• ८ असार २०८२, आइतबार

सल्यानमा ३० प्रतिशत रोपाइँ सम्पन्न

blog

सल्यानको गरिज्युला क्षेत्रमा गरिएको धान रोपाइँ । तस्बिरः शङ्कर केसी

शङ्कर केसी,

सल्यान, असार ८ गते । सल्यानमा असारको पहिलो सातासम्म कुल धान खेती हुने क्षेत्रफलमध्ये करिब ३०.१२ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ  । 

कृषि विकास कार्यालय सल्यानका अनुसार धान खेती हुने जिल्लाका नौ पालिकामा रोपाइँ चलिरहेको छ । जिल्लामा कुल ६ हजार १५८ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान रहेको छ । जसमध्ये असार पहिलो सातासम्म एक हजार ८ सय ५४ दशमलव ८७ हेक्टरमा धान रोपाइँ सकिएको कृषि विकास कार्यालय सल्यानका प्रमुखले महेश आचार्यले जानकारी दिनुभयो ।

समयमै पानी परेको कारण तथा सिँचाइ सुविधा भएका क्षेत्रहरूमा खनजोत लगायतको तयारी र किसानहरुको सक्रियताका कारण असार पहिलो सातामा नै ३० प्रतिशत बढी धान रोपाइँ सकिएको उहाँको भनाइ छ । 

विशेषगरी शारदा नदी आसपास क्षेत्रमा पानी पर्याप्त भएकाले छिटो रोपाइँ भएको हो । कार्यालयका अनुसार दार्मा गाउँपालिकामा ७० प्रतिशत, बागचौर नगरपालिकामा ५० प्रतिशत, छत्रेश्वरी गाउँपालिकामा ३५ प्रतिशत, शारदा नगरपालिकामा ३० प्रतिशत र कुमाख गाउँपालिकामा २५ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ । 

यस्तै, कालिमाटी, कुपिण्डे र सिद्धकुमाखमा २० प्रतिशत तथा त्रिवेणीमा १५ प्रतिशत धान रोपाइँ सकिएको कृषि विकास कार्यालयले जनाएको छ । पाखो क्षेत्र तथा वर्षाको भर पर्नुपर्ने क्षेत्रहरूमा भने अझै पनि रोपाइँ कार्य सुस्त गतिमा भइरहेको छ । किसानहरुले यस वर्ष हाइब्रिड धानका जातहरुसँगै राम धान, खुमल, हार्दिनाथ, सुख्खा धान लगायतका धान लगाएका छन् । 

जिल्लाका केही पालिकामा चैते धान खेती पनि हुनेगरेको छ । कालिमाटी र कुमाख गाउँपालिकामा किसानले चैते धान खेती गरेको र कतिपयले चैते धान भित्र्याइसकेको तथा कतिपय किसान भित्र्याउने तयारीमा जुटेका छन् । यहाँका किसानले सीएच ४५ जातको चैते धान लगाउने गरेका छन् । 

धान खेती सल्यानको खाद्य सुरक्षामा महत्वपूर्ण योगदान गर्ने मुख्य अन्नबाली हो । समयमा रोपाई सकिएमा र मौसम अनुकूल भएको उत्पादन राम्रो हुने अपेक्षा गरिएको छ । पछिल्लो समय कृषि यान्त्रीकरणमार्फत केही कृषक समूहले मेशिनको प्रयोग गरी रोपाइँलाई सहज र छरितो बनाएका छन् । 

चालु आर्थिक वर्ष २०८१–८२ मा ६ हजार हेक्टर क्षेत्रफलमा २८ हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो । आर्थिक वर्ष २०८०–८१ मा छ हजार २९ हेक्टर क्षेत्रफलमा २८ हजार ५५९ मेट्रिक टन धान उत्पादन भएको थियो । कार्यालयका अनुसार आर्थिक वर्ष २०७९–८० मा जिल्लामा सात हजार ६६ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । सहरीकरणको प्रभाव, जनशक्ति अभाव लगायतका कारण धान खेती हुने क्षेत्र घटेको छ ।