• ८ असार २०८२, आइतबार

सवारी दुर्घटनामा दुईको मृत्यु

blog

देवरामप्रसाद यादव

सप्तरी, असार ८ गते । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कोशी बाँधमा दुई मोटरसाइकल एक आपसमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । 

जिल्लाको शम्भुनाथ नगरपालिका ११ राजपुरका १९ वर्षीय आशाराम मण्डल र कञ्चनरुप नगरपालिका १ बैरवाका ३४ वर्षीय ओमप्रकाश पंजियारको मृत्यु भएको हो । 

कङ्कालनी मन्दिरदेखि भलुवातर्फ जाँदै गरेको स १० प ५६२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा ५५ प ६६३९ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिँदा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय कन्चनपुरका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटना गम्भीर घाइते बा ५५ प ६६३९ नम्बरको मोटरसाइकल चालक मण्डलको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हाे । यस्तै, उहाँले स १० प ५६२ नम्बरको मोटरसाइकल चालक पंजियारको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताउनुभयो । 

यसैगरी, मोटरसाइकलको पछाडि सवार सप्तरीको कञ्चनरुप १ बैरवाका ३० वर्षीय सुभाष महतो घाइते भएका छन् । महतोको खुट्टा र शरीरको विभिन्न भागमा चोटपटक लागेकाले विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारपछि घर फर्केको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिनुभयो । 

मृतक दुवै जनाको शव परिक्षण गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा गरी परिवारको जिम्मा लगाएको र दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय भारदहको नियन्त्रणमा राखी घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताउनुभयो ।