• ८ असार २०८२, आइतबार

च्याउ सङ्कलनलाई जङ्गल खुला

blog

जङ्गलबाट फुट्की च्याउ सङ्कलन गरेर गाउँमा आएका घुमन्ते व्यापारीलाई बिक्री गर्दै स्थानीय महिला । फाइल तस्बिर ः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, असार ८ गते । बाँके राष्ट्रिय निकुञ्जले च्याउ सङ्कलन गर्नका लागि सशुल्क निकुञ्जको जङ्गल क्षेत्र खुला गरेको छ । जङ्गलमा पाइने च्याउ सङ्कलन गर्न स्थानीयहरूका लागि सशुल्क जङ्गल क्षेत्र खुला गरिएको निकुञ्जले जनाएको छ ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूका लागि असार ९ गते सोमबारदेखि लागु हुने गरी असार १५ गतेसम्म एक हप्ताका लागि निकुञ्ज क्षेत्रबाट च्याउ सङ्कलन गरी निकासी गर्न सुविधा प्रदान गरिएको निकुञ्जका सूचना अधिकारी मन्दीप पङ्गेनीले जानकारी दिनुभयो ।

निकुञ्जको जङ्गल क्षेत्रबाट फुर्की (फुट्की) च्याउ र बगाले च्याउ सङ्कलन गर्नका लागि निकुञ्जले सूचना प्रकाशित गरेर अनुमति दिएको हो । राष्ट्रिय निकुञ्जको नियमावली २०७१ को नियम २१ को (च) बमोजिम दस्तुर लिई च्याउ सङ्कलन गर्ने अनुमति दिने व्यवस्था भएबमोजिम दस्तुर लिई सोही नियमावलीको १ को (झ) बमोजिम प्रतिकिलो एक सय रुपैयाँ राजस्वबापतको दस्तुर बुझाएर च्याउ सङ्कलन गर्न पाइने निकुञ्जले जनाएको छ ।

सूचना अधिकारी पङ्गेनीका अनुसार च्याउ सङ्कलन गर्न चाहने व्यक्तिले बाँके राष्ट्रिय निकुञ्ज कार्यालय ओभरी, पश्चिम सेक्टर कार्यालय, पूर्वी सेक्टर कार्यालय कुसुम, चिसापानी रेञ्जपोष्ट, घुइयाबारी रेञ्जपोष्ट, मलई रेञ्जपोष्ट, सिक्टा रेञ्जपोष्ट, ढकेरी रेञ्जपोष्ट, प्रगतिनगर रेञ्जपोष्ट, महादेवा पोष्ट, सुतैया पोष्ट, देउराली पोष्ट, क्युरेनी पोष्ट, ठाँटी पोष्ट, शिवखोला पोष्ट, खैरी पोष्ट, चङ्गाइनाला पोष्टबाट पुर्जी लिन सकिने बताउनुभयो । 

उहाँले च्याउ सङ्कलन तथा निकासीका लागि बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्मको समय निर्धारण गरिएको जानकारी दिनुभयो । तोकिएका फुर्की (फुट्की) र बगाले च्याउबाहेक अन्य कुनै किसिमका वन पैदावार सङ्कलन तथा निकासी गर्न नपाइने उहाँले बताउनुभयो । 

निकुञ्जमा प्रवेश आफ्नै दायित्वमा हुने निकुञ्जले प्रष्ट पारेको छ । कुनै किसिमको हानी नोक्सानी, चोटपटक वा मृत्यु भएमा सो को क्षतिपूर्तिका लागि सरकार जबाफदेही नहुने र वन जङ्गल क्षेत्रमा रहँदा कुनै पनि वन्यजन्तुलाई कुनै किसिमको हानी नोक्सानी पुग्ने कार्य नगर्न तथा कुनै पनि किसिमका आखेटोपहार सङ्कलन तथा निकासी गर्न नपाइने सूचनामा उल्लेख गरिएको छ ।

निकुञ्जले च्याउ सङ्कलन गर्नका लागि तोकिएका नाका तथा घाट मात्र प्रयोग गर्न अनुरोध गरेको छ । निकुञ्जका अनुसार चिसापानी च्यामा, गाभर होमस्टे उत्तरको बाटोको नाका, रारामधु वनको नाका, देउराली जन आश्रित सामुदायिक वन हुँदै सुतैया जाने नाका एक, नवप्रतिभा सामुदायिक वनको नाका, रारा डाँफे तथा मयुर सामुदायिक वनको नाका, जनएकता सामुदायिक वनको नाका, खड्गवारस्थित रानीघाट नाका, खड्गवार पोष्ट अगाडिको नाका, भरैयास्थित बुलबुले सामुदायिक वन क्षेत्र प्रवेश गर्ने नाका, मुगुवा खोला तथा खैरी अम्बासा, सिकारी वास लगायतका स्थानलाई प्रचलित नाका तथा घाटको मान्यता दिइएको छ ।

बर्खा यामको समयमा पानी पर्न सुरु भएपछि निकुञ्ज नजिकका स्थानीय बासिन्दाहरूले जङ्गलमा गएर च्याउ सङ्कलन गरेर राजमार्ग छेउमा बसेर यात्रुहरूलाई च्याउ बिक्री गर्ने गरेका छन् । साथै उनीहरूले कोहलपुर तथा नेपालगन्जबाट च्याउ सङ्कलन गर्न पुग्ने घुमन्ते व्यापारीहरूलाई समेत च्याउ बिक्री गर्दै आएका छन् । मौसमी च्याउ बिक्री गरेर स्थानीयले हरेक वर्ष राम्रो आम्दानी गर्दै आएका छन् ।