ्जालले जोडिएसँगै दुइ चार घण्टामै पालिकादेखि घरमा पुग्ने गरेको हिमाली गाउँपालिका-६ का स्थानीय नरजित रावलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले सडक गाउँमै पुगेपछि हामीलाई घरदेखि पालिका जान आउन निकै सहज भएको छ । यसरी सडक पुगेपछि सवारी साधन आउन जान थालेपछि अहिले यहाँका स्थानीयहरूको जीवनशैली समेत बदलिँदै गएको छ ।”
पहिला गाउँमा उत्पादन भएका तरकारी वस्तु कतै बिक्री हुँदैन थिए । अहिले ती वस्तुलाई खरिद गर्नका लागि व्यपारीहरू समेत घरमै पुग्ने गरेका छन् । गाउँमा उत्पादन गरेका फलफुल तथा तरकारी वस्तु समेत अहिले बजारमा लिन समेत निकै सहज भएपछि यहाँका स्थानीयको आर्यआर्जनमा समेत टेवा पुगेको रावलले बताउनुभयो ।
हिमाली गाउँपालिका सदरमुकाम मार्तडीदेखि झण्डै ६५ किलोमिटरकाे दुरीमा पर्छ । यहाँका वडापालिका यो भन्दा अझै ३५ देखि ५० किलोमिटर टाढा छन् ।
पहिला यहाँका स्थानीयलाई वडापालिका आउन समेत चार पाँच घण्टा र पालिकामा आउन जान एक एक दिनको बाटो हिँड्नु पर्थ्याे । अहिले गाउँपालिकाले यहाँका सबै पालिका सडक सञ्जालले जोडिएसँगै यहाँका स्थानीयलाई वडा तथा पालिकामा आउन गाडीमा दुइ चार घण्टाको समय लाग्ने गरेको छ ।
हिमाली गाउँपालिकाले यहाँका दुई तीन वडा बाहेक अन्य सबै वडा सडक सञ्जालको पहुँचमा राख्दै आएको छ । यहाँका अति दुर्गम गाउँ रुगिन विच्छ्या बाहेक अन्य सबै वडापालिकामा सडक पुगाएको छ । यो सडक सञ्जालले अहिले यहाँका स्थानीयलाई एक गाउँ देखि अर्को गाउँ सम्म आउजाउमा समेत निकै सहज भएको छ ।
यहाँ विभिन्न गाउँ बस्ती निकै टाढा रहेकोले यहाँ स्थानीयवासीको पहिलो समस्या भनेकै सडक थियो । यहाँका स्थानीयलाई एक गाउँ देखि अर्को गाउँ सम्म जान दुई चार दिन लाग्थ्यो । अहिले हामीले यहाँका स्थानीय एक गाउँदेखि अर्को बस्तीसम्म जान सहज हुने गरी ती सबै गाउँ बस्तीलाई सडक सञ्जालको पहुँचमा राखेको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादर मल्लले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले यहाँका अधिकाशं वडा सडक सञ्जालको पहुँचमा छन् । यहाँको वडा नं २ र ३ का केही गाउँ बस्तीमा अँझै सडक विस्तार भएको छैन् । ती गाउँ बस्तीमा अहिले पनि सडक खन्ने काम निरन्तर भइरहेको छ । ”
सडक पुगेका गाउँ बस्तीमा अहिले निरन्तर गाडी चल्दै आएका छन् । जसका कारण अहिले यहाँका स्थानीयलाई दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न निकै सहज भएको हिमाली गाउँपालिका अध्यक्ष मल्लले बताउनुभयो ।