लक्ष्मण पौडेल
भैरहवा, असार ८ गते । लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध बैङ्किङ कसुरको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । उहाँ जनमत पार्टीको तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य हुनुहुन्छ ।
जिल्ला अदालत पर्साले जेठ १६ गते नै उहाँ विरुद्ध पक्राउ आदेश जारी गरेपछि पर्सा प्रहरीले असार ३ गते बर्दिया प्रहरीलाई पत्र लेखी रायमाझीलाई पक्राउ गरी बुझाइदिन अनुरोध गरेको हो । प्रहरीको पक्राउ पुर्जी भने आइतबार मात्रै सार्वजनिक भएको हो । सुमन हालसम्म फरार रहेको र उहाँको खोजी जारी रहेको प्रहरीले जनाएको छ । रायमाझीमाथि जनमत पार्टीकै नेतृ आशाकुमारी चौहानले उजुरी दिनुभएको थियो ।
उहाँका अनुसार सुमनले साढे पाँच लाख रुपियाँ सापटी लिनुभएको थियो र उक्त रकम फिर्ता गर्न विभिन्न चेकहरू दिनुभएको थियो । तर ती सबै चेक बाउन्स भएपछि आशाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गर्नुभएको हो । यस प्रकरणमा सुमनमाथि आधा रकम चेक अनादर र आधा बैङ्किङ कसुरअन्तर्गत मुद्दा दायर गरिएको छ ।
आशा र सुमनको चिनजान पार्टीभित्रै भएको बताइएको छ । पर्सामा आयोजना गरिएको एक कार्यक्रममा सहभागी हुन पुग्नुभएकी सुमन केही दिनको बहानामा आशाको घरमै १० दिनसम्म बस्नुभएको थियो । आशाका अनुसार त्यस अवधिमा उहाँले सुमनलाई होटेल खर्च, कपडा र नगद सहयोग समेत गर्नुभएको थियो ।
उहाँले भन्नुभएको छ, “प्रदेशसभा सदस्य भएकाले पैसा पक्कै फिर्ता आउला भन्ने सोचेँ, तर अन्ततः ठगिएको महसुस भयो ।” सुमनले आफू मन्त्री बन्ने तयारीमा रहेको भन्दै विश्वास जित्नुभएको थियो । पटक–पटक पार्टीभित्र कुरा राख्दा पनि कसैले चासो नदेखाएको आशाको गुनासो छ । अन्ततः न्याय खोज्दै उहाँ प्रहरीमा उजुरी गर्न पुग्नुभएको हो ।
लुम्बिनी प्रदेशसभा सदस्य सुमन र उहाँ विरुद्ध जारी भएको पक्राउ पुर्जी । तस्बिर: गोरखापत्र