फडिन्द्र अधिकारी
लेखनाथ, असार ८ गते । सात ताल सुन्दर नगरी पोखराका विशेष पहिचान हुन् । प्राय सबैका चुनावी नारा बन्ने यी तालमध्ये फेवा, वेगनास र रूपाको जति चर्चा छ, त्यतिकै गुमनाम छन् अन्य ४ वटा ताल। पछिल्लो समयमा रूपातालको भने संरक्षण अभियानका कारण प्रचारप्रसार हुन थालेको छ ।
पोखरा महानगरपालिका वडा नम्बर २६ मा मात्रै खास्टे, न्युरेनी र गुँदे गरी तीन वटा ताल छन् । यसअघि सहकारीमार्फत् व्यावसायिक रूपमा माछापालन हुँदै आएकोमा अहिले वडा र सहकारीबिचको द्वन्द्वका कारण तीनवटै ताल अस्तव्यस्त छन् । केही समयदेखि पोखरा महानगरपालिका वडा नम्बर २६ को कार्यालयले मत्स्यपालन सहकारीहरूलाई तालमा माछापालन गर्न रोक लगाएको थियो ।
वडा कार्यालयले वैकल्पिक व्यवस्था वा महानगरले नै व्यवस्थापन गर्ने संयन्त्र तयार नगरी सहकारीलाई ताल संरक्षण गर्न रोक्दा अनेक खालका अप्ठेरा आइपरेको सरोकारवालाहरू बताउँछन् । पछिल्लो समय दिनमा सयौं मानिस तालमा माछा मार्न आउने, होहल्ला गर्ने, धानबारीमा दौडिने गरेको खास्टेताल छेउका स्थानीय नवराज बरालले बताउनुभयो ।
बरालले सहकारी र वडा कार्यालयबिच कुरा नमिल्दा सुन्दर खास्टे ताल अस्तव्यस्त बनेको र अनियन्त्रित रूपमा बाहिरका मानिसहरू आई होहल्ला गर्ने, माछा मार्ने जस्ता क्रियाकलाप गर्न थालेको बराल भन्नुहुन्छ, “खास्टे ताल पहिला सहकारीले चलाएको थियो, अब वडाले नै चलाउने भए पनि चलाओस् यसमा हामी स्थानीयको गुनासो छैन तर तर ताल अव्यस्थित बनाउने, माछा चोरी गर्ने केन्द्र भने हुनुभएन ।”
अहिले जथाभाबी रूपमा ताल दोहन हुँदा तालका जलचर र वनस्पती जोखिममा मात्र परेका होइनन् स्थानीयको जनजीवनमै प्रत्यक्ष असर परेको उहाँ बताउनुहुन्छ । प्रकृतिले दिएको सुन्दर उपहारलाई सम्बन्धित सबैले जोगाउनुपर्छ भन्ने उहाँको भनाइ थियो ।
यहाँका खास्टे, न्युरेनी र गुँदे ताल पर्यटकीय स्थलसमेत हुन् । २०७३ माघमा स्थानीयले खास्टे ताल मत्स्य तथा कृषि सहकारी स्थापना गरी ताल व्यवस्थापन र माछापालन थालेका थिए । त्यसबाट एकातिर ताललाई जोगाउने काम भएको थियो भने अर्कातिर व्यववसायिक रूपमा माछापालन पनि फस्टाएको थियो । सहकारीका पूर्वअध्यक्ष हरि अधिकारी २०६८ सम्म बेवारिसे तालहरूलाई स्थानीयले व्यवस्थित गरी सरकारीमार्फत् आयआर्जन गर्दै आएकोमा अहिले समस्या आएको बताउनुहुन्छ ।
“अहिले वडा कार्यालयले सिफारिस पनि दिएन । माछा पालन गर्ने र मार्नेहरूलाई पनि रोक्यो” उहाँले भन्नुभयो, “फेरि वडाले पनि व्यवस्थित नगरी छाडिदियो । हामीले डेढ दशक गरेको प्रयास र परिश्रम खेर गयो ।”
सहकारीले माछापालनको जिम्मा दिएका झलक जलारी आफ्नो करिब डेढ करोड लगानी डुबेको बताउनुहुन्छ । उहाँले खास्टे र न्युरेनी तालमा माछापालन गर्ने गरी १० वर्षका लागि मासिक ८० हजार दिने गरी सहकारीसँग सम्झौता गर्नुभएको थियो । जलारीले नै गुँदेताल मत्स्य सहकारीसँग मासिक ४५ हजार दिनेगरी जिम्मा लिनुभएको थियो । गुँदेमा ६० लाख जति लगानी गरेको उहाँको दाबी छ । “पाँच महिना जति भो काम गर्न नपाएको,” जलारीले भन्नुभयो, “मैले हालेका माछा दिनमै सयौं बाहिरका मानिस गएर मारेको देख्छु । न वडाले राम्रोसँग चलायो । न मेरो लगानीबाट आम्दानी गर्न दियो ।”
खास्टे ताल मत्स्य तथा कृषि सहकारीमा साढे सात सय सेयर सदस्य छन् । दुई सय ६९ हेक्टरमा फैलिएको यो तालमा पानीको क्षेत्रफल करिब दुई सय हेक्टर छ । यहाँ अनेक प्रजातिका रैथानेसहित हिउँदामा पाहुना चराहरू पनि आउँछन् । न्युरेनी ताल १८ हेक्टरमा रहेकोमा १० हेक्टर जति पानीले ढाकिएको छ । गुन्द्री बुन्न प्रयोग हुने गुँद पाइने भएकाले वडाको अर्काे तालको नाम गुँदे राखिएको छ । यो ताल ६१ हेक्टरमा छ ।
पोखरा महानगरपालिका-२६ का अध्यक्ष नरेन्द्र थापा प्राकृतिक सम्पदाहरू सरकारको अधिनमा रहनुपर्ने भएकाले तालहरूलाई व्यस्थित गर्न खोजिएको बताउनुहुन्छ । “सहकारीले ठगिरहेको थियो, त्यसो हुनुहुँदैन,” उहाँ भन्नुहुन्छ, “अब महानगरले यसको सञ्चालन गर्छ, आम्दानी गर्छ । व्यवस्थित रूपमा चलाउन महानगरले समिति बनाउँदै छ। हामी हाम्रो सम्पदालाई बिग्रन दिँदैनौँ ।”
विगत केही दिनदेखि गाडी नै लिएर हुलका हुल मानिस खास्टे तालमा आई स्वीकृतिबिनै माछा मार्ने र होहल्ला गर्ने गरेका कारण ताल छेउका स्थानीयहरूले तालको संरक्षणका लागि आवाज उठाएका छन् । स्थानीय खेमराज बराल पोखराका यी प्राकृतिक स्रोतमाथि राजनीति गर्न नहुने बताउनुहुन्छ । सबैले तालको संरक्षण र सही सदुपयोग गरे यसबाट पोखराको पर्यटन विकासमा टेवा पुग्ने उहाँको भनाइ छ ।