फडिन्द्र अधिकारी
लेखनाथ, असार ८ गते। देशकै ठुलो महानगर पोखराले आइतबार आठ अर्ब ३५ करोड १२ को बजेट ल्याएको छ। आइतबार सुरु भएको १७ औँ नगरसभामा आर्थिक वर्ष २०८२÷०८३ का लागि महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट पेस गर्नुभएको हो।
बजेटमा सङ्घीय सर्शत अनुदान तीन अर्ब १३ करोड, सङ्घीय राजस्व बाँडफाट ३३ करोड आठ लाख, सङ्घीय समानीकरण अनुदान ५२ करोड ८७ लाख, प्रदेश समानीकरण अनुदान आठ करोड १५ लाख प्राप्त हुने अनुमान छ। आगामी वर्ष आन्तरिक आय पाँच अर्ब २२ करोड, स्थानीय राजस्व बाँडफाट एक अर्ब एक करोड, प्रदेश राजस्व बाँडफाट चार करोड २८ लाख हुने यसमा उल्लेख छ।
आइतबारै नगर प्रमुख धनराज आचार्यले नगरसभामा नीति तथा कार्यक्रम पेस गर्नुभएको थियो। महानगरले पोखरा १५ मा रहेको हरियोखर्क अस्पतालमा जलनको उपचार थाल्ने भएको छ। नगर प्रमुख आचार्यले भन्नुभयो, “पोखरा १५ को हरियोखर्क अस्पतालमा छुट्टै डेडिकेटेड वर्न युनिट सञ्चालन गरिने छ।” महानगरले कार्मचारीलाई एक हप्ते पर्यटन काज दिने नीति लिने भएको छ।
महानगरले यहाँको कला, संस्कृति, साहित्यको प्रवर्धन गर्न बृहत् साहित्य महोत्सव आयोजना गर्ने भएको छ। महानगरभित्र रहेका तालहरूको योजनावद्ध विकास, प्रवद्र्धन, संरक्षण र विकासका लागि अधिकार प्राप्त ताल विकास प्राधिकरण बनाइने भएको छ। तालहरू सफा गर्ने, संरक्षण र प्रवर्धन गर्दै आयआर्जनसँग जोड्ने महानगरको योजना छ।
महागनरको नीति तथा कार्यक्रममा पोखराको विकास र युवा उद्यमशीलतालाई प्रवर्धन र सहजीकरणका लागि पोखरा आइडिया बैँक स्थापना गर्ने उल्लेख छ। महानगरले तेस्रो त्रैमासिकभन्दा पछि योजनाहरूको सम्झौता नगर्ने नीति लिने भएको छ। पोखराले योजना छनोटलाई प्रभावकारी बनाउन आयोजना बैँक सञ्चालन गर्ने भएको छ।
अनौपचारिक क्षेत्रमा क्रियाशील मजदूरको हितका लागि सामाजिक सुरक्षा कोषमा जोड्ने कार्यक्रमअघि सारिने भएको छ। साविक पोखरा महानगर र पछि थपिएका क्षेत्रहरूलाई जोड्ने गरी पोखरा चक्रपथ निर्माण गर्ने योजना लिएको महानगरले त्यसका लागि सङ्घ सरकारसँग सहकार्य गर्ने भएको छ।
सुशासन प्रवर्धनका लागि महानगरले गुनासो सुनुवाई गर्न छुट्टै युनिट बनाउने भएको छ।
हेलो मेयर कार्यक्रम सञ्चालन गरी जनताका सुझाव र गुनासा सङ्कलन गरिरहेको महानगरले गुनासाहरूको सम्बोधन गर्न ‘र्यापिड रेस्पोन्स टिम’ बनाएर काम गर्ने भएको हो। रामघाटमा सहरी विकास मन्त्रालयले निर्माण गरेको विद्युतीय शवदाह गृहको स्वामित्व ग्रहण गरी व्यवस्थित रूपमा चलाइने भएको छ।
कार्यक्रममा पोखरा २ का वडाध्यक्ष दिवसमान प्रधानाङ्ग, पोखरा १७ की अध्यक्ष राधिकाकुमारी शाही योगी लगायतले बोल्नुभएको थियो। चालु आर्थिक वर्षमा महानगरले सात अर्ब ५१ करोड ३२ लाखको बजेट कार्यान्वयन गरिरहेको छ।