इमान सिं राना
रामपुर (पाल्पा), असार ८ गते । पाल्पाको रामपुर नगरपालिकाले तीन वा सो भन्दा बढी सन्तान जन्माउने परिवारलाई प्रोत्साहन गर्ने योजना अघि सारेको छ । आर्थिक वर्ष २०८२-०८३ देखि तीन वा तीन भन्दा बढी सन्तान जन्माएमा तेस्रो सन्तान र तेस्रो सन्तान पछिका हरेक सन्तानलाई पाँच वर्ष सम्म मासिक पाँच सय प्रदान गर्ने नीति लिएको हो ।
वर्तमान समयमा जनसङ्ख्या वृद्धिदर कम हुँदै गइरहेको, शिक्षित तथा युवा शक्ति पलायन भइरहेको अवस्थामा नगरको दीर्घकालीन श्रम शक्ति, आर्थिक स्थायित्व र सामाजिक सन्तुलनको जोखिम देखिएकाले जनसङ्ख्या वृद्धिलाई व्यवस्थित रूपमा प्रोत्साहन गर्ने व्यवस्था लागु गर्न लागिएको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले जानकारी दिनुभयो ।
नगर सभाको १७ औँ अधिवेशनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै थापाले भन्नुभयो, “नगरपालिकामा स्थायी बसोबास गर्ने नगरवासी बाट आगामी आ.व. बाट तीन वा सो भन्दा बढी सन्तान जन्माउने परिवारका तेस्रो सन्तान वा तेस्रो सन्तान पछिका हरेक सन्तानको नाममा मासिक रूपमा पाँच सय का दरले बाल बचत खाता स्थापना गरी पाँच वर्ष उमेर नपुगुन्जेल सम्म नगरपालिका बाट नियमित रूपमा जम्मा गरिने व्यवस्था लागू गरिनेछ ।” उहाँले आवश्यक कार्यविधि तयार गरी प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
रामपुर नगरपालिकाले यस अघि २०७६ श्रावण पछि जन्म भएका छोरीहरूलाई नगर भित्रको सामुदायिक विद्यालय तथा क्याम्पसमा स्नातक तह सम्म निःशुल्क शिक्षा उपलब्ध गराउने योजनालाई पनि निरन्तरता दिएको छ । आइतबार भएको नगर सभामा उपप्रमुख बालकुमारी थापाले ८२ करोड १८ लाख ६६ हजार ६२१ रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्नु भएको छ ।
नगरपालिकाले सङ्घीय समानिकरण अनुदान १२ करोड २२ लाख, सङ्घीय राजस्व बाँडफाँड बाट १० करोड ६३ लाख ९८ हजार ६२१, सङ्घीय समपूरक पुँजीगत बाट ९१ लख, सङ्घीय विशेष अनुदान ७५ लाख, सङ्घीय सशर्त चालु तर्फ ३५ करोड११ लाख, सङ्घीय सशर्त चालु तर्फ २ करोड ८ लाख, प्रदेश समानिकरण अनुदान ८३ लाख २३ हजार, प्रदेश राजस्व बाँडफाँड बाट १ करोड २९ लाख ३७ हजार, प्रदेश समपूरक १ करोड २० लाख, प्रदेश सशर्त चालु तर्फ १५ लाख ८ हजार र पुँजीगत तर्फ ३ करोड र आन्तरिक स्रोत अल्या सहित १४ करोडको जुटाउने अनुमान गरेको छ ।
जस मध्ये खर्च तर्फ चालु बजेट ६० करोड ५० लाख ५८ हजार २०६ र पुँजीगत खर्च २१ करोड ६८ लाख ८ हजार ४१५ विनियोजन गरेको छ । नगरपालिकाले १० वटै वडालाई समान रूपमा ६०-६० लाख विनियोजन गरेको जानकारी दिनुभयो । उपप्रमुख थापाले कृषि, उद्योग, पर्यटन क्षेत्रको विकास, गुणस्तरीय पूर्वाधार निर्माण, सामाजिक विकास, रोजगारीलाई प्राथमिकतामा राखेर बजेट विनियोजन भएको बताउनुभयो । नगर सभाले नीति तथा कार्यक्रम, विनियोजन विधेयक, आर्थिक विधेयक छलफल पश्चात् पारित गरेको छ ।