• ८ असार २०८२, आइतबार

सुरक्षित सन्तान जन्माउन हिँडेकी रेनुका श्रीमान् र सासूसहित बाटोमै अस्ताइन्

blog

दुर्घटनामा ज्यान गुमाएकी गर्भवती रेनुका कँडेल र श्रीमान् सरोज पहाडी। तस्बिरः पारिवारिक स्रोत

स्मिता अर्जेल

मकवानपुरगढी, असार ८ गते। शनिबार बिहान चितवनको राप्ती नगरपालिका ३ स्थित पूर्वपश्चिम राजमार्गमा धनगढीबाट काँकडभिट्टा जाँदै गरेको प्रदेश १– ०१– ००१ ख. ३५८३ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको बागमती प्रदेश ०३–००१ ज. २९९ नम्बरको इभी (विद्युतीय गाडी) ठोक्किँदा गम्भीर दुर्घटना भयो। 

दुर्घटनामा पर्नुको मुख्य कारण तीव्र गतिमा रहेको र त्यसैमाथि इभी गाडीले ओभरटेक लिन खोज्नु रहेको चितवन ट्राफिक प्रहरीको निष्कर्ष छ।

दुर्घटनामा इभी गाडीमा सवार सात यात्रुको मृत्यु भयो। चितवनका डिएसपी रविन्द्र खनालका अनुसार सातमध्ये तीन जना एकै परिवारका सदस्य हुन्।  

दुर्घटनामा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ की ५३ वर्षीया मैयाकुमारी न्यौपाने पहाडी, उहाँका ३५ वर्षीय छोरा सरोज पहाडी र गर्भवती बुहारी २७ वर्षीया रेनुका कँडेलको घटनास्थलमै मृत्यु भयो। 

रेनुका र श्रीमान् सरोज दोस्रो सन्तानको आगमनको खुसी बटुल्दै झोलामा चाहिने सामान बोकेर चितवनको भरतपुर अस्पतालतर्फ निस्किनुभएको थियो। फेरि हजुरबुवा, हजुरआमा बन्न लागेको खुसीयाली मनाउन उस्तै आतुर हुनुहुन्थ्यो। आफ्नो साथी घरमा भित्रिने पखाइमा हुनुहुन्थ्यो रेनुकाकी ४ वर्षीया छोरी। 

पारिवारिक स्रोतका अनुसार चितवनको भरतपुर अस्पतालमा सुत्केरी गराउन हिँड्नुभएकी रेनुकालाई डाक्टरले आइतबारको समय तोकेका थिए। सोही तयारीका साथ श्रीमान् र सासू साथमा लिएर उहाँ भरतपुरको यात्रामा निस्किनुभएको थियो। 

दुर्घटनामा मकवानपुरका ४४ वर्षीय सोमप्रसाद रुपाखेती, रौतहटको चन्द्रनिगाहपुर–६ की ३१ वर्षीया सीता कुमारी, माइक्रो चालक हेटौँडा– १० का राजु थिङको मृत्यु भएको छ।