चन्द्र पन्दाक
ताप्लेजुङ, असार ८ गते। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा कार्यरत शिक्षकले अबदेखि मासिक रूपमै तलब भत्ता पाउने भएका छन्। आगामी नयाँ आर्थिक वर्षदेखि गाउँपालिकाभित्र कार्यरत शिक्षकले मासिक रूपमा तलबभत्ता बुझ्न पाउने भएका हुन्।
गाउँपालिकाको १७ औँ सभा तथा अधिवेशनले शिक्षकलाई मासिक रूपमै तलबभत्ता पाउने व्यवस्था मिलाउने गरी नीति अवलम्बन गरेको छ। गाउँपालिकाको नीतिगत व्यवस्थासँगै पालिकाभित्र कार्यरत शिक्षकले मासिक रूपमा तलब पाउने भएका हुन्। गाउँपालिकाले सम्बन्धित शिक्षकको बैँक खातामा तलब रकम निकासा गर्ने भएको हो। हाल सिदिङ्वाका विद्यालयमा कार्यरत शिक्षकले त्रैमासिक रूपमा तलब पाइरहेका छन्।
यता नयाँ आर्थिक वर्षसँगै निजामति कर्मचारी सरह मासिक रूपमा तलब बुझ्न पाउने भएपछि सिदिङ्वामा कार्यरत शिक्षक हर्षित भएका छन्। मासिक रूपमा तलब पाउने भएपछि घर खर्च र अन्य व्यवहार चलाउनेमा थप सहज हुने शिक्षकको बुझाइ रहेको छ। मासिक रूपमा तलब खुवाउने साथै शिक्षकको अध्ययन अवलोकन भ्रमण गराउने, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आवश्यक तालिम प्रदान गर्नेसमेत गाउँपालिकाले नीति अवलम्बन गरेको छ।
यस्तै विद्यालयको लेखापरीक्षण शुल्क, पानी, बिजुली र इन्टरनेटको शुल्क गाउँपालिकाले नै बेहोर्ने भएको छ। पालिकाभित्रका विद्यालयमा ल्यापटप, डेस्कटप कम्प्युटर, प्रिन्टर र इन्टरनेटको व्यवस्था पनि गाउँपालिकाले गर्ने भएको छ। विद्यार्थीलाई दिवा खाजा खुवाउने व्यवस्थाका लागि सशर्त अनुदान बापतको रकममा थप गर्ने भएको छ।
गाउँपालिकाको शिक्षा नीति अन्तर्गत नै विद्यार्थी कल्याणकारी कोषलाई प्रभावकारी बनाउने र भाषा संरक्षणसम्बन्धी विगतको कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। त्यस्तै ‘सिदिङ्वाका बाबु–नानी, बनाउँछौं ज्ञानी’ कार्यक्रममार्फत छात्रवृत्ति प्रोत्साहनका माध्यममार्फत गुणस्तरीय शिक्षाको प्रत्याभूति दिलाउने गाउँपालिकाले नीति अघि सारेको छ।
यसैगरी उच्च शिक्षा अध्ययन गरिरहेका दलित समुदायका विद्यार्थीलाई छात्रवृत्तिमार्फत गाउँपालिकाले सहयोग गर्ने भएको छ। अङ्ग्रेजी र गणित विषयका शिक्षकलाई कार्यसम्पादनका आधारमा अतिरिक्त सेवा सुविधा उपलब्ध गराउने पनि गाउँपालिकाले नीति अवलम्बन गरेको छ। शैक्षिक सुधार र गुणस्तरीय शिक्षाका लागि केही नीतिगत व्यवस्था गरी पहल गर्न लागिएको गाउँपालिका अध्यक्ष मानबहादुर राईको भनाइ छ।