गोरखापत्र अनलाइन
काठमाडौँ, असार ८ गते । नेकपा (एमाले) का सांसद रघुवीर महासेठले हवाई टिकटको मूल्य महँगो भएको भन्दै मूल्य घटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहल गर्नुपर्ने बताउनुभएको छ ।
आइतबारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले नेपालीहरूले दिल्ली जानलाई ६० हजारदेखि ८० हजार रुपियाँ इकोनोमिक क्लासका लागि तिर्नुपर्ने बाध्यता दुःखद् भएको बताउनुभयो । उहाँले यसलाई कसरी नियन्त्रण गर्ने भन्नेमा गम्भीर हुनुपर्ने बताउनुभयो । यस्ता कुराहरूको ब्रेक उड्डयनमन्त्रालयले गर्नुपर्ने उहाँको भनाइ छ । नेपाल—भारत हवाई यात्रा बढाउनुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘हाम्रो एयरलाइन्सबाट धेरै कम हामी इन्डिया रुटमा प्रवेश गर्छौं । एउटा सामान्य नेपालीले दिल्ली जानलाई ६० हजार रुपियाँ, ८० हजार रुपियाँ एक इकोनोमिक क्लासमा तिर्नु भनेको त यो दुःखद् कुरा हो । यसलाई कसरी हामी नियन्त्रण गर्दछौँ ? अर्को कुरा ४० हजारमा एक साइडको टिकट लिनुस्’ ३० हजारमा एक साइडको टिकट लिनुपर्छ । अब कुन सिट रोज्ने ? अगाडिको सिटलाई पाँच हजार रुपियाँ छुट्टै तिर्नुपर्छ । यस्तो अरू देशमा त देख्दैनौँ । त्यो चिज ब्रेक गर्ने काम हाम्रो मन्त्रालयले गर्नुपर्छ । हाम्रो एयरलाइन्स कम होलान्, तर मात्रा बढाऔँ ।’ समितिको बैठकमा आइतबार नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि समितिमा सैद्धान्तिक छलफल भएको छ ।