• ८ असार २०८२, आइतबार

सुत्केरी भाउजूको देवरबाटै हत्या, सुनको लोभले लियो ज्यान

blog

घटनास्थल । तस्बिर : निराजन परियार

निराजन परियार 
चौमाला (कैलाली), असार ८ गते ।
कैलालीको गौरीगंगा नगरपालिका–७  कैलाशपुरमा मृत भेटिएकी सुत्केरी महिलाको हत्या आफ्नै देवरले गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।

कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुुक्रबार बिहान मृत भेटिएकी १९ वर्षीय सुत्केरी तुलसी नाथको हत्या भएको खुलेको हो । प्रहरीले नाथको हत्या गरेको अभियोगमा सहोदर देवर नवीन नाथलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी रणबहादुर चन्दले नवीनलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार नवीनले सुनका गहनाका लागि आफूले भाउजू सुतेको बेला सिरानीले मुख च्यापेर हत्या गरेको बयान दिएका छन् ।

भाउजूको हत्यापछि कानमा लगाएका सुनका गहना निकालेर घर नजिकै ढुङ्गामुनि लुकाएर राखेको प्रहरीसमक्ष नवीनले बयान दिएका थिए । त्यसपछि नवीनको बयानका आधारमा सोही स्थानमा सुन फेला परेको प्रहरी जनाएको छ ।

नाथ शुक्रबार बिहान घर नजिकैको नालामा मृत भेटिएकी थिइन् भने उहाँको १६ दिनको नवजात शिशु भने सकुशल फेला परेको थियो ।

प्रहरीले बाहिर घाउचोट नदेखिएका कारण उहाँको मृत्युका कारण पत्ता लगाउन सकेको थिएन, तर कानमा लगाएका गहना फेला नपरेपछि उक्त कोणबाट अनुसन्धान गर्दा हत्या भएको तथ्य फेला भेटिएको थियो ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक एसपी बाल नर सिंह रानाले जटिल अवस्थामा पुगेको घटनालाई सूक्ष्म अनुसन्धान गरेर सफलता प्राप्त भएको बताउनुभयो ।

हत्या भएको बेलामा घरमा अन्य परिवारका सदस्य नभएको बताइएको छ । मृतकका सासुससुरा पहाड गएका थिए भने श्रीमान् रोजगारीका लागि भारतमा थिए ।