• ८ असार २०८२, आइतबार

तुलसीपुरको नीति : ‘जहाँ छहारी, त्यहाँ चौतारी’

blog

आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख टीकाराम खड्का ।

गोकर्ण पौडेल 

तुलसीपुर, असार ८ गते । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२-८२ को नीति तथा कार्यक्रममा स्वच्छ पर्यावरणलाई प्राथमिकता दिँदै ‘जहाँ छहारी, त्यहाँ चौतारी ’ समावेश गरेको छ । 

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सार्वजनिक स्थलमा रहेका वर, पीपल, समी लगायतका रुखहरूको संरक्षण र पर्यावरण जोगाउनका लागि समावेश गरिएको बताउनुभयो । साथै कार्यक्रममा पालिकाभित्र रहेका सार्वजनिक स्थलमा एक हजार वर पीपलका बिरुवासमेत रोपण गर्ने समावेश गरिएको छ । 

नगर प्रमुख टीकाराम खड्काले सुखमा पनि साथ दिने दुःखमा पनि साथ दिने स्थानीय सरकार भएकाले ‘पर्दा सरकार,मर्दा सरकार’ कार्यक्रम समावेश गरिएको बताउनुभयो । उहाँले कृषि क्षेत्रको प्रवर्धनका लागि १९ वटै वडामा कृषि सञ्जाल, कृषि समूह, रैैथाने बाली संरक्षण, अग्र्यानिक नगर, एक वडा एक कृषि उत्पादन केन्द्र, हाट बजार सञ्चालन र बगर खेतीलाई प्रोत्साहन गरिने बताउनुभयो । 

नगर प्रमुख खड्काले एक वडा एक पर्यटन केन्द्र,घुम्न जाउ तुलसीपुर कार्यक्रमलाई निरन्तरता दिँदै नगरभित्रको गौरव र पहिचानका रूपमा रहेको नेपाल संस्कृत विश्वविद्यालयसँगको सहकार्यमा संस्कृत वाङ्मय,पूर्वीय दर्शन,आयुर्वेद,योगजस्ता विषयको प्रवर्धन गरिने बताउनुभयो । 

नीति तथा कार्यक्रममा शिक्षातर्फ विद्यार्थीलाई टिकाउने, भित्र्याउने र सिकाउने कार्यक्रम समावेश गरिएको छ भने पालिकाले सञ्चालनमा ल्याएको मेट्रो कलेजलाई तुुलसीपुर सिकाई केन्द्रका रूपमा विकास गरिने भएको छ ।